मन्त्री र मास्क
साँझको समाचार आउने बेला भएको थियो । टेलिभिजन खोलेँ । टेलिभिजनमा कोरोना सम्बन्धित समाचार आइरहेको थियो । कोरोना सम्बन्धित उच्चस्तरीय बैठक आज बसेको खबर आइरहेको थियो । मन्त्री मास्क लगाउनु पर्ने आवश्यकता भएको विषयमा नै केन्द्रित थिए ।
मसँगै बसेर समाचार हेरिरहेकी सानी छोरीले भनिन्, “हेर्नुस् त बुवा ! मन्त्रीले माक्स नलगाएर भाषण गरिरहेका छन् ?”
ओहो ! मैले त ख्यालै गरेको रहेनछु । हो रहेछ ।
“मन्त्रीलाई कोरोना लाग्दैन र बुवा !” जेठो छोराले तत्काल सोध्यो ।
“रोग त सबैलाई लाग्नसक्छ । यसले सानोठूलो, धनीगरीब केही भन्दैन् । विदेशमा देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई कोरोना लाग्यो । छिमेकी देश भारतका पूर्वराष्ट्रपतिको मृत्यु कोरोनाबाटै भयो ।” मैले भनेँ ।
“यो कोरोना त धेरै शक्तिशाली रहेछ । हाम्रो देशको मन्त्रीले किन आफ्नो ख्याल नगरेको होला ।” जेठो छोराले चिन्ता व्यक्त गर्यो ।
केही दिनमा खबर आयो, “कोरोनाका कारण मन्त्री आइसोलेसनमा ।”
समाचार सुनेर ठुलो छोरा भनिरहेको थियो, “मेरो मास्क खोइ कता छ ? अब त कुनै बेला पनि छोड्नु भएन यसलाई ।”
घर फर्केका पाइला
त्यो परिवारमा दुई जना श्रीमान्–श्रीमती मात्र थिए । नयाँ पुस्ता सबै विदेशमा । वरपर दाजुभाइको घर थियो । आपतविपतमा काम लाग्ने दाजुभाइ नै थिए । एक दिन साँझपखको कुरा हो, बुढाले छिमेकतिर हल्ला भएजस्तो ठाने ।
“पहिला त कुनै हल्ला सुनिँदैनथ्यो, आज के को हल्ला हो यो ?” बुढाले बुढीसँग सोधे ।
“कोरोना के कोरोना....?” बुढीले भान्साबाटै भनिन् ।
“कोरोना ? कोरोना पनि यसरी बोल्छ र ?” बुढाले अचम्म माने ।
“होइन, कोरोनाले बोल्दैन । कोरोनाको डरले सब घर फर्केका छन नि ! कोरोना संसारभरि फैलिएको छ । यसैका डरले तपाईँका भतिजाका घरपरिवार अनि गाउँभरका जवान मान्छे सब घर फर्केका छन् नि । चाडबाडजस्तो हुने भयो !” बुढीले सारा वृतान्त बताइन् ।
“लौ गजब भएछ त । वषौंपछि आफन्त भेटघाट हुने भयो ।” बुढाले अचम्म मान्दै भने ।
बिहान उनको घरमा ठूलो भीड देखियो । दाजुभाइका छोराबुहारी, नाति नातिना सब भेट्न आएका छन् ।
“लौ राम्रै भयो । महामारीको बहानामा भेट त भयो ।” बुढाले सन्तोक माने ।
“हामी त सुख खोज्न गएका बडाबा ! दुःख पो पाइयो । यस्तो होला भनेर सोचिएको थिएन ।” एउटा भतिजले आँसु झार्दै भन्यो ।
“धेरैपछि घर आयौ, राम्रै भयो । लामो यात्राबाट आएका छौ । यात्रामा अनेक यात्रुसँग भेट भयो होला । एकपटक चेकजाँच गराऊ । आफ््नो र आफ्ना परिवारको सुरक्षाको लागि पनि जरुरी छ ।” बुढाले आफ्नो कुरा राखे ।
“कति वर्षपछि घर आएका छन् । आफन्त, दाजुभाइ, साथीसँगी भेटन पाएका छैनन्, चेकजाँच गराऊ, के भन्न लाग्नुभएको हो ?” बुढी रिसाइन् ।
“जीवन रहे न घरपरिवार, आफन्त, साथीभाइ हो । जीवनै नरहे केही रहँदैन । आफू र आफ्नाका लागि पनि यो जरुरी छ ।” उनी बोल्दै गए ।
अस्मिता
एउटी महिला रोइरहेकी थिइन् । उनका वरिपरि केही महिला थिए । ती महिलाको आवाज चर्को हुँदै गयो ।
“नरो, नरो, ती अपराधीलाई हामी कडा कारवाही गराउँछौँ ।” एक प्रौढ महिला सम्झाइरहेकी थिइन् ।
एकछिनमा केही मानिस आए । कतिका हातमा माइक थियो भने कतिले क्यामरा लिएका थिए ।
“तपाईँ किन रोइरहनु भएको छ ?”
“हिजो साँझपख म शौच गरेर आफू रहने कोठामा आएकी थिएँ, त्यतिबेला राक्षसहरूले मलाई......?” उनी रुँदै गइन् ।
“अनि अरू मानिस कहाँ थिए त त्यतिबेला ?”
“क्वारेन्टाइनमा रहेका धेरैजसो पहिल्यै घर गइसकेका थिए, एकजना दिदी हुनुहुन्थ्यो, उहाँ पनि आज घर जानुभयो ।” उनले स्पष्टिकरण दिइन् ।
उनीहरू प्रश्न सोध्दै जान्थे, उनी उत्तर दिँदै जान्थिन् ।
“पहिला के भयो ?”
“अनि तपाईँले के गर्नुभयो ?”
“त्यतिबेला किन चिच्याउनु भएन ?”
“पहिले सहमतिपछि बदनाम गराउन खोजेको त होइन ?” प्रश्नहरू अराजक बन्दै थिए । प्रश्नकर्ता उच्छृङ्खल भइरहेका थिए । भीडमा रहेका मानिस रोचकताका साथ यी दृश्य हेरिरहेका थिए ।
“के तमाशा गरिरहेको यो । पीडितलाई न्याय दिलाउनुको साटो उसैको इज्जतमाथि खेलवाड गर्ने । केही अपराधीले त अपराध गरेर गइसके । अब झन् पीडितलाई नै मानसिक त्रास दिने ? उसको अस्मितामाथि खेलवाड गर्ने ?” स्थानीय एक महिलाको आवाज आयो ।
अब त्यहाँ पीडित महिला र उनका केही आफन्त मात्र बाँकी थिए ।
आमालाई कोरोना
सुखी परिवार थियो । तीन पुस्ता आमाबाबु, छोराबुहारी अनि नाति ।
घरका काममा अरूले सघाए पनि भान्साको नेतृत्व आमाले गर्थिन् । “शरीरले साथ दिएसम्म आफैले खाना बनाउँछु । नसके तिमीहरू छँदैछौ ।” उनी आफ्ना छोराबुहारीलाई भन्ने गर्थिन् ।
कोरोनाको हल्ला कम भएसँगै घरका सबै सदस्य काममा जान थाले । नाति पनि स्कुल जान थाल्यो । बुवा पनि प्रायः घरबाहिरै ।
घरमा बस्दा दिक्क लागेपछि आमा पनि वल्लोपल्लो घर जान थालिन् । उनी आफ्नै उमेरका छिमेकीसँग दुःखसुख बाँड््थिन्् । एकदिन आमालाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगियो । जाँचमा कोरोना पुष्टि भयो ।
“आमालाई कोरोना ?” छोराबुहारीमा नजानिँदो त्रास फैलियो । बुवा अस्पतालमा जानुहुन्थ्यो, टाढैबाट हेरेर फर्कनुहुन्थ्यो ।
आमा निको भएर घर फर्किन् । “आमा ! घरको काम म हेर्छु । हजुर यही कोठामा बस्नुहोस्् । कोठाबाहिर ननिस्कनुहोला । बाबुलाई पनि नसमात्नुहोला । केही दिनपछि पुरानै व्यवहार गरौँला ।” बुहारीले घर पुगेको केही क्षणमा भनिन् ।
“त्यही त । हजुरबाट हामीलाई सारै बबालै हुन्छ । अझ बाबु तसानै छ ।” छोराले श्रीमतीको कुराको थप पुष्टि गर्यो ।
अब आमालाई निको भइसकेकोे छ । आमा चुपचाप टोलाइरहन्छिन्् । चुपचाप ।
एकदिन बुवाले सोध्नुभयो, “आजभोलि किन मौन देखिन्छ्यौ ?”
“मैले कति दुःख गरेर छोरालाई पढाएँ, लेखाएँ । बिरामी भएँ, तपाईँबाहेक कसले सोध्यो मलाई ? निको भएर घर आएँ, आफ्नै चिन्तामा छन्, आफ्नै भयमा छन् । अहिले कस्तो छ आमा ? भन्न सकेनन्् । कस्ता स्वार्थी सन्तान । यिनका नजरमा मेरो मूल्य थाहा भयो ।” आमा भक्कानिएर रुन थालिन् ।
बुवा आमाको काँधमा हात राखेर सान्त्वना दिइरहनु भएको थियो । आँखामा पानी भए पनि बुवा मौन हुनुहुन्थ्यो ।
सेल्फीवाला राहत
राजनीतिमा भूमिका कम हुँँदै गएपछि ऊ प्रायः घरमै भेटिन्थ्यो । कहिलेकाँही कसैले बोलाए पनि समाजसेवी भन्थे, राजनीतिक नेता भन्दैनथे । आफूलाई नेता नभनेर समाजसेवी भनेकोमा उसलाई चित्त दुख्यो । अर्कोतिर जे भने पनि समाजसेवी त भनेका छन् भनेर चित्त बुझाउँथ्यो ।
उसलाई समाजसेवी भनिए पनि समाजसेवा गर्ने अवसर भने पाएको थिएन । कोरानोको महामारी आएपछि उसमा समाजसेवा गर्ने उत्कट अभिलाषा जाग्यो ।
“जीवनमा जे भयो, भयो । अब भने मानिसलाई सहयोग गर्नुप¥यो ।” उसले यस्तो अठोट गरेर पसलबाट केही चामल, दाल, तेल र नुन मगायो ।
छोरालाई भनेर सुकुम्बासी टोलका केही मानिसलाई बोलायो । वरपर बारजस्तो बनाएर एकातिर आफू र सामान अर्कोतिर राहत लिने मानिसलाई उभिन लगायो ।
उसले छोरालाई मोबाइल दिँदै, “राम्ररी फोटो खिच्नु है, खबर चारैतिर फिँजाउनु पर्छ ।” छोराले भनेअनुसार चार, पाँच फोटो खिच्यो । यसरी दुई, चार जना अरू मानिसलाई पनि राहत सामग्री दिने काम ग¥यो ।
पाँच सात जनालाई राहत बाँडेपछि उसले परिवारका सदस्य सबैलाई बोलायो । राहत लिने मध्येको एक दुब्लो, मरन्च्यासेलाई बोलायो । आफूले राहत दिइरहेको, उक्त मानिसले लिइरहेको अनि घरपरिवारका सदस्यले सामानमा हात लगाएको अवस्थामा छोराबाट सेल्फी खिच्न लगायो ।
छोराले आफ्नो फेसबुक वालमा उत्कृष्ट तीन फोटो अपलोड गरेर त्यसको माथि लेख्यो, “महान् दाता शिवशंकर तिवारीबाट गरिब परिवारलाई राहत वितरण ।”
फोटो सोचेभन्दा बढी नै भाइरल भयो । बिस जना दातासँग एक जनाले राहत लिइरेहेको फोटो धेरै मानिसले आआफ्ना वालमा सेयर गरे । त्यसमा यस्तो लेखिएको थियो ः—
“सेल्फीवाला राहत ।”
विस्थापन
साँझ पर्नै लागेको थियो । पसलमा पहिलेभन्दा कम मानिस आउन थालेका छन् । समयको प्रभावले यसो भएको हो कि ?
