Tuesday, 20 August 2024

विश्वनाथ खनाल ः परिचय, प्रवृत्ति र लघुकथा

 
 विश्वनाथ खनाल
माता÷पिता ः चन्द्रादेवी खनाल÷रामजीप्रसाद खनाल
जन्ममिति ः वि.स २०१८ पुस २
जन्मस्थान ः लखनथापा गाउँपालिका–४, गोरखा
हाल ः रत्ननगर नगरपालिका–१३, चितवन
पहिलो प्रकाशित लघुकथा ः चितवनको निजामती कर्मचारी संघबाट प्रकाशित पत्रिका कर्मचारी सन्देश वि.स. २०५० मा प्रकाशित युद्धविराम लघुकथा । 
लघुकथा कृति ः सहिदहरूको विरोधपत्र (२०७६)
सम्पर्क नम्बर ः ९८५५०६६२९२
थप परिचय ः
—निजामती कर्मचारी पछिल्ला दिनमा निजी व्यवसाय सञ्चालन ।
—चितनवमा साहित्यिक–सांस्कृतिक कार्यमा सक्रिय । 

प्रवृत्तिहरू ः 
 — राजनीतिक विसङ्गतिप्रति व्यङ्ग्य ।
— द्वन्द्वकालीन नेपाली समाजको चित्रण । 
—राजनीतिका आडमा गरिने अपराधिकरण, नातावाद, कृपावादप्रति असहमति । 
—सामाजिक विकृतिको आलोचना ।  
—समाजमा नैतिक मूल्यको ह्रासप्रति चिन्ता । 
—वैदेशिक रोजगारका कारण उत्पन्न सामाजिक–सांस्कृतिक प्रमावको चित्रण । 
— उत्पीडनमा परेका नारीजीवनप्रतिको सम्वेददना । 
— सम्वादको प्रयोग ।
  
बाँच्न गाह्रो छैन
मरणोपरान्त दीर्घमानको मृतात्मालाई यमदूतहरूले यमराजका सामुन्नेमा हाजिर गराए । 

यमराजले चित्रगुप्तलाई दीर्घमानको बहीखातामा हेर्न लगाए । बहीखाता चेकजाँच गरिरहेका चित्रगुप्तका आँखाहरू अनायसै ठूला हुँदै गए र ओठ पनि गोलाकारमा खुल्दै गयो । यमराजले चित्रगुप्तको चर्तिकला देखेर उनीसँग सोधे–“चित्रगुप्त किन विस्मित देखिँदै छौ नि ?”

“घोर अनर्थ भएछ प्रभु, दीर्घमानको मृत्युभोग पूरा नभईकन नै त्रुटीवश यहाँ ल्याईएछ । त्रुटी मेरो बहीखातामा नै भएको हो, प्रभु  निगाह बक्सियोस् ।”

“त्यसो भए कलियुगको असर यमलोकमा पनि पर्न थाल्यो । हैन चित्रगुप्त ? सुरासुन्दरीबाट टाढा बस्न तिमीलाई जति सम्झाए पनि लागेन, अब यस्तो त्रुटीमा के गर्नुपर्छ, थाहा छ नि ?

यमराज र चित्रगुप्तको खासखुस धेरैबेर चेलेकामा दीर्घमानको मृतात्मालाई अचम्म लाग्यो । प्रकटमा ऊ केही बोल्न सकेन । 

एकैछिनको खासखुसपछि चित्रगुप्तले दीर्घमानको मृतात्मालाई फर्कँदै सोधे–“दीर्घमान, तिम्रो मृत्युकाल नै नभईकन तिमीलाई यहाँ ल्याइएछ । तिम्रो जीवनकालमा अझ एक वर्ष शेष थप तिमी फर्कनु पर्ने भो ।”

यमराज र चित्रगुप्तको धेरै बेरको खासखुसको अर्थ बुझ्न उसलाई बेर लागेन । घर फर्कन पाउने समाचारबा अत्यन्त खुसी भयो दीर्घमान तत्क्षण उसले आफ्नो दमले ग्रस्त शरर सम्झियो । काठामाडौंको धुँवा, धुलो, जाम सम्झियो । अनि सम्झियो अस्पतालको महँगो परीक्षण शुल्क, महँगा औषधीहरू । उसलाई दिन लागिएको जीवनदान उसका लागि वरदान नभएर एक अभिशाप बन्ने कुरा उसको अगाडि छर्लङ्ग थियो । चित्रगुप्त उनको उत्तरको प्रतिक्षामा थिए । 

अचानक दीर्घमानले चित्रगुप्त सामु फर्केर भन्यो–“चित्रगुप्तज्यू, मैले भोग्न बाँकी रहेको मृर्त्रभोग  मेरै देशका नेताका उमेरमा टाँसिदिनु । तिनीहरू आजन्म बाँच्न चाहिन्छन् र तिनलाई त्यहाँ बाँच्न गाह्रो पनि छैन ।”

भाडाको छोरा

सुयशलाई पढाएर अब्बल बनाउनका लागि के मात्र गरेनन् उसका बाले । उसलाई त्यतिबेलै राम्रा स्कुल, कलेज छानीछानी पढाए । समयको कसीमा अब्बल नम्बरी सुन बनाए छोरालाई बूढाले । शासन सञ्चालकका नालायकीपनको बादल देशको आकाशमाथि मडारिन थाल्यो । प्रतिफल सुयशजस्ता हजारौं होनहार उत्पादन विदेश जाने लाममा लामबद्ध भए । बाले उसको सपना पूरा गरिदिए, ऊ अमेरिका गयो ।

विमानस्थलमा बिदाइका बेला उसका बाआमा दुःखले पत्रैपत्र परेको अनुहारमा रुन्चे हाँसो हाँस्दै भनेका थिए–आफ्नो ख्याल राख्नु, हाम्रो चिन्ता गर्नु पर्दैन । फुर्सदमा फोन गरेस् । सुयशले हुन्छमा शिर हल्लायो र बोर्डिङ पास लिएर विमान चढ्ने ठाउँतिर लाग्यो । बाआमाले छोरा देखिन्जेल हात हल्लाइरहे । गालामा बसेका हर्षमिश्रित आँसु पुछे, घर फर्किए ।
 
वर्षमा एकदुई पटक गफ गर्न पाउँछन् सुयशसँग बाआमाले । आमा र बासँग बेफुर्सदीमा गफ गर्ने समय जुराएको बताउँथ्यो । बैंकले चिट्ठी थमाएको थमाएकै छ, समयमा तिर्न नसके लिलाम हुन्छ भनेका छन् । तेरो बा हतपती भन्दैनन् । दुःख देखाउँदैनन् । उताबाट के जवाफ आउँथ्यो कुन्नि ? फोन चाहिँ तुरन्तै काटिन्थ्यो । 

सुयशका बा बिते । स्वाभाविकै पनि हो–एक्लो छोरा नआई लाश नपठाउने जिद्दी गरिन् बूढीले । नातेदार आफन्तले फोन गरिदिए । बल्ल बल्ल फोन उठायो सुयशले । जवाफमा उसले भनेछ–“म अहिले आउन अनुकुल छैन । पिआरको लफडामा छु । पशुपतिमा भाडाका छोरा छ्यासछ्यास्ती पाइन्छन् । तिनैबाट फुकाउनू ।” 
  


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...