![]() |
| डा. विदुर चालिसे |
माता, पिता ः ओमकुमारी चालिसे, हेमनाथ चालिसे
जन्ममिति ः वि.स. २०१६ कार्तिक १६
जन्मस्थान ः गोकर्णेश्वर नगरपालिका–९, आरुबारी
पहिलो प्रकाशित लघुकथा ः मिर्मिरे त्रैमासिकमा २०४५ फागुनमा प्रकाशित रवि लघुकथा
लघुकथा कृति ः रातो चामल (२०७६), जलान (२०७७)
सम्पर्क नम्बर ः ९८५१०९७२७९
थप परिचय ः
त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा भाषाविज्ञान विषयका सहप्राध्यपक ।
कविता कृतिका साथै इतिहास एवम् अनुसन्धानमूलक कृतिका लेखक ।
ः
प्रवृत्तिहरू ः
— सामाजिक अन्तर्विरोधको चित्रण ।
— मानवीय सम्वेदनाका अनेक पक्षको प्रस्तुति ।
— व्यक्ति जीवनका विसंगतिको प्रस्तुति ।
— राजनीतिक असंगतिप्रतिको आलोचनात्मक स्वरको प्रस्तुति ।
— कर्मचारीतन्त्रमा फैलिएको भ्रष्ट मानसिकताको चित्रण ।
–शिक्षा एवम् स्वास्थ्य क्षेत्रका विकृतिप्रतिको आलोचना ।
— सम्वादको अत्यधिक प्रयोग ।
–निम्नवर्गीय पात्रको जीवनप्रतिको सहानुभूति ।
सिपाईको सिविर
ऊ सब से बहाहुर सिपाई थियो । धेरै युद्ध उसैले गर्दा जितिएथ्यो । एकातिर धर्म अर्कोतिर विस्मात हुनु नेतृत्वको देन हुन्थ्यो ।
–“घटिया मान्छे र सस्तो चुइगम एउटै हुन् ।
रिसका आवेगले मनमा चोटिलो प्रहार परेको सिपाई मुर्मुरिन्थ्यो । भाडा माझिरहेको बिर्खे कर्साबको पारा देखेर रन्थनिन्थ्यो । अनि रिसका भावहरू मनभरि उत्पादन गर्दथ्यो । उसमा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै जीवनका अन्तरङ्ग वेदनाहरू थिए । नयाँ चेतनाको मान्छे कसैको थिचोमिचो उसलाई मन पर्दैनथ्यो ।
–“भाँडा मोलि सकियो ?”
–“सकियो साब !”
–“जुत्तामा पालिस लगाइस त ?” साहेबले निकै मायालु भाषामा सोधे ।
–“छैन ।”
–“आइरन लगाइस त अनि ?”
–“अँह !”
–“छिटोछिटो लिभिङ रुपमा गएर पालिस र आइरन लगा त साले । माथि मिटिङ्ग छ, जान हतार भइसक्यो ।”
कर्साबको यस्तो रुखो वचन सुनेपछि बिर्खेले आफ्नो पेसागत मूल्य र धर्म सम्झियो । सरकारी तलब अनि व्यक्तिको निजी नोकरको दिनचर्याप्रति दिक्दार भयो । तर पनि ऊ केही नबोली कर्साबको काममा लाग्यो । उसका कामका व्यस्तताका बिच मोबाइलमा घण्टी बज्यो ।
–“बिर्खे, के गर्दैछस् अचेल ?”
–“सेनाको सिपाइको जागीरमा छु ।”
–“अनि तँ त केन्टोन्मेनमा थिइस् हैन र ?”
–“हो ! म त झुक्किएर सेना समायोजनको सर्ट लिष्टमा परेको रे !”
–“ल ! ल ! गरि खा !”
मोबाइलको आवाज बन्द भएपछि उसले विगतको युद्धको घटना झल्यास्स सम्झियो । अनि जुत्ता, आइरन र पोसाकलाई नियालेर हेर्यो । उसको मन कस्तो कस्तो भई आयो । विगतमा युध्दको सिपाई हुँदा ग्रेनाइट र बारुद बोक्दाको मजा र आत्मसम्मान अर्कै लाग्थ्यो । अहिले भाँडा, जुत्ता र आइरन घसाइको व्यस्तता अर्कै बुझिन्थ्यो । सिपाई हुनुको नाताले बाँचेको जीवन, हल्लैहल्लामा पुरानो कपडा लगाएका नयाँ केन्टोनमेनका सिपाईसँग आज भेट पनि भएनन् । ‘जता जाउ बारी कर्कलाको घारी ।’
क्या मालुम !