तिलकमानले देख्यो, त्यस ठाउँको जग्गा कारोबारी श्यामकाजी उसकै पसलतिर आइरहेछ ।
“आज त राम्रै कमाइ होला जस्तो छ ।” उसले मनमनै सोच्यो ।
“आउनुहोस् हजुर, आउनुहोस् । स्वागत छ । आज त एक्लै आउनुभयो ?” उसले व्यापारिक औपचारिकता देखायो ।
“यस्तो कोरोना लागेको बेला धेरै मानिस भीडभाड गर्नुहुँदैन भाइ !” श्यामकाजी उपदेशक बन्यो ।
“के ल्याउँ हजुर ?” तिलकमानले आफ्नो परम्परागत शैलीमा भन्यो ।
“मेरो पहिलेको खान्की थाहा छँदैछ नि भाइलाई ! ल्याउँदै गर्, म भन्दै गरुँला ।” श्यामकाजी निर्धक्क देखियो ।
नशाको प्रभावसँगै श्यामकाजीको आवाज अझ चर्को हुँदै गयो ।
“घरजग्गा किन्ने विचार छ भाइ ?” श्यामकाजीले आफ्नो व्यवसायिक कामसँग सम्बन्धित भएर सोध्यो ।
“अहिले पैसा नै छैन दाइ । कहाँबाट किन्नु ? यही पसल चलाउन गाह्रो हुन थालिसक्यो ।” तिलकमान निरीह देखियो ।
“अहिले घरजग्गा सस्तो भएको छ । कारोबारी सब ऋणमा डुबेका छन् । बैँकको ऋण तिर्न सकेका छैनन् । सस्तोमा बेचिरहेका छन् । अब याँ प्राण बचाउन गाह्रो भएका बेला कोही घरबाहिर निस्केका छैनन् ? कसले किन्छ जग्गा ? कसले किन्छ घर ?” श्यामकाजी आफै बड्बडाइरहेछ ।
“म आज पैसा बोकेर आएन भाइ । आजभोलि कारोबार मन्द छ । यसो लेख्दै गर्नु ?” यसो भन्दै ऊ पसलबाट बाहिरियो । तिलकमान आफ्नो खाता पल्टाउन थाल्यो ।
लाहुर्या आइगया
घर पुग्न पाएको थिएन, उसको मनमा अनेकन दृश्य नाच्न थाले ।
“घर पुगेपछिको त्यहाँको वातावरण कस्तो होला ? पहिले त घर पुग्दा घरपरिवार, बालबच्चा सबै खुसी हुन्थे । अब कस्तो होला ? अहिले त समय पनि कस्तो आयो । कहिले नसुनेको, कहिले नभोगेको महामारी आयो । भएको काम पनि बन्द भयो ।...जे भए पनि आफ्नो ठाउँ त पुगिने भयो ।” ऊ ढुक्क भयो ।
बाटोमा ऊजस्ता धेरै मानिस घर फर्किइरहेका छन् । कहिल्यै घर फर्कन्नँ भन्ने पनि आइरहेका छन् । गाउँघरमा त मेला लाग्ने जस्तो छ ।
गौरीफन्टा नाकाबाट ऊ सीधा पहाड पुग्यो । आफ्नो गाउँ पुग्ने बेलामा अनेकन मानिस भेटिए ।
“ओहो काका ! के छ हालखबर ?” उसले परबाट आइरहेको एक बुढा मानिसलाई सोध्यो ।
“लाहुरबाट आएका हौ के ?” यति भन्दै ती मान्छे हिँडे ।
“ओहो बौजू (भाउजू) ! के छ गाउँघरको खबर ?” ऊ पल्ला घरकी भाउजूलाई देखेर बोल्यो ।
“परदेशबाट आउनेले कोरोना ल्याएका छन् भन्ने सुनेको छु । रोग सारौला गाउँघरमा ।” भाउजूले डराउँदै भनिन् ।
बाटोमा केही स्कुल पढ्ने केटाकेटी गइरहेको देख्यो । ती केटाकेटी उसलाई देखेर परपर सरेर गए । आफ्नै गाउँका केटाकेटी केही नबोलिकन गए ।
यसरी मानिस टाढा भएको, नबोलेकोमा उसलाई दुःख लाग्यो । गाउँमा उसका साथी पनि पुगेका रहेछन् । उनीहरूको भेटघाट भयो ।
“पैलापैला हामी घर आउँदा खुसी हुने मानिस आजभोलि किन परपर हुन्छन् ? लाहु¥या आइगया भनेर टाढा भाग्छन् ।” उसले आफ्नो पीडा पोख्यो ।
“कोरोनाको डर । लौ हिँट् अस्पताल जाँच गराउन जाउँ ।” साथीले भन्यो ।
“हामीले किन जाँच गराउने ? के भएको छ र ?” त्यहाँ भएको अर्को साथीको आवाज थपियो ।
“आफू, आफ्नो परिवार र समाजलाई बचाउन । कम्तिमा आफूलाई ढुक्क छु भन्ने त हुन्छ ।” आवाज यति बलियो थियो कि यसपछि कसैले प्रश्न गर्ने आँट नै गरेनन् ।
बचत
चारैतिर खबर फैलियो । यति तीब्र खबर फैलियो कि खबर फैलाउन प्रारम्भ गर्नेलाई पनि यसको अनुमान थिएन ।
“अहिले ठिकै छ । खासै त्यस्तो अप्ठ्यारो अनुभव भएको छैन । बरु यहाँ, घरमा रहिरह्यो भने अरूलाई पनि सर्न सक्छ ।” उहाँले भन्नुभयो ।
“यस्तो महामारीको बेला केको विदेश नि । कतिबेला कहाँ मरिने हो, थाहा हुँदैन । यतै अलि सुरक्षित, राम्रो ठाउँमा व्यवस्था मिलाउनुहोस् ।” उहाँले आदेश दिनुभयो ।
उनी त्यहाँबाट हिँडे र केही समयपछि फर्किए ।
“हजुर ! राम्रो पाँचतारे होटलमा व्यवस्था मिलाएको छु, सबै सुविधा छ हजुर । केही चिन्ता गर्नुपर्दैन । महामारी भएको बेला भएर हो, नत्र त विदेश जाँदा पनि हुन्थ्यो । अब विदेश जाने खर्च यतै मिलाउनुपर्छ हजुर । बचत रकमको सदुपयोग गर्नुपर्छ ।” उच्च अधिकारी चिप्लो घस्दै थिए ।
“त्यो सब मिलाउने काम तपाईँको । पछि म हस्ताक्षर गरुँला ।” उहाँले भन्नुभयो ।
गो कोरोना
केटाकेटी घरमा बस्दाबस्दा दिक्क भइसकेका थिए । आमा र छोराछोरीबीच कुरा भइरहेको थियो । एक दिन कान्छी छोरीले आमालाई भनिन्,“आमा ! हामी कहिले स्कुल जाने । दिनमा घरमा बस्दाबस्दा दिक्क भइसक्यो ?”
“दिक्क मानेर के गर्नु छोरी ! यस्तो रोग लागेका बेला त ज्यान बचाउनु त प¥यो नि ! कोरोनाबाट बच्नु प¥यो । घरमै बस्नुपर्छ ।” आमाले सम्झाइन् ।
माइलो छोराले जिज्ञासा राख्यो, “कोरानाबाट बच्न के गर्नुपर्छ आमा ?”
“भीडभाडमा नजाने, माक्स लगाउने, समयसमयमा हात धोइरहने, सेनेटाइजर प्रयोग गर्ने, बेसारपानी खाने ।” उनले रोगबाट बच्ने उपाय बताइन् ।
“अनि हामीले कहीँ कतै जान नपाउने ? मामाघर पनि जान मिल्दैन ?” माइलो छोरा बोल्यो ।
“यो रोगको महामारी सकिएपछि जाने । सबै मिलेर कोरोनाको भिजिटलाई रोक्न लगाउने अनि सबै काम गरे भैहाल्छ नि ।” आमाले छोराछोरीतर्फ हेर्दै भनिन् ।
“अब कोरोनाको भिजिटलाई भगाउन सबै मिलेर गो कोरोना भनेर लाग्नुपर्छ । घरमा बसेर सावधान हुनुपर्छ है ! आमा ।” जेठो छोराको यो भनाइसँगै साना केटाकेटी पनि भन्न थाले, “गो कोरोना, गो कोरोना !”
बहिष्करण
विगत चौध, पन्ध्र दिन तनावमै बिते । नबितुन् पनि कसरी ? महामारीको फेला परिएकोले मन त्यसै अस्थिर भइरह्यो ।
“यो रोग लागेका धेरै मानिस निको भइसके । हामी पनि कसो निको नहोऔँला ।” चित्त बुझाउने एक बाटो यो पनि थियो ।
धेरै सावधानीसाथ यी दिन कटे । यसपछिका दिन कस्ता हुने हुन् खै ? मानिसले कुन रूपमा लिने हुन् ? यही सोच आइरह्यो ।
“हुन त तिम्रो रिपोर्टअनुसार रोग निको भइसक्यो । तैपनि केही दिन अरू घरपरिवारभन्दा अलग्गै बस् ।” अस्पतालबाट घर पुगेको केही बेरमै दाजुले भन्नुभयो ।
घरमा बस्दाबस्दा थाकेकोले एकछिन चौकसम्म पुगेर आउँ भनेको बाटोमा आशिष भेटियो ।
“तिमीलाई रोगले भेटेको सुनेको थिएँ । अब के कस्तो छ ?” उसले सोध्यो ।
“अहिले ठिकै छ । सामान्य अवस्था छ ।” मैले भनेँ ।
“केही दिन तिमीसँग हामीले नजिक हुनुहुँदैन होला । भौतिक दुरी त राख्नैपर्छ ।” आशिषले केही टाढा हुँदै भन्यो ।
मैले केही बोल्नु उचित ठानेन । सोचेँ, “यो रोग मलाई मात्र लाग्ने र अरू सब मानिस जस्ताका तस्तै स्वस्थ रहने त होइन होला ?”
म एकछिन चोकमा अलमलिएर घर फर्कँदै थिएँ, छिमेकी काकाले भन्नुभयो, “ओहो ! तिमी त मज्जाले घुमिरहेका छौ । कोरोना लागेको भन्ने सुनेको थिएँ । यसरी नडुल बाबु । हामीले पनि बाँच्नु छ ।”
“मलाई निको भइसकेको छ । म स्वस्थ छु । कोरोना जुनसुकै तरिकाले पनि सर्न सक्छ । मैले कोरोना बोकेर हिँडेको पनि छैन ।” मैले यति जोरले भनेँ कि वरपरका मानिस सब मलाई हेर्न थाले ।
रोग लागेको मानिस एक समयपछि निको हुन्छ । स्वस्थ मानिसलाई बहिष्करणमा पार्न खोज्नेसँग लड्नका लागि अब मसँग मेरो आवाज मात्र बाँकी छ ।
लोकसेवा हैन भोकसेवा
निजी शैक्षिक संस्थामा आंशिक शिक्षकको काम गर्दागर्दा थाकेर गणेशले निश्चय गर्यो, “अब लोकसेवाको तयारीमा लाग्छु ।”
घरपरिवारको सल्लाहपछि ऊ काठमाडौँ गएर लोकसेवाको तयारीमा लाग्यो । केही महिना भएको थिएन, सारा मानिस काठमाडौँ छोडेर घर गइरहेका छन् । मानिसहरूसँग सोध्दा कोरोनाको महामारीका कारण घर जान लागेको बताए ।
“केही महिनामा ठिक भैहाल्ला । म त यत्रो तयारी छोडेर घर जाँदैन ।” गणेश घर नगएर त्यहीँ बसिरह्यो ।
लकडाउनसँगै सारा कार्यालय, व्यवसाय बन्द भए । ऊ चुपचाप कोठामा बसेर लोकसेवाको तयारीमा लाग्यो ।
एक दिन ऊ लोकसेवाको पुस्तक पढ्दै थियो । पल्लो कोठामा बस्ने मानिसले भन्यो, “सरकारले सबै किसिमका जाँच रद्द गर्यो । लोकसेवा पनि नहुने भयो ।”
“सबै छोडेर यसैको तयारीमा लागियो । यस्तो हुन्छ भन्ने थाहा पाएको भए त उहिले घर जान्थेँ ।” उसले गुनासो गर्यो ।
अब उसमा पढ्ने उत्साह हरायो । घर बाहिर निस्कने अवस्था थिएन । यातायात, बैंक सब बन्द थिए । काठमाडौंमा जति कडाइ थियो, त्यति कडाइ घरतिर थिएन ।
एक दिन घरबाट फोन आयो, “लोकसेवाको तयारी कस्तो छ ?”
