 |
| ध्रुव मधिकर्मी |
माता, पिता ःइन्द्रमाया मधिकर्मी, आदिदास मधिकर्मी
जन्ममिति ः वि.स. २०१५ कार्तिक १७
जन्मस्थान ः भक्तपुर नगरपालिका–४, बोताँछे टोल
पहिलो लघुकथा ः लघु (२०३५) कृतिबाट प्रारम्भ
लघुकथा कृति ः
लघु (२०३५, आशासँग संयुुक्त)
बुद्ध कहीँ छैन (२०५१)
आजका लघुकथा (२०७४, संयुक्त)
सम्मान, पुरस्कार ः मनुमुक्त मानव लघुकथा गौरव सम्मान (सन् २०१९) हरियाणा, भारत
प्रवृत्तिहरू ः
— अस्तित्ववादी चेतनाको प्रस्तुति ।
— निम्नवर्गीय पात्रको चरित्रचित्रण एवम् स्थानिय परिवेशको वर्णन ।
— विसङ्गत जीवनको प्रस्तुति एवम् सोही अनुसारका घटना, अनुभव, अनुभूति, भावसंवेग एवम् सम्वेदनाको आख्यानीकरण ।
— जीवनको अभिशप्तताका साथै मृत्युमुखी चेतनालाई स्वरको अभिव्यक्ति ।
— मिथकको प्रयोग ।
—हत्या हिंसा विरोधी चेतना ।
विशेष पक्ष ः
—साहित्यिक पत्रकार, रेडियोकर्मी, साहित्यिक संगठक ।
— नेपाली एवम् नेपाल दुवै भाषामा कलम चलाउनाका साथै अनुवाद कार्यमा संलग्न ।
—अनुसन्धानकर्ता ।
नखोजिएको प्रमाण
उसलाई अदालतमा उभ्याइयो । ऊ उभियो पनि ।
–तिमीले किन मान्छे मा¥यौ ?
–मैले मान्छे मारेको छैन ।
–तब तिम्रो हातबाट मर्ने के त ?
–अमान्छे, त्यो सँग मान्छेको जस्तो आँखा छैन । त्योसँग मान्छेको जस्तो मुुटु छैन । त्योसँग मान्छेमा हुनुपर्ने कुनै पनि गुण छैन । त्योसँग त केवल एउटा आकार छ । एउटा खोल छ । मान्छे जस्तो....
–प्रमाण ?
–प्रमाण खोज्ने काम मेरो होइन, तपाईँहरूको हो । मेरो काम त बयान दिनु हो ।
अलिकति निस्तब्धताले छोप्यो । लगतै भाँचियो पनि ।
–मान्छेको जस्तो आँखा नहुनाले हामीलाई ऊ बेग्लै ढाँचाले हेथ्र्यो । मान्छेको जस्तो मुटु नहुनाले हामीलाई उसले पटक्कै सहेन ।
घर भत्काइदियो, जिन्दगी बिगारिदियो । के मात्र गरेन....खै कसले खोज्यो ती कुराहरूको प्रमाण ?
–........................
–त्यसैले मान्छे मारेको कुरा म स्वीकार गर्दिनँ ।
–श्रीमान्, अपराधीले कहिले पनि अपराध कबुल गर्दैन ।
–सब प्रमाणहरू पेश गरिएका छन् । त्यसैले अपराधीले कडाभन्दा कडा सजाय पाउनुपर्छ । अपराधीको आत्मभावनासँग यो केसको कुनै सबन्ध छैन....
–ठीक छ, अपराधीले कडाभन्दा कडा सजाय पाउनुपर्छ । म सजाय भोग्न तयार छु । तर मलाई पनि केही विश्वास दिनुपर्छ भने कानुनले पनि सजाय पाउनुपर्छ ।
–किन ?
–मेरो सजायको बदलामा....
पूर्ण निस्तब्धताले छोप्यो । कुनै आवाज आएन । न्यायाधिशले कुर्सी जोडले च्याप्यो । शायद न्यायको कुर्सी हल्लिएछ !
कुनै पनि कारण
साँझपखको बेला एउटा ठुलो मान्छे चौरमा पल्टेर बसिरहेको थियो । ऊ सम्भवतः भोकले छट्पटाइरहेको थियो । त्यसै बखतमा उसले देख्यो–एउटा सानो मान्छे अनुहारभरिको पसिना पुछ्दै त्यही चौरमा टुक्रुक्क बस्न आइपुग्यो र सुस्ताउन थाल्यो । त्यो शायद दिनभरिको मेहनतले थाकेर आएको हुनुपर्छ ।
केही बेरपछि त्यो सानो मान्छेले पटुका फुकाएर त्यसबाट खानेकुरा झिक्दै मुट्ठीबाट फाँको गरी खान थाल्यो । सानो मान्छेको अनुहारमा यसबखत एउटा परम तृप्ति र निश्चिन्तता थियो ।
त्यो देखेर त्यो ठुलो मान्छे अनाहकमा रिसले र डाहले मुर्मिरियो । हुन सक्छ, उसले आफू भित्रको भोक सम्झेको होस् ।
–ए ! सुन तैँ होइन मेरो घाम र हावा सित्तैमा हडप्ने ?
–हैन हजुर, मेरो घर त एक तलाको सानो छ । हजुरको ठुलो घरले त झन मेरो पो घाम छेकेर, हावा छेकेर खाइदिएको छ ।
–नियम विपरित चलेर मर्यादा भङ्ग गर्ने तैँ होइन् ?
–हैन हजुर, नियम अनुसार त चल्दै आएको हुँ, हजुर नै होइन र, गएको राति रक्सी टन्न पिएर सडकमा जथाभावी गर्ने...! मैले त झन हजुरलाई ज्यादा नपिउनुहोस् भनेर भनेको....मबाट कहाँ भयो र मर्यादा भङ्ग.....
–भो, बर्ता नकरा, ठुलो मान्छेका अगाडि एक्लै खान लाज लाग्दैन ? पाहुनाको सत्कार गर्नुपर्दैन ?
–हजुर, यो चोरेर ल्याएको होइन र यस्तो अति साधारण खानेकुरा हजुर जस्ताले खान सुहाउँदैन ।
–तँ कति मातिएको....तँ जस्तोले हामीसँग मुख लागेर बोल्ने हो ? असभ्य ! तेरो मर्यादा यही हो ? तेरो यहाँ बाँच्ने अधिकार छैन ।
.....सानो मान्छेले प्रतिवाद गर्न खोज्यो । तर यति भन्दाभन्दै ठूलो मान्छेले सानो मान्छे क्वाप्वलाक्कै निल्यो ।
त्यसपछि समय झमक्कै कालो भयो–रातझैं ।
No comments:
Post a Comment