–“आज त म बिहेमा नगई छोड्दिन ।”
ढिङ बुढियालाई गाउँका अरू बुढीहरू पनि उकास्दै भन्थे ।
–“जान त पर्छ नि आफ्नो एउटा भएको नातिको बिहेमा ।” अर्को कसैले उनलाई हौस्याउँदै भनिदिन्थ्यो ।
–“आहा ! क्या चट्ट परेको हजुर त !” पचासी वर्षकी चाउरी बुढी । झन् के कम, मख्ख थिइन् । उनको भुइँमा खुट्टा थिएन ।
–“आमै ! आज कतातिर ढल्कँदै हो ?” फत्फतेको कुरा कानमा पर्न नपाई उनी उमङ्गले बुरूक्क भइन र हाँसिन ।
“आज छोरीको केटाको बिहेमा जान लागेको ।”
बुढिया गाला नचाउँदै लाडिन्थिन । सबैले “क्या चट्ट परेको ।”, “क्या चट्ट परेको ।” भनिरहँदा उनलाई बैंसको अनुभूति भएझैं लाग्दथ्यो । घरिघरि उनी ऐना हेर्न पुग्थिन् । कहिले सिउँदो मिलाउँथिन् त कहिले पटुका छोपेर सारी तान्थिन् । उनको खुट्टा भूइँमा थिएन । जस जसले देख्थे, सबैले उनलाई ‘आज त हजुर क्या चट्ट परेको ।’ भनेर हौस्याइदिन्थ्यो । उनी त्यसै मख्खिँथिन ।
परबाट आएको बयाण्ड बाजाको ठूलो स्वरले गाउँ हल्लिरहेको थियो । सबै ईष्टमित्र, कुटुम्ब तथा छोरी चेलीहरू जन्तीको लस्करमा थिए । उनी पनि त्यसैमा मिसिइन् । दुलही भित्र्याएने बेला भइसकेको थियो । गाउँका ईखालु आईमाईहरू दुलहीको रूप ढाँचा बारे बहस गरिरहेका थिए । कोही दुलहीलाई “चट्ट परेको” भन्थे त कोही, अग्ली अनि मोटी भन्थे ।
बुढिया कसरमसर गर्दै नातिनी बुहारीलाई भित्र्याउने सुसुल्कोमा घरकासँग अघिपछि लागिन । मूल ढोकाको बिचमा नातिनी बुहराी भित्र्याउने हर्षले भूँइमा खुट्टा टेकिरहन सकिनन् र खुट्टा उचालेर, कम्मर मर्काएर, जोसिँदै हर्षसाथ नाच्न थालिन । नातिरहेकी बुढियालाई हुलमा कसले हो, छोरीतिरका आरिसेले धक्का लगाईदिएछ । एकछिन मै लर्बरिएर पुर्लुक्क ढोका अगाडि ढलिन् । त्यतिकै उनी खुत्रुक्कै भइछन् । आउने पाहुनापासा अलमल्ल परे । उठाएर अनन्त कोलाहलका बिचबाट हतारहतार उनलाई सोलीमा चढाए र अन्तै अन्माए ।
उनी सायद भित्रिइन कि भित्रिइन् तर अन्मिएर आएकी ‘चट्ट परेकी बुहारी’ पाथी समात्दै अगाडि बढेको देखिन्थिन् । एकातिर सन्नाटा र अर्कातिर उत्साहका रङ्गहरू एकाएक खै ! त्यसै ‘चट्ट’ थिए ।
जम्मा भएका मानिसहरू आफ्ना आफ्ना नाताका आधारमा यताउता लागे । सम्बन्धका अलपत्र मानिसहरू तर्कना गरिरहन्थे । “जिउँदाका जन्ती मर्दाका मलाली” क्या मालुम । घर–घरमा कतै हर्ष त कतै बिस्मात ।

No comments:
Post a Comment