“लोकसेवाको जाँच त रोकिइसक्यो । भोकसेवा गर्न सकिएको छैन । रासन पनि सकिनै आँट्यो । परदेशमा भोकै मरिएला जस्तो छ ।” उसले निराश हुँदै भन्यो ।
“जसोतसो काम चलाउनु । वरपर, साथीभाइसँग मागेर पनि चलाउनु । अवस्था सामान्य हुने बित्तिकै केही उपाय गरौँला ।” दाजुको भनाइसँगै उसमा केही आशा पलायो ।
फेरिएको दैनिकी
बिहान रचनाको निन्द्रा ढिला खुल्यो । हिजो दिनभरको थकानले गलेको जीउ दुखेकै छ । उठेर हेर्दा श्रीमान्, केटाकेटी सब मोबाइल समातेर बसेका छन् । सब मस्त छन् । केटाकेटी गेम खेलिरहेछन् । श्रीमान् च्याट गरेर बसेका छन् ।
“बिहानदेखि साँझसम्म जतिबेला हेर्यो मोबाइलमा । के भएको हो, यो घरका मानिसलाई ?” उनी चिच्याइन् ।
“अरू काम नै केही छैन ? मोबाइल नसमातेर के गर्नु त ?” छोराले मसिनो स्वरमा जवाफ दियो ।
“हातमुख धोएर सरसफाई ग¥यौ कि गरेनौँ ?” उनले छोराछोरीलाई सोधिन् ।
“हामीले त बिहानै हो तर... ।” छोराछोरीले जवाफ दिए ।
“ए ! मैले मुख धुनै बाँकी छ, कसो भुलेको...” एकाएक उनका श्रीमान् उठेर मुख धुन बाथरुम छिरे ।
“बाबुको हाल यस्तो छ, छोराछोरीको के होला ?” रचनाले व्यङ्ग्य गरिन् ।
उनले घरको सफाइपछि चिया बसालिन् लगत्तै सबैलाई चिया पिउन भान्सामा बोलाइन् ।
“मम्मी ! आज खानामा के बनाउनुुहुन्छ ?” जेठो छोरा बोल्यो ।
“अब पहिले जस्तो अवस्था छैन छोरा । तिम्रो बुवा काममा नगएको पनि दुई महिना भैसक्यो । तलब आएको छैन, भएको पैसाले सामान किनेको त्यो पनि सकियो । अब अवस्था हेरेर चल्नुपर्छ ।” रचनाले विवशता देखाइन् ।
“अब के गर्ने त ?” कान्छो छोरा बोल्यो । “जे जस्तो पाइन्छ, खाने । अरु के गर्ने ।” उनी बोलिन् ।
“यो कोरोनाका कारण घरमा बस्दाबस्दा म पनि अल्छि भएछु । तिमीहरू पनि पहिलेको अवस्थामा छैनौ । पहिले बिहानै उठ्ने, सरसफाइ गर्ने अनि लेखपढ गथ्र्यौ । साँझ पनि घर आएर घरको काममा सघाउँथ्यौ अनि लेखपढ पनि गथ्र्यौ । अब योजना बनाएर काम गर्नुपर्छ नत्र बानी बिग्रन्छ ।” श्रीमान् छोराछोरीलाई एक ठाउँमा बसाएर कोरोनाकालका योजना बनाउन थाले ।
“म बिहानदेखि साँझसम्म घरपरिवारको सेवामा लागिरहन्छु । अहिले काम नभएको बेलामा, सबैजना घरमा भएको बेला मलाई सजिलो हुने पनि योजना बन्छ कि ?” रचनाको आवाजसँग सबको अनुहारका भाव बदलिए ।
कुहिएको चामल
लकडाउनका कारण मानिस घरमा थिए । कोहीकोही मानिस बाध्यताले आक्कलझुक्कल मात्र बाहिर निस्कन्थे । मानिसहरूले वडामा राहत वितरण हुने खबर माइकिङमार्फत थाहा पाए ।
आज स्थानीय सरकारी विद्यालयको चौरमा ठूलो भीड जम्मा भयो । अभावग्रस्त मानिसभन्दा स्थानीय मध्यमवर्गीय मानिसको भीड जम्मा भयो ।
राहत वितरण हुने ठाउँमा वडा अध्यक्ष, सदस्य, केही राजनीतिक कार्यकर्ता एवम् प्रहरी थिए । राहत लिने मानिसको नामावली केही पहिल्यै बनिसकेको थियो, केही टिपोट हुँदै थियो ।
राहत सामग्रीमा पाँच किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन थियो ।
“पालैपालो आउनुहोला । हुलहाल नगर्नुहोला । हामी सबैलाई राहत दिन्छौँ” वडाअध्यक्ष आफू दाता भएको परिचय दिँदै थिए । मानिस आउने जाने क्रम चलिरह्यो ।
एक घण्टामा त्यहाँ हल्ला फिँजियो—“कुहिएको चामल बाँडिदैछ ।” यो हल्ला घटेन, बढ्दै गयो ।
“यो हुनै सक्दैन । त्यसै आरोप लगाउने । राहतजस्तो कुरामा पनि राजनीति गर्ने ?” वडाध्यक्ष कराए ।
सबै मानिसको रोहबरमा एक पोका खोलियो, अर्को...फेरि अर्को । सबमा चामल कुहिएको देखियो । त्यतिकैमा राहत वितरण रोकियो ।
पत्रकार आए, फोटो खिचे । समाचार देशविदेशमा पुग्यो । मेयर, कार्यकारी प्रमुख, वडा अध्यक्ष सब त्यहाँ भेला भए ।
“किन यस्तो घटना घट्यो ?” पत्रकारले मेयरलाई सोधे ।
“ठेकेदारले बेइमानी गर्यो । ठेकाअनुसार काम गरेन ।”
“अरू कसैलाई थाहा नदिई त्यसैलाई टेन्डर हाल्न लगाएको कुरा बाहिर आइसक्यो त ?” अर्को प्रश्न आयो ।
“अरू कसैले टेन्डर हालेन अनि मैले के गर्नु त ?” मेयर स्पष्टिकरण दिइरहेका थिए ।
स्थानीय टेलिभजनका पत्रकारले ठेकदारलाई सोध्दा, “मसँग सबै चामल थिएन । मैले अरूबाट लिएको सामानमा खराबी रहेछ । मैले थाहा नै पाएन हजुर ।”
उनीहरू एकअर्कालाई दोष दिइरहेका थिए । त्यहाँ भएका कतिपय मानिस भ्रष्टाचार भएको अनुभव गरिरहेका थिए भने कतिपय भोकले तड्पिइरहेका थिए ।
आफ्नै माटो प्यारो
“अब त बुढो पनि भइयो । पहिलेजस्तो बल पनि रहेन । भएको खेत पनि बाँझै रहने भयो ।” बुढा गुञ्जमान आँगनमा बसेर आफ्नो पीडा पोख्दै थिए ।
“गाउँका सबै जवान मान्छे घर आइरहेका छन् । कहिल्यै घर नआउने पनि घर आइरहेका छन् । हिजो कमल भेटिएको थियो, हाम्रा छोरा बुहारी पनि आउँदैछन् रे ।” उनकी श्रीमती सुनमायाले खुसी हुँदै भनिन् ।
“त्यसो भए नातिनातिना पनि आउने होलान् । ल राम्रै भयो । वर्षौंपछि सारा परिवार एक साथ हुने भइयो ।” गुञ्जमान पनि खुसी देखिए ।
दुई दिनपछि सुनिल श्रीमती र आफ्ना लालाबालासहित टुप्लुक्क आइपुग्यो ।
“लौ लौ घर आएछौ, राम्रै भयो । रोगले जतातता मानिस मरिरहेका छन् । आफ्नै घरआँगनमा पुग्यौ, ठिकै भयो ।” उनीहरूलाई गुन्जमानले स्वागत गरे ।
उनीहरू केही दिन क्वारेन्टाइनमा बसेपछि घर फर्किए ।
“मानिस जता गए पनि आखिर चाहिने त आफ्नै घर रहेछ । यतिका वर्ष अर्काका देश बस्दा घरको कुनै मतलबै थिएन । पैसा आएकै थियो, श्रीमती बालबच्चा पालिएकै थियो । अहिले त तिमीहरूलाई पाल्न सक्दैनौँ भन्यो । काम पनि ठप्प भयो । अनि हामी त घर आयौँ ।” छोराले आफ्नो पीडा सुनायो ।
“त्यतिखेर तिम्रो बुवाले यतै बस् भनेर भन्नुभएकै हो । अब हामी पनि बुढा भयौँ । भएको जग्गाजमिन पनि हेर्ने मानिस पाइँदैन । गाउँमा भएका जवान मानिस देश छोडेर गएपछि कसले गर्छ काम ?” आमाले छोरासँग भनिन् ।
“हो आमा ! उतिबेला पैसाका लोभले उता लागियो । अर्काको देशमा जति हड्डी घोटे पनि तिनले कहिल्यै राम्रो बोल्ने हैनन् । उमेर छँदा काममा लगाउँछन् । कुनै अप्ठ्यारो पर्यो भने बेइज्जत गरेर निकाल्छन् । आखिरमा आफ्नै माटो प्यारो हुन्छ ।” छोराको कुरा सुनेर गुञ्जमान र सुनमायाका आँखामा आँसु आयो ।
यी आँसु कति मूल्यवान छन्, ती दुवैलाई राम्ररी थाहा थियो ।
अमर पात्र
“हैन हो दाजु ! अब त केही गर्न सकिएला जस्तो छैन । रासन पनि सकियो । काम पनि छैन । घर जानलाई गाडी पनि छैन । अब के गर्ने होला ?” हिजोसम्म आफ्नो डेरामा सहारा दिइरहेको तीर्थमानले यसो भन्दा चन्द्रमानको अनुहार अँध्यारो भयो ।
“अब जबसम्म सास छ, तबसम्म आस छ । केही न केही त होला
