![]() |
| किशोर पहाडी |
अचार समाचार
ऊ अखबार पढ्दैछ–“=====कालीमाटीको मोडमा एउटा सरकारी मोटरले किचेर २६ वर्षिय श्यामनारायणको मृत्यु । अभियुक्त सुरेशनाथलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा पक्राउ ।=====”
श्यामनारायण विशिष्ट श्रेणीका सरकारी कर्मचारी थिए । उनी राती पार्टीमा रक्सी धोकेर सरकारी हाँक्दै आइरहेका थिए । उनीसँगैको सिटमा उनकी श्रीमती थिइन् । ड्राइभर गाडीको पछाडीको सिटमा उँघिरहेको थियो । रक्सी धोकेको बेला गाडी चलाउन दिन नहुने–तर हाकिमको आज्ञा विवशतः उसले गाडी आफ्नो हाकिमको हातमा सुम्पेको थियो । श्यामनारायणले हाँकेको गाडी कालीमाटीको मोडैमा आइपुगेको थियो । उनको आँखा अलि धमिलो भएजस्तो थियो ।
सुरेशनाथ औद्योगिक क्षेत्रमा काम गर्ने एक मजदुर थियो । औद्योगिक क्षेत्रमा काम सिध्याएर आफ्नी रोगी आमाको निम्ति औषधी किन्यो उसले र त्यही औषधी लिएर ऊ घर फर्किँदै थियो । स्पष्टतः ऊ निकै हतारमा थियो ।
कालिमाटीको मोडमा अचानक एउटा गाडी सडक छोडेर फुटपाथमाथि चढ्यो र निकै हतारमा हिँड्दै गरेको एकजना निर्धो व्यक्तिको गर्दनमै किचिदियो । उसका हातका औषधिहरू धुलोपिठो भए ।
ऊ घरमा बसेर अखबार पढ्दैछ–“श्यामनारायणको मृत्यु====सुरेशनाथ पक्राउमा=====”
अखबारको ‘मृत्यु भयो’ भनेको ‘श्यामनारायण’ आज फेरि अर्कै पार्टीमा खाएर रक्सीको सुरमा गाडी दगुराउँदैछ र ‘पक्राउ प¥यो’ भनेको ‘सुरेशनाथ’ कालिमाटीको मोडमा असरल्ल मरिराखेको छ ।
कैदमा परेको छ–श्यामनारायणको स्वामीभक्त ड्राइभर जसलाई दुर्घटना आफ्नै हातबाट भएको हो, भनी स्विकार्न बाध्य गराइएको छ ।
काण्ड
टुँडिखेलभरि लाशैलाश थियो–मान्छेको लाश । त्यो लाश कताबाट कसले ल्याएर त्यहाँ बिछ्याएको हो, कसैलाई थाहा छैन । जिउँदा मान्छेहरू त्यो लाशलाई एकएक गरी हेर्दै थिए ।
एक जनाले भन्यो–“यी जनताका लाश हुन् । यी सबैलाई देशले मारेका हुन् ।”
त्यो मान्छे त्यहीँ भुक्लुक्क लड्यो । त्यो पनि लाशहरूको भीडमा मिसिन पुग्यो ।
अर्कोले भन्यो, “यी लाश जनताका लाश होइनन् । यी सबैलाई मारेका होइनन् ।”
त्यो पनि भुक्लुक्क लड्यो र मर्यो अनि टुँडिखेलभित्र मिसिन पुग्यो ।
अर्कोले भन्यो, “यी सबैलाई मैले मारेको हुँ ।”
त्यो पनि मर्यो र लाशहरूको भीडमा मिसियो ।
अर्कोले भन्यो, “यी सबैलाई मैले मारेको होइन ।”
त्यो पनि मर्यो र लाशहरूको भीडमा मिसियो ।
एक जना अलि मोटोमोटो खालको मान्छे आयो । दौरासुरुवाल, टोपी लगाएको । त्यसले चश्मा पुछ्यो । अलि तिखारिएर हेर्यो र भन्यो–“अहा, कति राम्रो प्रर्दशनी . सबै जनता टन्नसित घाम तापिरहेका पो छन त ।”
त्यो मान्छे भने अरु जस्तो भुक्लुक्क लडेन, मरेन । पछि थाहा भो, त्यसलाई देशको मन्त्रीमा नियुक्त गरियो ।

No comments:
Post a Comment