Saturday, 24 August 2024

राधा कार्की ः परिचय, प्रवृत्ति र लघुकथा

राधा कार्की 
माता÷पिता ः पवित्रा दुलाल÷श्रीकृष्ण दुलाल
जन्ममिति ः वि.स. २०२९ चैत्र २०
जन्मस्थान ः दमक, झापा
पहिलो प्रकाशित लघुकथा ः 
लघुकथा कृति ः संवाहक (२०७०)
थप परिचय ः 
नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत ।
साहित्यिक—सांस्कृतिक गतिविधिमा सक्रिय ।
सम्पर्क नम्बर ः ९८४१५८७४७४

प्रवृत्तिहरू ः 
 — राजनीतिक क्षेत्रमा देखिने चिन्तन र व्यवहारप्रतिको असन्तुलनप्रति चिन्ता ।
— समाजमा हुने वर्गीय, क्षेत्रीय एवम् लिङ्गगत शोषणको विरोध ।
—पारिवारिक जीवनका समस्याको प्रस्तुति । 
— पुस्तान्तरणका समस्याको प्रस्तुति ।  
— मानवीय मूल्यको स्खलनप्रति व्यङ्ग्य । 
— नारी जीवनका अनुभूतिको प्रधानता । 
— आधुनिक सभ्यताका नाममा देखिने विकृतिप्रति व्यङ्ग्य । 
—छोटा वाक्य एवम् अनुच्छेदको प्रयोग ।

गन्तव्य
बालमन्दिरको गेट नजिकै चोकमा करिब आठ–नौ वर्षकी एउटी बालिका दुई हातमा दस–दस केजीका पोका बोकेर हिँडिरहेकी देख्यो सीतारामले । 

“यत्रो भारी किन बोकेको नानी ? गानो जाला ।” नजिकै पुगेर सीतारामले भन्यो । 

भारी वजनले नुहिएको शरीर अलिकति उठाउँदै उसले टुलुटुलु हेरी मात्र ।
 
फेरि अर्को दृश्य देखियो । उही उमेरको अर्को बच्चो, किसमिस, काजु र फलफूलको झोला दुवै हातमा, बच्चीको जस्तै लच्किने गरी बोकेको । 

ती दुवै एउटै घरमा काम गर्छन् ।

बच्चाबच्चीलाई कसैले धपाएजस्तै गरी अर्को नारी–आकृति पनि देखियो, उसले पार्किङ् गरेको नाडी निकाल्दै भनिन्–“कति बिस्तारो हिँडेको । बाटोमा नअलमलिकन जानु ! भरेको लागि सबै सामान मैले अराएजस्तै गरेर राख्नु !”

सीतारामले भन्यो–“मेडम ! यत्रो भारी बोकाउनुको साटो तपाईँले पनि बोकेको भए के बिग्रन्थ्यो र ! यदि तपाईँका छोराछोरी हुँदा हुन त स्कुल जाने बेलामा तिनीहरूलाई भारी बोकाएर यसै गर्नुहुन्थ्यो ?”

तर सीतारामले जवाफ पाउनुअघि नै उनको गाडीले तीव्र्रता लिइसकेको थियो । 

कुरूप
शर्मिलाकी आमाले छोरीलाई भनिन्–“मर्ने बेलामा हरियो काँक्रो भनेझैं यो बूढीलाई घर जानुपर्यो 
अरे ।”

“हैन, आमा कति कराइरहनुभएको ? बुबा र काकासँग पठाइदिए त भैहाल्छ नि !” शर्मिलाले भनी ।

“बुबा र काका त मोटरसाइकलमा जाने हो, उसलाई लिएर जान ट्याक्सी रिजर्भ गर्नुपर्छ । दुई हजार–पच्चीस सय लाग्न सक्छ । अनि त्यत्रो पैसा कसले तिर्ने ? दिएको चुपचाप खाएर नबसेर कहाँ–कहाँ हिाड्नुपर्ने ?”

“खै त हजुरआमा कहाँ हुनुहुन्छ ?”

“अस्पतालमा ।”

“अहिले हजुरआमा कति वर्षको पुग्नुभयो ?”

“बयानब्बे वर्ष ।”

शर्मिलाले आमाको अनुहार कुरूप बन्दै गइरहेको देखी ।


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...