नि !” सूर्यमान यसो भन्दै त्यहाँबाट बाटो लाग्यो ।
लकडाउनको बेला भरिया चन्द्रमान सधँै मुख्य चोकमा बसिरहन्छ । कोही मानिस आउला र भारी बोकौँला भनेर । अहँ ! कोही पनि आउँदैन् । बिहान, साँझ सामान किन्नेका भीड मात्र देखिन्छ । दिउँसो पुलिसले लखेट्छ ।
“यो लकडाउनको बेला पनि कहाँ बाहिर निस्केको ? घरमा बस्नुपर्दैन ?” बेलाबेला पुलिसको हप्काइमा पर्छ ऊ । खुल्ला आकाश नै घर भएपछि कहाँ घर खोज्नु ? ऊ मानिसहरू सँग हाथ थापिरहन्छ ।
“हजुर ! काम पनि पाइएन््, खानलाई पनि केही छैन । दया गर्नुहोस् ।”
“यस्तो कोरोनाका कारण लकडाउन भएका बेला कहाँबाट दिनु ?” मानिस हप्काउँथे र ऊ चुप लागेर आँसु बगाउँथ्यो । उसले भोक थाम्न सकेन । अन्ततः जे नहुनुपर्ने थियो, त्यही भयो । उसको लाश सडक किनारमा पल्टिरह्यो । सडकमा हिँडने मानिस आउँथे, सहानुभूति प्रकट गर्थे । कतिपयले सरकारलाई गाली पनि गर्थे । मानिसमा संवेदनाको ज्वारभाटा उम्लिएको थियो ।
ऊ जीवनभर गुमनाम जीवन बाँच्यो, उसलाई कसैले चिनेन् । मृत्युपछि उसको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । उसको मृत्युमा शोक गीत, शोक कविता लेखिए । उसको फोटो राखेर मानिसले “सरकार कहाँ छ ?” भनेर सामाजिक सञ्जालमा पनि लेखे । उसको मृत्युप्रतिको संवेदनामा मानिसले सामाजिक सञ्जालमा आँसु बगाए । ऊ अमर पात्र बन्यो ।
सामाजिक सञ्जालमा उसको जीवन कथा लेख्ने क्रम जारी रह्यो । उसको लाश चुपचाप–चुपचाप सडक किनारमा बेवारिस लडिरह्यो ।
कृतज्ञता
बिहानपख घरमा बसेर पुस्तक पढिरहेको थिएँ । ढोका बाहिरबाट कसैले कराएको सुनियो “साहेब, ओ साहेब ।”
म ढोकामा आएर हेर्छु त पहिले हाम्रो घर बनाउने मिस्त्री पो रहेछ । मलाई देख्नेबित्तिकै उसले अभिवादन ग¥यो ।
“के खबर छ मेवाराम ? आजभोलि के काम चल्दैछ ?” मैले उसको हालखबर सोधेँ ।
“के खबर हुनु हजुर ? सब काम ठप्प भइहाल्यो । काम गरेको ठाउँमा पनि पैसा दिँदैन । कोरोनापछि मात्र दिने भन्छ । खानको लागि पनि पैसा छैन्, घर जान्थेँ हजुर । घर जाने पैसा पनि छैन ।”
“घर जान कति रुपियाँ लाग्छ ?” मैले सोधेँ ।
“एक हजार भारु लाग्छ ।” उसले भन्यो ।
मैले उसलाई दुई हजार नेपाली दिएर भनेँ “लौ यो लेऊ । यतिले तिमीलाई पुग्छ होला ।”
“हजुरको जय होस् ।” यति भन्दै ऊ रुपियाँ लिएर गयो ।
मलाई मेवारामको फोन आयो । “हजुर ! म घर पुगिसकेँ । हजुरको आर्शीवादले मलाई आफ्नो घरपरिवारसँग भेट गरायो ।”
एकैछिनमा उसले आफ्नी आमासँग मेरो कुरा गरायो । उसकी आमाले रुँदै “मेरो छोरालाई विपत्तिबाट पार गराएर परिवारसँग मेल गराइदिनु भयो । एउटी बुढी आमाको आशिक लागोस् ।” भनिन् ।
मलाई लाग्यो, मलाई मेरै आमाले आशिक दिइरहेकी छिन् ।
कोेरोनाकालको दशैंं
“यसपालि दसैँमा टिका लगाउन गाउँ जाने !” बाबुले यसो के भनेका थिए, केटाकेटी रमाए ।
“दसैँमा गाउँ जाने, दसैँमा गाउँ जाने ।” केटाकेटी रमाउँदै उप्र्रिmए ।
जागीर सहरमा भएपछि श्रीमती र केटाकेटी सहरमै ल्याएका थिए श्रीरामले । गाउँमा आमा र भाइका परिवार बस्दथे ।
दसैँको एकदुई दिनअघि गाउँ पुगे सपरिवार । लामो समयपछि भेट भएकोमा परिवारगण खुसी भए ।
दसैँको टिकाको कार्यक्रम प्रारम्भ भयो । सबै परिवारजन जम्मा भए ।
“सबैै जना भेला भएकोे बेला म एउटा महŒवपूर्ण कुरा भन्छु हैै ।” श्रीरामले सबैको ध्यानाकर्षण गरे ।
“के कुरा हो बुवा ।” ठुलो छोरा अमितले जिज्ञासा राखे ।
“यसपटक हामीले पर्व मनाए पनि यो सामान्य अवस्था होइन । महामारीले सताएको बेला हो । यसैले हामीले हाम्रा अग्रज, मान्यजनबाट टिका ग्रहण गर्दा केही सावधानी भने अपनाउनै पर्ने हुन्छ । टिका लगाउँदा सबैले मास्क लगाउने, आमाले टाढैबाट आर्शीवाद दिनुहुन्छ ।” श्रीराम बोले ।
“हो, ठिक भन्नुभयो दाजुले । हामीले सावधानचाहिँ हुनैपर्छ ।” सुधीरले पनि दाजुको कुरामा सही थापे ।
सोचाइका आयाम
आफ्नो अध्ययनपश्चात् डा. शिव शर्माले आफ्नै घर भएको क्षेत्रमा काम गरे । उनले जिल्लाको दुर्गम क्षेत्रमा गएर सेवा गरे । एकाएक कोरोनाको महामारी आएपछि त उनको जिम्मेवारी झन् बढ्यो । उनले त्यस भेगका जनताको दिनरात सेवा गरे ।
“हाम्रो क्षेत्रमा यतिको डाक्टर पाउनु ठूलो कुरा हो । हिजोको दिनमा अहेब, कम्पाउण्डर पाउन पनि गाह्रो थियो ।”
“यो दरिद्र बस्तीमा जनताको सेवा गरेर डाक्टर साबले ठूलो गुन लगाउनु भएको छ ।”
“महामारीले हामीलाई त लगिसकेको थियो, डाक्टर साबले प्राण रक्षा गर्नुभयो ।” स्थानीय व्यक्तिका यस्तै भनाइ सुनिन्थे ।
एकाएक डाक्टर साबलाई बिसन्चो भयो । उनले आफ्नो स्वास्थ्य परीक्षण गराए । कोरोना पोजेटिभ देखियो । उनले सबलाई आव्हान गरे, “मलाई अहिलेको महामारीले छोएको छ । मेरो सम्पर्कमा आए जतिले आफ्नो स्वास्थ्य जाँच गराउनु होला ।”
डाक्टर साबले यो सूचना के दिएका थिए, मानिसहरूमा अर्कै प्रतिक्रिया देखिन थाल्यो । उनलाई देख्नासाथ नमस्कार गर्ने मानिस तर्केर भाग्न थाले । बाटोमा कतै देखिहाले पनि टाढाटाढा हुनथाले ।
समाजका केही फटाहा मानिसले यसरी प्रतिक्रिया दिन थाले ।
“यो डाक्टरको नजिक नपर्नु, यो रोगको भण्डार हो ।”
“यसले कतिलाई कोरोना सारिसकेको होला ।”
“रोग निको गर्न आएको भनेको त रोग सार्न पो आएको रहेछ ।”
कोरोना संवाद
कोरोनाको प्रभावको प्रारम्भिक चरण थियो । सरकारले देश बाहिरबाट आउने सबै बाटो बन्द गरेको थियो । जति उपाय लगाउँदा पनि कोरोना बढिरहेको थियो । एक अस्पतालमा डाक्टर–रोगीको संवाद यस्तो थियो ।
डाक्टर ः कताबाट आउनु भएको हो ?
रोगी ः घर हो हजुर यतै, बिसनपुर गाउँ हो ।
डाक्टर ः घर यतै भए पनि अहिले त बाहिरबाट आएजस्तो छ नि ?
रोगी ः खै के भनौँ हजुर ! भन्न पनि डर लाग्छ ।
डाक्टर ः कुनै डर छैन । केही हुँदैन, निर्धक्क भन्नुहोस् ।
रोगी ः म भारतबाट आएको हुँ हजुर ।
डाक्टर ः बाटो त बन्द थियो नि ?
रोगी ः चोरबाटोबाट आएँ, हजुर ।
डाक्टर ः चोरबाटोबाट कसरी ?
रोगी ः पैसा लिएर रातमा सीमा पार गराइदिन्छन् ।
डाक्टर ः घर पुग्ने बित्तिकै जाँच गराउन आउनु भएन त ?
रोगी ः कतै समात्ने हो कि भन्ने डरले आएन डाक्टर साब ।
डाक्टर ः ए, तपाईँको रिपोर्टमा कोरोना पोजेटिभ देखियो । केही दिन अस्पताल बस्नुपर्छ । घरका मानिसलाई पनि देखाउन लगाउनु प¥यो ।
रोगी ः घरकालाई किन होला डाक्टर साब ?
डाक्टर ः तपाईँबाट उनीहरूलाई सरेको हुनसक्छ, कोरोना भए नभएको जाँच गरेपछि थाहा हुन्छ
रोगी ः हुन्छ हजुर । म घरपरिवारका सबैलाई जाँच गराउन खबर गर्छु ।
डाक्टर ः तपाईँले यसरी चोरबाटोबाट नआउनुपर्ने ??
रोगी ः के गर्ने हजुर ! उताबाट पारिकाले लखेट्छन, यताकाले घर आउन दिँदैनन् अनि हामी कहाँ जाने ? हामी गरीबले जता पनि पिल्सिनुपर्ने । सीमामै चेक गरेर आउन दिएको भए हुन्थ्यो हजुर ।
डाक्टर ः यो मेरो कार्यक्षेत्रको कुरा भएन । अहिले धेरै नबोलौँ क्यार ।
भ्रमण
“संसारभर कोरोना फैलिएको छ । अब के हुन्छ, के हुन्छ, थाहै छैन । चाँडै घर आऊ छोरा !” आमाले भिडियो कलमा यसो भनेपछि उसलाई पनि लाग्यो, “यस्तो बेला खैरियत छैन, अब घर जानुपर्छ ।”
जसोतसो पाएको काम छोडेर विदेशबाट घर हिँड्यो । घर जाँदा विमान, एयरपोर्ट, बस विभिन्न साधन प्रयोग गर्दा उसले सुरक्षा सर्तकता पालन ग¥यौ । सकुशल घर पनि पुग्यो ।
घर आएपछि जाँच गराउँदा कोरोना नभएको पुष्टि भयो ।
साथी घर आएको थाहा भएपछि पुराना साथी सम्पर्क गर्न थाले । उसले कसैलाई भेट्नुभन्दा फोनमै कुरा गर्नु उचित ठान्यो ।
“यता कहाँ छ र कोरोना ? कतै छैन । विदेशमा छ । अलिअलि काठमाडौँमा होला । डराउनु पर्दैन । हामी कतै गएका छैनौँ ? यतिका वर्षपछि घर आएर पनि हामीलाई नभेट्ने ?” अभिनवले जोर ग¥यो ।
आमाबुवालाई थाहा नदिइकन घरबाट बाहिर निस्कियो । साथीभाइ भेट्यो । “आ...के भएको छ र ? यता त सब हिँडेकै छन््, डुलेकै छन् । म मात्र के डराउनु ?” भयमुक्त भएपछि सारा आफन्त भेट्ने काम भयो ।
अचानक स्वास्थ्य बिग्रेपछि अस्पताल लगियो । “तपाईँलाई कोरोना देखियो । पहिला जाँच गर्दा त केही थिएन । अहिले के भयो ? घरबाट बाहिर कतै जानुभएको थियो ? डाक्टरले जिज्ञासा राखे ।
“जाँच गराएपछि ढुक्क भएँ । साथीको आग्रहमा उसलाई भेटेँ । त्यसपछि मामाकहाँ गएँ, फुफू भेटेँ, काकाको घर गएँ । यसरी भेट्दा बीस जनाको घर पुगिसकेको रहेछु ।”
“ए निकै रमाइलो भ्रमण पो भएछ । अब तपाईँका घरपरिवार, आफन्त, साथीभाइ भेटेजति सबको कोरोना जाँच गराउनु प¥यो ।” डाक्टरको आवाजसँगै उसको अनुहारमा अँध्यारो बढ्दै गयो ।
आँसुको अर्थ
आज कविजी खुसी देखिन्छन् । खुसी नहोउन् पनि कसरी ? लकडाउनको तीन महिनामा तीन कृति लेखिसकेका छन् ।
“वर्षदिनमा नहुने काम तीन महिनामा सकियो । कार्यक्रम, भेला, गोष्ठी, रोजगरी, घरको कामको चक्करमा लाग्दालाग्दै समय जान्थ्यो । कोरोनाले गर्दा यति काम गर्न सकियो । ” उनी मनमनै प्रसन्न देखिए ।
यसै खुसीमा उनले फेसबुकमा एक स्टाटस पनि राखिहाले, “आज मलाई अपार आनन्दको अनुभूति भइरहेको छ । मानवतामाथि आएको संकटको बेलामा पनि तीन पुस्तक लेख्न सकियो ।”
यो तीन महिनामा घर कसरी चल्यो, उनलाई थाहा नै भएन ।
“यो तीन महिनाको खर्च जसोतसो छोराहरूले चलाए । अब घरखर्च कसरी चलाउने हो, केही उपाय गर्नुप¥यो प्रिय कविज्यू !” श्रीमतीले गुनासोको पोको खोलिन् ।
“किताब छापुँला भनेर पचास हजार राखेको थिएँ, त्यसैले काम चलाऊ, अब पहिलेजस्तो गर्ने होइन । यो संकटकालमा किफायती भएर खर्च चलाउनुपर्छ ।” कविले दराजबाट रुपियाँ झिक्दै भने ।
“पहिले त कहिल्यै यसो भन्नुभएन, यसपालि के भयो यस्तो ?” श्रीमतीले जिज्ञासा राखिन् ।
“संकटकालमा ज्यान जोगाउनु नै ठूलो कुरा हो । कामधन्दा सब ठप्प छ । देखिनौ, संसारभर के भइरहेछ...” कवि भावुक देखिए ।
त्यहीँ बसेको छोराले बाबुलाई आश्वस्त पार्दै भन्यो, “अहिले जसोतसो चलाऊँ बा ! सामान्य अवस्था आएपछि बाको पुस्तक हामी सब मिलेर छापौँला ।”
छोराको यो भनाइसँगै कविज्यूको आँखाबाट आसुँको वर्षा हुन थाल्यो ।
सामाजिक दायित्व
भर्खरभर्खर कोरोना रोग सुरु भएको थियो । अचानक मलाई ज्वरो आयो र जीउ काम्न थाल्यो । छोराहरूले निजी अस्पतालमा लगे । अस्पतालको गेट बन्द थियो ।
“यो अस्पताल त बन्द छ । के भएको हो, सोध ।” मैले कान्छोलाई भनेँ ।
“अहिले कोरोनाका कारण अस्पताल बन्द छ । हामी कुनै पनि उपचार गर्दैनौं ।” गेटमा भएको पालेले हामीलाई त्यहीँबाट फर्कायो ।
बल्लबल्ल सरकारी अस्पताल पुगेर चेकजाँच गरियो । केही दिन आराम गरेपछि रोग ठिक भयो । लामो समय घरमा बसेको, आज त यसो तरकारी बजारसम्म त पुगेर आउँ भनेर निस्केको थिएँ, पुराना साथी भेटिए ।
“हेर्नुस् न, श्रीमती बिरामी भएको । आजभोलि त चेकजाँच गराउन पनि पालो पर्खनुपर्ने । निजी अस्पतालमा लगेँ, छिट्टै जाँच भयो । जाँच गरेको बत्तीस सय लियो । हाम्रै टोलका अरू त महँगोमा परेछन् । कतै पैँतिस सय, कतै चार हजार ।” उनी भन्दै गए ।
“अब कस्तो छ त भाउजूलाई ?” मैले सोधेँ ।
“अहिले ठिकै छ । अलिअलि कमजोरी छ ।” उनले सामान्य अवस्था रहेको बताए ।
“पहिला त चेकजाँच नै गरेन निजी अस्पतालले । मलाई कति गाह्रो भएको थियो, कुनै वास्ता नगरेपछि सरकारीमा गएँ ।” मैले आफ्नो कथा बताएँ । त्यसमा कथा कम व्यथा बढी थियो ।
“तपाईँले हिन्दीको एक भनाइ सुन्नुभएको छ, ‘बाप बडा न भैया, सबसे बडा रूपिया’ । हो यही हो, । पैसा मात्र सबै कुरा हो ? के उनीहरूको सामाजिक दायित्व छैन ? हिजो निशुल्क गर्नुपर्ने भनेर भाग्नेहरू अहिले आफूखुसी रकम लिइरहेका छन् । हामी नागरिक कमजोर भएर पनि हो” म बोलिरहेँ ।
नयाँ प्रकाशन
धेरै दिनपछि प्रकाशन गृहको ढोका खुल्यो । श्यामदेवले आफूसहित सारा कर्मचारी लगाएर सरसफाई गरे । एकछिन साहुको कुर्चीमा बसे । उनको दिमागमा के आएछ कुन्नि, सामाजिक सञ्जालमा खुलेको पसलको फोटोसहित आफ्नो भनाइ राखे, “आज धेरै दिनको विश्रामपछि आफ्नै कार्यकक्षमा ।”
उनले स्टाटस के राखेका थिए, काठमाडौँ वरपरका साहित्यकारले प्रतिक्रिया दिन थाले ।
“कोरोना कालको उपयोग गरेर मैले एउटा कोरोना महाकाव्य तयार गरेँ । छिट्टै भेटन आउँछु ।”
“मैले कोरानाकालका घटना समेटेर एक उपन्यास लेखेको छु । अब प्रकाशन तपार्इँकै जिम्मा ।”
“चार महिना लगाएर एक कथा कृति लेखेको छु, लघुकथाको पनि तयार हुँदैछ । कोरोनाकालमा मानिसमा पीडालाई राम्ररी समेटेको छु । अब प्रकाशनको जिम्मा यहाँलाई नै दिनुपर्ला ।”
यसरी विभिन्न लेखकले विभिन्न किसिमले आफूले कोरोना कालमा घर बसेर गरेका कार्यको वर्णन गरे । श्यामदेवले सबैलाई धन्यवाद दिए र छिट्टै भेट गर्ने आश्वासन दिए ।
“हामीलाई लामो समय श्वास फेर्न नदिएर थुनेर राख्ने काम गर्नुभयो । अब हामी छरिन चाहन्छौँ । हामी तपाईँको कैदबाट मुक्ति चाहन्छौँ ।” चारैतिर रहेका पुस्तकले आफ्नो पीडा पोखे ।
“अहिलेसम्म जति थुनिनु भयो, भयो । अब तपाईँहरूको व्यवस्थापन पहिले गर्छु । नयाँ प्रकाशनको कामको प्रक्रिया चलिरहन्छ । यो ठाउँमा आउन त अझै समय त लाग्छ नै । आफ्नो हातमा मात्र आउनुपर्छ, कसलाई कसरी घुमाउने, मैले पनि जानेको छु ।” यति भन्दै उनी पुनः सामाजिक सञ्जालमै व्यस्त हुन थाले । एकैछिनमा उनको अर्को भनाइ देखियो, “छिटोछरितो प्रकाशन र वितरणका लागि हामीलाई सम्झिनुहोस् । यहाँहरूको सेवामा सदैव तत्पर छौँ ।” प्रो. श्यामदेव, आशामुखी प्रकाशन ।
पूँजी
ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।”
श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो ।
”अहिले विदा दिन मिल्दैन । कामदारको कमी भएको बेला कसरी विदा दिनु ? बरु घरतिर कुनै आफन्त, साथीभाइलाई भनेर हेरचाह गर्न भन् ।” कम्पनीको मानिसले भन्यो ।
“अब के गर्ने होला ?” म खाडीमा पसिना चुहाइरहेको छु । उता भने घरमा......” यहि सोचेर ऊ आत्तियो ।
“यस्तो कोरोना लागेको बेला त.....। अहँ ! हुँदैन । आफैलाई लाग्यो भने ।” आफन्त मानिसहरू पन्छिन लाग्यो ।
उसकी अर्को जिल्लामा रहेकी सालीले खबर पाउने बित्तिकै भनिन्, “नआतिनुहोस् भिनाजु । म गएर बालबच्चाको खबर गर्छु । दिदीलाई पनि हेर्छु ।”
ऊ केही आश्वस्त भए पनि चिन्तामुक्त भने भएन । एकाध दिनमै श्रीमतीको फोन आयो । “मलाई ठिक भइसक्यो । प्रारम्भिक अवस्थामै रहेछ । चिन्ता नलिनुहोला ।”
यतिका दिनपछि तनावपछि उसलाई परिवारसँग बिछोडिनुको पीडाबोध भयो ।
“म पैसा भए सबथोक हुन्छ भन्ने ठान्थेँ । सबभन्दा ठूलो सम्पति त विपतमा साथ दिने मानिस रहेछन् ।” ऊ आफ्नो साथीसँग कुरा गर्दै थियो ।
मृत संवेदना
कोरोनाको कहरबाट सन्त्रस्त छ समय र सन्त्रस्त छन् मान्छेहरू । कामको क्रममा अर्काको देश गएका कामदार भागिरहेछन् निरन्तर । हिजो रहरले गइन्थ्यो, आज बाध्यताले आइरहेको छ ऊ ।
“घर छोडेर नजाऊ छोरा । जे जति छ, यसैमा रमाउँला । हामी बुढाबुढीलाई छोडेर नजाऊ । मानिसको जीवन कति बेला के हो ?” उसलाई आज बाले भनेको शब्द सम्झनामा आइरहेका छन् ।
अरू मानिस जस्तै ऊ पनि दौडिरहेछ, दौडिरहेछ ।
“कति चाँडो घर पुग्न पाए हुने ?” यही चिन्ता छ मनमा । गन्तव्य अझै टाढा छ ।
हिजोका मायालु मानिस आज क्रुर भएका छन् ।
“हामीलाई खाद्यान्नको संकट आउन थालिसक्यो । अब तिमीहरूको जिम्मा लिन सक्दैनौँ । भाग...भाग...जहाँ जान्छौँ, जाऊ ।”
अचानक बज्रपात भयो मनमस्तिष्कमा । कता जाने, के गर्ने ? हुलका हुल मानिस दौडिरहेछन् निरन्तर । टेक्यो जमिन, उठायो माटो र लगायो टाउकोमा ।
भीडमा खैलाबैला मच्चियो, मानिस जमिनमा ढलिरहेछ । नाडी छामियो, मृत रहेछ ।
भयको साम्राज्य फैलियो चारैतिर ।
मेडिकल जाँचपछि रिर्पोट आयो, “लगातारको हिँडाइले कमजोर भएर मृत्यु । कोरोना नभएको प्रमाणित ।”
चारैतिरका मानिस खुसी देखिए कोरोना नभएकोमा । उनीहरू बल्ल बाँचियो भनेर खुसी बाँडिरहेका थिए ।
पुछिएको आँसु
श्रीमतीले जति कर गर्दा पनि कृष्णकान्तले उनको कुरा मानेको थिएन । आफ्नै जिद्दीमा भारततिर कामका लागि गएको थियो । त्यहाँ पुगेपछि उसले श्रीमतीलाई आफूले स्याउ टिप्ने काम पाएको भनेर खबर गरेको थियो । त्यस यता कुनै सम्पर्क थिएन ।
कोरोना सुरु भएसँगै राधा र उनका छोराछोरी चुपचाप–चुपचाप घरमा बसिरहेका हुन्थे । कृष्णकान्तको साथीले उसको कोरोना लागेर मृत्यु भएको, लास नेपाल ल्याउन नदिएपछि त्यहीँ दाहसंस्कार गरिएको बतायो ।
यो खबरसँगै राधा बेहोस भइन् । एकछिनमा उनको होस आयो । होस आएसँगै उनी रुनकराउन थालिन् ।
“आमा ! के भयो हजुरलाई ?” बाह्र वर्षको ठूलो छोराले भन्यो ।
“तिम्रो बुवा कोरोनाले गर्दा उतै बित्नुभयो । अब म कहाँ जाउँ अनि के गरुँ ?” उनी झन रुन थालिन्् ।
“नरुनुहोस् आमा ! बुवा बिते पनि हामी छौँ, तपाईँका हामी छौँ । तपाईँलाई हामी हेरौँला ।” ठूलो छोराले आमाको आँसु पुछ्दै भन्यो । ससाना केटाकेटी सुँक्कसुँक्क गर्न थाले । उनले आफ्ना छोराछोरीलाई अँगालोमा टाँस्दै भनिन्, “म तिमीहरूलाई टुहुरो हुन दिने छैन ।”
उनमा जीवनप्रतिको आशा बाँकी नै थियो ।
आत्मविश्वास
भिजिट नेपाल २०२० को प्रारम्भसँगै नयाँ उत्साह पलाएको थियो उसमा ।
“अब व्यवसायलाई नयाँ किसिमले सञ्चालन गर्नुपर्छ ।” यही उत्साहमा उसले पर्यटकीय क्षेत्रमा नयाँ होटल खोल्यो । विदेशी पर्यटकलाई लक्षित गरेर नयाँनयाँ संरचना बनायो ।
पर्यटन व्यवयासलाई फलाउन, फुलाउन र स्वदेशी श्रम र पूँजीलाई देशमै लगाउन के गर्नुपर्छ, ऊ विभिन्न सभासम्मेलन एवम् कार्यक्रममा सहभागी भयो ।
“भिजिट नेपाल २०२०” ले नेपाललाई विश्वमा चिनाउन ठूलो मद्दत गर्नेछ । ऊ आफ्ना साथीहरू सँग छलफलमा सहभागी भयो ।
एकाएक कोरोनाको हल्ला चलेपछि उसको मनमा चिसो पस्यो ।
“केही हुँदैन, केही समयमा अवस्था सामान्य हुन्छ ।” ऊ आफ्ना कामदार र अन्य कर्मचारीलाई सान्त्वना दिन लाग्यो ।
भिजिट नेपाल कार्यक्रम स्थगित भयो । लकडाउन भयो । कफ्र्यू लाग्यो । व्यवसाय बन्द भयो । बैंकको व्याज बढ्दै गयो ।
ऊ अझै भनिरहेछ, “केही हुँदैन, केही समयमा अवस्था सामान्य हुन्छ ।”
एक दिन उसकी श्रीमतीले भनिन्, “यत्रो महामारी फैलिसक्यो । तपाईँको बोली एकनास छ ।”
उसले श्रीमतीतर्फ हेरेर भन्यो, “जे जस्तो अवस्था छ, सबलाई
थाहा छ । अहिलेको समय जसरी पनि बाँच्ने हो । यो घरसम्पत्ति, घरपरिवार बाँचे न काम लाग्ने हो । बाँच्नका लागि आशा चाहियो । मानिसलाई निराश बनाएर जिउँदै मार्न त भएन ।”
“यो काम तपाईँले नै गर्नुपर्छ भन्ने के छ ?” उनले जिज्ञासा राखिन् ।
“मैले मात्र किन ? सबले गर्नुपर्छ ।” यसपल्ट भने उसमा गजबको आत्मविश्वास देखियो ।
बिमार
उर्मिलाको स्वास्थ्य समयसमयमा बिग्रिरहन्थ्यो । कतिबेला अस्पताल जानुपर्ने हो, थाहा नै हुन्थेन । श्रीमान्ले जसोतसो हेरविचार गरिरहेका थिए ।
“कोरोनाका कारण सब मानिस काठमाडौँ छोडेर घर आए । तिमीहरू किन आएनौँ ?”–दिदीको फोन आयो ।
“श्रीमानको काम थियो ।” जवाफ दिइन् ।
“हामी अघिल्लो हप्ता घर आयौँ । तपाईँहरूले भनेको भए सँगै घर आउँथ्यौ नि !” बहिनीको फोन आयो ।
“घर गइसकेपछि भन्नुको कुनै अर्थ छ र ? पहिले जानकारी किन नदिएको ?” प्रत्युत्तर फर्काइन् ।
“यहाँ त भारतबाट आएका सैयौँ मानिसमा कोरोना देखिएको छ । अस्पतालमा ठाउँ नभएर गाह्रो भइरहेको छ । बचेर रहनु है ।” आमाले सर्तक गराइन् ।
“काठमाडौँमा त अहिले धेरै कोरोना बढेछ नि । तिमीहरू भएको ठाउँमा पनि धेरै मानिसलाई कोरोना लागेछ । तिमीहरूको के छ खबर ?” दाजुले बाठो हुँदै फोन गरे ।
“हैन छोरी, महामारी कति साह्रो फैलिएको, त्यता कस्तो छ, यहाँ त घरबाट निस्कन गाह्रो छ ।” बाबुले पनि फोन गरे ।
घरबाट आउने हरेक फोनमा कोरोनाको त्रास मात्र झल्किन्थ्यो । उर्मिलाले मुखले केही नभने पनि उनको मनमा कोरोनाको त्रास बढिरहेको थियो ।
वर्षातको बेला पानी परेको अवस्था थियो । अचानक उर्मिलालाई रुघाखोकी लाग्यो । उनले श्रीमान््लाई भनिन्, “मलाई त रुघाखोकी लागिरहेछ । एकछिन छाती पनि दुखेको थियो । चेकजाँच गराउनुपर्छ के हो ? घरतिर पनि सबले कोरोनाकै कुरा गर्छन् ।”
चेकजाँच गरियो । रिपोर्ट पनि आयो । रिपोर्टमा कोरोना नभएको पुष्टि भयो ।
“हैन, मानिसहरूको काम छैन के हो ? अरुलाई मानसिक त्रास मात्र बाँडछ्न ?” श्रीमान्ले यसो भन्दा उनले आफ्ना निकटस्थ फोनकर्ताहरूलाई सम्झिन् ।
“मेरो त शरीर मात्र कमजोर थियो, अहिले त सारा मानिसको दिमाग पनि के भएको हो, कुन्नि ? कसैको दिमागले काम गर्दैन, के हो, के हो ?” घर पुगिसकेपछि उनी एक्लै फतफताइन् ।
श्रेय
कोरोनका कारण मानिस बेरोजगार भएका थिए । तल्लो तहका श्रमिकको अवस्था झन कमजोर थियो । गाउँको स्थानीय क्लबले घरघरबाट रासन, अन्न, नगद आदि उठाएर विपन्न नागरिकका लागि भोजनको व्यवस्था ग¥यो ।
उनीहरू आउँथे, खान्थे अनि जान्थे ।
कार्यक्रम स्थलको नजिकै गाउँकै स्थानीय नेताजी मानिसहरूलाई नमस्कार गर्दै भनिरहेको थिए, “जाउँ हजुर जाऊँ, यहाँहरूकै लागि भोजनको व्यवस्था गरिएको छ । मज्जाले पेटभर खाउँ ।”
उनीसँग उनका केही समर्थक पनि यस हातजोडो अभियानमा संलग्न थिए ।
साँझ पर्नुभन्दा केही अघि उनको एक समर्थकले नेताजीले हात जोडेको फोटो राखेर फेसबुकमा एक स्टाटस हाले, “हाम्रा परमदानी, अनाथहरूका पालनकर्ता, दयाका सागर महान् नेताजीबाट विपन्न नागरिकका लागि कोरोनाकालमा भोजनको व्यवस्था ।”
नेताजी त्यही विषयमा एक स्थानीय टेलिभिजनमा अन्तर्वार्ता दिइरहेका छन्, “जनतामाथि यस्तो विपत परेको बेला हामीले सहयोग नगरे कसले गर्ने ? म मेरो क्षेत्रका जनताको जीवनप्रति अत्यन्त सचेत छु । जनता जिउँदा ईश्वर हुन् । जनताको सेवा नै धर्म हो ।”
आफ्नो जनसेवा कार्यसँग कुनै साइनो नभएका राजनीतिक नेताले आफ्नो स्वार्थका लागि कुप्रचार गरेपछि आयोजक संस्थाका मानिस अन्त्यन्त रिसाए ।
आयोजक संस्थाले वितरण गरेको विज्ञप्ति यस्तो थियो, “हामीले हाम्रो गाउँको स्थानीय क्लबमार्फत गरेको विपन्न नागरिकलाई भोजन कार्यक्रममा कुनै राजनीतिक समूह वा तिनका नेता, कार्यकर्ताको कुनै संलग्नता एवम् योगदान छैन । यो विशुद्ध सामाजिक अभियान हो । स्थानीय समाजमा रहेका विपन्न नागरिकप्रति मानवीयताको नाताले यो कार्यक्रम गरिएको हो ।”
खबरसँगै मानिसहरुबाट मिश्रित प्रतिक्रिया आउन थाल्यो ।
डर
लकडाउनको बेला थियो । सारा मानिस घरभित्र बसिरहेका थिए
“साग लिनुहोस् हजुर, साग ।” दिउँसोको बेला एक महिला डोकामा साग बोकेर कराइरहेको सुनियो ।
मैले श्रीमतीलाई सोधेँ, “साग किनौँ ?”
“हैन, हैन, यस्तो बेलामा साग राख्नु हुँदैन । रोग स¥यो भने के गर्ने ? यो टोलका कसैले पनि साग लिएका छैनन् ?” उनले मलाई रोक्दै भनिन् ।
मैले आँगनमा गएर हेरेँ, साग बेच्ने महिला साग नबेचिएर फर्किरहेकी छिन् ।
“तरकारी, फलफूलबाट कोरोना सर्दैन । बजारबाट ल्याएपछि तातो पानीमा केही समय राखेर खाँदा केही फरक पर्दैन ।” सञ्चार माध्यमबाट यस्ता कुरा प्रसारण हुन थाल्यो ।
एकदिन मैले देखेँ, श्रीमती साग ल्याउने महिलालाई सोधिरहेकी थिइन्, “साग छ ?”
“पहिला कसैले नलिने भएकोले आजभोलि कम ल्याउन गरेकी थिएँ । केही दिन भयो, मानिसले साग धेरै खोजिरहेका छन् । म भोलि ल्याइदिउँला हजुर ।” यति भनेर ती महिला हिँडिन् ।
मैले श्रीमतीलाई सोधेँ, “पहिले मलाई साग किन्न रोक्ने मानिस आज आफै साग खोजिरहेकी छयौ ?”
“अब साग खाँदा रोग सर्दैन भन्ने थाहा भइसक्यो, त्यसैले ।” उनले निर्धक्क भएर भनिन् ।
तिजकोे रहर....
तिज आउनुभन्दा एक महिनादेखि त्यसको तयारीमा रहन्थिन् शर्मिला । यसपालि पनि उनमा कुनै उत्साह देखिँदैनथ्यो ।
“हैन, तिमीलाई आजभोलि के भएको छ ?” एकदिन उनका श्रीमान् किरणले सोधिहाले ।
“मलाई के भएको छ र ? ठिकै त छु ।” शर्मिलाले सहज हिसाबले उत्तर दिइन् ।
“पहिले पहिले त एक महिना अघिदेखि तिजको तयारीमा हुन्थ्यौ तर यसपालि......” श्रीमानले जिज्ञासा राखे ।
“पहिले सामान्य अवस्था थियो अहिले असमान्य.....। मानिसले परिस्थिति हेरेर चल्नुपर्छ ।” शर्मिला गम्भिर बनिन् ।
उनीहरू बिचको संवाद यतिमै सिमित भयो । तिजको एक दुई दिनअघि शर्मिलाका साथीहरूको फोन आउन थाल्यो । उनले यसपालि आफू तिजमा सहभागी नहुने कुरा गरिन् ।
“आ, जोसुकैले जे गरोस्, म त तिजमा भाग लिने ।”– एक नारी स्वर ।
“म पनि ।”–अर्को नारी स्वर ।
“म पनि ।”–झन् अर्को नारी स्वर ।
रहर ठूलो बन्यो, परिस्थिति गौण बन्यो ।
तिजमा ठूलै चहलपहल थियो, नाचगान, पार्टी अनि धुमधडाका थियो ।
“त्यो शर्मिला हेर न ! कति ठूली भएकी, तिजमा नआउने ?”
“त्यही त भनेको ? बिचरीसँग देखाउन लायक कपडा अनि गहना नहोलान् ? त्यसको बुढो पनि निन्याउरो भएर हिँड्छ, व्यापारमा टाटपल्टियो के हो ?”
“हा हा हा । कस्ती कन्जुस, मख्खीचुस रैछे ।” कुरा काट्ने क्रम जारी थियो ।
एकदिन शर्मिला सामाजिक सञ्जालमा थिइन् । एउटा खबरले उनलाई तान्यो । त्यसमा लेखिएको थियो, “अहिलेको महामारीबाट म पनि बच्न सकिनँ । मसँग सम्पर्कमा रहेका साथीहरूले कोरोना जाँच गराउनु होला ।” यो सन्देश उनकै तिजप्रेमी साथीको थियो ।
त्यतिबेला उनले प्रष्ट सुनिन्, पल्लो कोठामा उनकी छोरी गीत गुनगुनाइरहेकी थिइन्, “रहर मात्र होइन जीवन....।”
खै कोरोना ?
कोरोनाका संक्रमण जारी थियो । खबरमा, पत्रिकामा, रेडियो, टेलिभिजनमा कोरोनाकै खबर थियो ।
गजबबहादुर धेरै मानिस रहेको ठाउँमा गएर करायो, “खै कोरोना ? मलाई त कोरोना कतै देखा परेन । बजार जाउ, बजारमा सब हिँडेकै छन् । भीड गरेकै छन् । स्कुल खुलेकै छन् । सार्वजनिक समारोह भएकै छ । म त कहिँ द्ेख्दैन ।”
“तपाईँ समाचार सुन्नुहुन्न जस्तो छ ?” त्यहीँ भएको एक जनाले भन्यो ।
“सब वाहियात हो । यसमा देशी, विदेशी षडयन्त्र छ । कोरोनाका नाममा रकम कुम्ल्याउन, जनता ठग्न अनेक षड्यन्त्र छ । म त यसमा साम्र्राज्यवादीको हात रहेको ठोकुवा गर्छु ।” ऊ उपदेशक बनिरहेको थियो ।
एकछिनमा उसले दाह्रा किट््यो, मुख बङ्ग्यायो र भन्न थाल्यो, “कस्ता कस्ता कहाँ गए, मुसाका चेला दरबार ! यो कोरोना के हो र ? देखाइदिन्छु म ।”
ऊ जान नहुने ठाउँमा गयो, खान नहुने चिज खायो, गर्न नहुने चिज ग¥यो । स्वास्थ्यप्रति लापरवाह बन्यो ।
“कता हो तपाईँ, कुन दुलामा लुक्नु भएको छ ? आउनुस्, केही रमाइलो गरौं । हाम्रा बाँच्ने रहर कति खुम्च्याउनु ।” ऊ साथीहरूलाई फोन गरिरहन्थ्यो ।
अहँ, कोही आउँदैनथे ।
“सब डरपोक, कायर र डरछेरुवा पो रहेछन् ।”
साँझपख एक साथीले भन्यो, “गजबबहादुर त गएछ नि ?”
मैले सोधेँ, “कता ?”
“कोरोनाका कारण उसको मृत्यु भयो । उसको घरका दुई जना आइसीयूमा छन्् । पुरै परिवार कोरोनाले ग्रस्त छ ।” साथीले वस्तुस्थिति जाहेर ग¥यो ।
मलाई पीडा अनुभव भयो । पुरानो साथी कति चाँडै संसार छोडेछ । मेरो स्मृतिमा उसले भनेका कुरा लहरै आउन थाले ।
पत्रकारको खेती
कोरोनाका कारण लकडाउन गरिएको थियो । हामी चोकमा बसेर सवारीसाधन जाँच गरिरहेका थियौँ, अचानक मोटरसाइकल र मोटरको भीड आइरहेको देखियो । सिट्टी बजाएर रोक्यौँ ।
“यस्तो लकडाउनको बेला तपाईँहरू यसरी कता जान लागेको ?” मैले त्यहाँ रहेका दुई चार जनालाई सोधेँ ।
“म पत्रकार हुँ, म बिरामी भेट््न अस्पताल जान लागेको ?” एउटाले भन्यो ।
“म पत्रकार हुँ, म जरुरी काम परेर घर जान लगेको ?” दोस्रोले भन्यो ।
“म पत्रकार हुँ, म बिरामी भेट्न ससुराली घर जान लगेको ?” तेस्रोले भन्यो ।
यसरी आफूलाई पत्रकार भन्ने र जरुरी कामको बाहना बनाउनेको संख्या धेरै देखिएको छ । दिनभरिमा पचास जनाले पत्रकारको कार्ड देखाइसके ।
“हैन, यो पत्रकारको खेती कहाँ हुँदैछ ? ” सँगै रहेको साथीले गुनासो ग¥यो ।
“पत्रकारको खेती ??” मलाई यो शब्द सुनेर अचम्म लाग्यो ।
“जसको हातमा पनि पत्रकारको कार्ड छ । सक्कली, नक्कली छुट्याउन गाह्रो भइसक्यो । कार्ड उस्तैउस्तै देखिन्छन् । मानिस हेर्दा पत्रकारजस्तो लाग्दैन, कार्ड पत्रकारको भिरेको छ, केही भइरहेछ, म त केही भन्न सक्ने अवस्थामा
छैन ।” मजस्तै ट्राफिक साथी चिन्तित देखियो ।
“त्यही त भनेको, मलाई पनि त्यस्ता कार्ड बोकेका मानिसको भीड थाम्न गाह्रो भइसक्यो ।” मैले पनि आफ्नो पीडा पोखेँ ।
दिउँसोको ड्युटी सकेर कोठामा के फर्केको थिएँ, टेलिभिजनमा आइरेको एक समाचारमा आँखा र कान दुवै सोझिए ।
“पत्रकारको कार्ड बनाएर बेच्ने गिरोह ग्राहकसितै पक्राउ ।”
सापटी
कसैले बोलेको सुनेर आँगनमा आएँ ।
मास्क लगाएको अनुहार एकछिन त चिन्न सकेन । टोपी देखेर बल्ल चिनेँ, “हैन हो दाजु ! आज एकाबिहानै कता पाल्नुभयो ?”
“यसो भाइसँग भेटेर केही कुरा गरौँ कि भनेर ?” श्यामकाजीले भेट्न आएको त बताए तर प्रयोजन बताएनन् । पहिले कहिल्यै घरमा नआउने, खासै वास्ता नगर्ने मानिस आज घरमा आएका छन् । केही गम्भीर कुरा हुनुपर्छ भन्ने सोचेर मैले उनलाई बैठक कक्षमा लगेँ ।
“हेर न भाइ ! मेरो त रोजगारी भनेकै घरभाडा हो । पाँच तलाको घर रित्तै छ । कोरोनाको हल्ला चलेदेखि सारा घरभरिका भाडामा बस्ने जति घर गए । मलाई केही दिनका लागि दश हजार दिनुप¥यो । म सकेसम्म छिट्टै फर्काउँला ।” उनले आफ्नो उद्देश्य प्रकट गरे ।
म सामान्य व्यापार गर्ने मान्छे, अवस्था मेरो पनि ठिक थिएन । तर यस्तो अवस्थामा घर आएपछि दिनैप¥यो ।
मैले उनलाई पैसा दिएर पठाएँ ।
आजभोलि उनीसँग भेट भएको छैन, कुनै न कुनै दिन त होला नि !
महान् दाता
“म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहत स्वरूप रासन दिनसक्छु ।” समाजिक सञ्जालमा यो सूचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो ।
सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो । महामारीका बेला बन्द कोठामा निस्सासिएको मलाई यो खबरले उत्साही तुल्यायो ।
कोठामा भएको रासन सकिन लागेको थियो । काम गरेको ठाउँबाट केही पनि पाइएको थिएन ।
सूचनामा दिइएको नम्बरमा फोन गरेँ । धेरैपछि मात्र फोन उठ्यो ।
“को हो फोन गर्ने ? यस्तो महामारीका बेला फोन आयो कि मलाई त रिस मात्र उठछ ।” उसले चिच्याउँदै भन्यो ।
”म सुवास खनाल, तपाईँ हामी पहिले सँगै पढेको हौँ । फेसबुककमा तपाईँले लेखेको कुुरा देखेर फोन गरेको ।” मैले डराएर भनेँ ।
“ए, म त को भनेर ? यतिबेला त्यसै त डर छ, कतिबेला के हुने हो ? म त नयाँ नम्बर देखेर तर्सेको । अनि के छ त नयाँ खबर ?” उसले चिप्लो लगायो ।
“ठिकै छ, मानिस नचिन्दा त्यस्तै हो । नयाँ खबर के भन्नु ? कोरोनाले कोठाबाहिर जान पाएको छैन । केही समस्या परेर.....।” म संयमित बनँे ।
“सामाजिक सञ्जालमा राहतका अनेक घोषणा आएपछि मैले पनि आप्नोे कुरा राखेको हुँ । ख्यालख्यालमा गरेको कुरा साँचोे पो भएछ । हेर न, केही दिन अघिसम्म त राम्रै थियो, अहिले त म पनि संकटमा छु । जे भए पनि सुरक्षित रहनु, कोठामा बस्नु ।” यति भनेर मोबाइल फोन बन्द भयो । मैले पटकपटक प्रयास गरेँ, परिणाम स्विच अफ । अब मेरो दिमागमा गुञ्जिरहेछ “सुरक्षित रहनु, कोठामा बस्नु ।”
समाचार
दुई जना ठूला पत्रकार सम्पादन कक्षमा बसेर समाचार हेर्दै थिए । उनीहरू विभिन्न जिल्लाबाट आएका समाचारलाई हेरिरहेका थिए ।
“पहिला विभिन्न किसिमका समाचार आउँथे, अहिले त कोरोनाबाहेक समाचार नै आउँदैन् ।”
“त्यही त भनेको, अब संसारमा कोरोनाबाहेक अरु केही छैन के हो ?”
उनीहरू बिचमा संवाद चलिरहेको थियो । उनीहरू समाचार हेर्दै कुरा पनि गरिरहेका थिए, केही समाचार यस्ता थिए ः
“आफ्नो कार्यक्षेत्रमा रहेका प्रहरीमा कोरोना, ५० जना संक्रमित ।”
“कोरोनाले स्वास्थ्यकर्मीलाई पनि छोडेन । एकै अस्पतालका चार जना स्वास्थ्यकर्मी संक्रमित ।”
“समाचार बनाउन हिँडेका पत्रकार कोरोनाको फेलामा ।”
“राहत बाँड्न हिँडेको टोलीका पाँच जना संक्रमित ।”
“ओहो ! अब त कोही पनि बाँकी नरहने भए । यसरी महामारीको चपेटामा सबै जना पर्न थालेपछि हामी पनि के हो, के हो........?”
“अब मानिस महामारीमा पर्नु अनि संसार छोडनु एक समाचार भन्दा बढी केही रहेन । मृत्यु सस्तो भइसक्यो । मानिस अब समाचार पढेर एकछिन ‘ए’ भन्नेछन्् । अब मानिसको संवेदना हरायो । आँसु सुकिसक्यो । मानिस आफ्ना आफन्त गुमाउँदा चिच्याउनेछन्, अरूका समाचार पढेर एकछिन ‘ए’ भन्नेछन्् ।” एक पत्रकारले भन्यो ।
“हो, यो त्रासद समयको अन्त्य कहिले हुने हो, थाहा छैन । जतिसुकै पीडादायक समाचार भए पनि हामीले त छाप्नैपर्छ । थाहा छैन, यो त्रासद समयमा आफू पनि एक समाचार बनिने हो कि ??” अर्का पत्रकारको चिन्तासँगै त्यहाँ शून्यताको समय प्रारम्भ भयो ।
बन्धन
कोरोनाकाल थियो । घरबाट बाहिर निस्कन बन्देज लगाइएको थियो । बिहान–साँझ केही समय सामान किन्नका लागि छुट दिइएको थियो ।
“यो बन्धनमा कति बाँच्ने ? यसो घुम्न जाउँ ।” सौरभ र उसका साथीहरू बिना मास्क दिउँसै घुमिरहन्थे । अचानक उनीहरू प्रहरीको फन्दामा
परे । एक हुल प्रहरीले उनीहरूलाई रोकेर केरकार गर्न थाले ।
“यसरी जथाभावी किन हिँडेको ?” एक प्रहरीले भने ।
“कोठामा बस्दाबस्दा बोर लागेर ।”
“अनि मास्क खै ?”
“घाम लागेर फुकालेको हो ।”
“यसरी जथाभावी नघुम्नु । मास्क लगाएर मात्र घरबाहिर निस्कनु । मलाई के हुन्छ र भनेर बेवास्ता गर्ने हो भने आफू मात्र होइन, घरपरिवार र अरूको ज्यान पनि जोखिममा पर्छ...आज पहिलो दिन भनेर छोडिदिएका छौँ ।” प्रहरी अधिकृतको कठोर आवाजसँगै उनीहरू त्यहाँबाट लुसुक्क निस्के ।
केही पर पुगेपछि अतुलले भने, “यो प्रहरीले किन यसरी हप्काउँछ ?”
“यो उनीहरूको डयुटी हो ।” प्रतीकले भने ।
“यसरी हप्काएको मलाई त मन परेन । आखिर हामीले के गरेका छौं र हामीलाई हप्काउनलाई ?” अतुलले आफ्नो असन्तुष्टि पोखे ।
“समय नै यस्तै छ । के गरुन्् त बिचराहरू । आफ्नो जिम्मेवारी निभाउनै प¥यो । घामघाममा बसेर मानिसलाई सम्झाउन उनीहरूलाई पनि के रहर होला र ? मानिसहरूलाई सकेसम्म रोग नलागोस् भन्ने चाहना उनीहरूमा पनि होला ।” सौरभले भने ।
“यति कुरा त थाहा रहेछ अनि यसरी किन दिउँसै घुमिरहेको त ?” अतुलले भने ।
“बन्द कोठामा बस्दाबस्दा बन्धनजस्तो अनुभव भयो त्यसैले बाहिर घुम्न निस्केको । बाहिर निस्कँदा मास्क लगाउनु पर्छ भन्ने पनि थाहा छ तर सबै कुरा थाहा पाएर पनि हामी पालन गर्दैनौँ । कोही न कोही त सचेत गराउने पनि चाहियो ।” सौरभले भने ।
“त्यसो भए उनीहरूको हप्काइमा पनि हाम्रो भलो लुकेको रहेछ । अबदेखि जथाभावी नघुमौँ है साथी हो । बन्धनभित्र पनि कोरोना मुक्ति रहेछ ।” अतुलले कुरा बुझे जसरी भने ।
रोग या भोक ?
कोरोनाको आतंक निरन्तर गतिमा थियो । मानिसहरूको गति रोकिएको थियो । म पनि कोठामा बन्दी सरह जीवन बिताइरहेको थिएँ । लाग्थ्यो, कोठाबाट निस्किने बित्तिकै कोरोनाले समाउँछ ।
हामी सारा परिवार बिना काम घरमा कैैद थियौँ । छिेमकमा घर बन्ने क्रम जारी थियो । कोठामा बस्दाबस्दा दिक्क लागेर घर बनिरहेको ठाउँमा पुगेँ । कामदार खाना खाएर विश्राम गरेको समय परेछ ।
“चारैतिर कोरोना भनेर मानिस घरमा बसेका छ । तपाईँहरू लगातार काम गरिरहनु भएको छ । कोरोनाको डर लाग्दैन ?” मैले ती कामदारहरूलाई सोधेँ ।
“डर कसलाई नलाग्ला ? सबैलाई लाग्छ । तपाईँहरूलाई बाँच्नका लागि दुःख गर्नुपर्दैन । केही महिना काम नगरे पनि खान पुग्छ । हामीले आज काम नगरे भोलि खान पुग्दैन । हाम्रा लागि रोगभन्दा ठूलो शत्रु भोक हो । भोकलाई जति गरेर जित्न सकिँदैन ।” एक कामदारले भन्यो ।
“कोरोना लागेर मरियो भने ? यतिको जोखिम मोलेर काम गरिरहनु भएको छ ?” मैले पुनः प्र्रश्न गरेँ ।
“अहिले पो कहाँ बाँचेका छौँ र ? जिउँदै मरे सरह त छौँ । यो महामारीमा राज्य, सरकार, समाज कसले हामीलाई हेरेको छ र ? डराएर, लुकेर बाँच्नुभन्दा मैदानमा भिडेर, सङ्घर्ष गरेर बाँचेका छौँ । बाँचियो, सारा संसार हाम्र्रै हो । मरेपछि के हो के हो...।” ऊ बोल्दै गयो, म खुम्चिँदै गएँ ।
मैले एक विज्ञापन सम्झेँ, “डरको अगाडि जीत छ ।”
जीवनसँग साक्षात्कार
उसलाई आज केही सञ्चो अनुभव भएको छ । यस बीचमा उसले केही अनुहार मात्र देख्न पायो । जीवनमा यति धेरै स्वास्थ्यकमी उसले पहिलो पटक देख्न पाएको थियो । केही दिनअघि एकजना नर्स आफ्नो वरपर आएर स्वास्थ्य सामग्रीको व्यवस्थापनमा खटने गर्थिन्् । हिजोआज उनलाई देखेको थिएन ।
साँच्चै भन्ने हो भने उसलाई खासै होस थिएन । कहिले होसमा हुन्थ्यो, कहिले बेहोस । अक्सिजनको मात्रा तलमाथि हुने क्रमसँगै उसको स्वास्थ्यमा उतारचढाव आउँथ्यो ।
अचानक ती नर्स देखिइन् । उनकोे अनुहार पहिलेजस्तै शान्त अनि गम्भीर थियो । उनले पहिलेजस्तै स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिन् अनि गइन् ।
उनी कामको क्रममा आउनेजाने गर्थिन । उसलाई साह्रै खसखस लाग्यो अनि सोध्यो, “बहिनी ! केही दिन तपाईँलाई देखिनँ नि ?”
“म केही दिन बिमार भएँ । सञ्चो लागेपछि काममा आएकी छु ।” उनले सामान्य भावले भनिन् ।
“यसरी हामीजस्ता बिमारीको सेवा गरिरहनु भएको छ । यस्तो जटिल रोगका बिरामीको सेवा गर्दा आफूलाई पनि रोग सर्ला भन्ने लाग्दैन ?” ऊ जिज्ञासु बन्यो ।
“त्यसरी डराउने भने त काम गर्न सकिँदैन । हाम्रो काम जीवन बचाउने हो । यसका लागि सकेसम्म सर्तकतापूर्वक काम गर्दछौँ । हाम्रा लागि हाम्रो जीवनभन्दा अस्पतालमा भर्ना भएका बिरामीको जीवन रक्षा पहिलो प्राथमिकता हो ।” यति भनेर उनी अर्को कक्षमा गइन् ।
उसलाई लाग्यो, “अब बाँचिन्छ होला । जीवनसँग बल्ल साक्षात्कार भएको छ ।”
खोप केन्द्रमा मतदाता
खोप केन्द्रमा भीड छ । मानिसहरूमा उत्साह भरिएको छ ।
“खोप लगाएपछि कोरोनाबाट मुक्ति पाइएला कि ?” एक वृद्धले भने ।
“त्यही त । यही कोरोना पापीले गर्दा कतिले ज्यान गुमाउनुप¥यो । कतिका घरबार लुटिए । कहिले नसुनेको, कहिले नदेखेको । यो रोग कहाँबाट आयो होला ?” अर्का अधबैसेँ भन्दै थिए ।
मानिसहरू एकआपसमा कोरोनाकै चर्चा गरिरहेका थिए ।
एकछिन पछि एक हुल आयो । हुलमा रहेका मानिसले ठूलो बाकसभित्र लगिरेहका थिए ।
”ल खोप आयो खोप ।” मानिसहरू बीच चर्चा चल्न थाल्यो ।
लाइन मिलाउन थालियो । लाइन लगाउने एक मानिस भन्दै थिए “यो वडाको मतदाता एक लाइनमा, अरू अर्को लाइनमा लाग्नुहोला । पहिले मतदाता पछि मात्र अरुको पालो आउँछ ।”
“अहिले चुनाव आएजस्तो गर्नुभयोे त ?”
“चुनाव त आउँदै छ । स्थानीय चुनाव । आफ्ना मतदाताको ख्याल राखिएन भने भोलिको चुनाव के होला ?” उनी भन्दै गए ।
“को हुन् यिनी ?” एक मानिसले जिज्ञासा राख्यो ।
“हाम्रै वडाका वडाध्यक्ष हुन् ।” स्थानीय महिलाले भनिन् ।
“सरकारले त सबै नागरिकलाई खोप लगाउने भनेको छ । यहाँ मात्र मतदाता पहिले ? कस्तो अनौठो ।” एक युवक बोले ।
“सरकारले त सबैलाई खोप दिने भनेको हो । अब चुनाव नजिक भएपछि वडामा खोप आएको बेला आफ्ना मतदाना रिझाउनु परेन त ? कस्तो कुरा नबुझेको भाइले पनि ?” एक राजनीतिक कार्यकर्ता रिसाउन थाले ।
“यहाँ हामीलाई मर्नु बाँच्नुको चिन्ता छ । नेता–कार्यकर्तालाई भने मानिसको ज्यान होइन, चुनावकै चिन्ता ?” एक बुज्रुकले चिन्ता व्यक्त गरे ।
हिसाबकिताब
धर्मलाल हिसाबकिताबमा व्यस्त छन् । पहिलेपहिले जब उनी नाफाको हिसाब निकाल्थे, उनको अनुहारको चमक बेग्लै हुन्थ्यो । आजभोलि उनको अनुहारमा चमक छैन, उनको अनुहारबाट पीडा टप्किरहन्छ ।
धर्मलाल एकाबिहानैदेखि जोडघटाउमा व्यस्त छन्् । हिसाब गर्दागर्दै उनी पीडाले रन्थनिन्छन्् ।
“अरे बाफरे बाफ ! यति धेरै नोक्सान । बर्बादै हुन थाल्यो ।” धर्मलाल यसरी चिच्याए कि पल्लो कोठामा बसेकी श्रीमतीले दौडेर आउनुप¥यो ।
“कति नाफानोक्सान गरिरहनुहुन्छ । कहिले त शान्तिसँग बस्नुस् ।” श्रीमतीले दिक्क भएर भनिन् ।
“म त सधैँ नाफामा चलेको मान्छे, नोक्सान सहन सक्दैन ।” उनले आफ्नो अनुभव सुनाए ।
लकडाउन खुकुलो हुने र केही समयका लागि व्यापारव्यवसाय खुल्ला गर्ने निर्णयसँगै उनी अत्यन्त खुसी भए ।
उनले बिहानै उठेर नित्यकर्म सके अनि लागे कारोबार स्थलमा ।
“राम राम ! काका । धेरै दिनमा भेट भयो त ?” त्यहीँकै एक व्यापारीले अभिवादन गर्दै भन्यो ।
वृद्ध धर्मलालले खुसी हुँदै जवाफ दिए, “राम राम ! घरमा बस्दाबस्दा निस्सासिएला जस्तो भएको । अब यसरी भेटघाट त हुने भयो ।”
धेरै दिनपछि पसल खुलेका छन् । मानिसको भीड बढेको छ ।
“ए भाइ ! तिमी मास्क लगाएर आऊ ।” उनले एक जना अल्लारे केटालाई पसलबाटै फर्काए ।
“ए नानी ! धेरै भीड नगर है ! अलि टाढा–टाढा बस् ।” उनले एक महिलालाई भीडभाड नगर्न सम्झाए ।
उनले अरूलाई सम्झाउने गरे पनि आफू कहिलेकाहीँ मास्क फुकालेर राख्ने अनि धेरै बेरसम्म मुखमा लाउन भुल्न लागे । उनको छाती दुख्यो । उनलाई तत्काल अस्पताल पु¥याइयो । भोलिपल्ट समाचार आयो, “मुख्य बजारका एक व्यापारीलाई कोरोना पुष्टि ।”
रोग ठिक भएपछि घरमा छोराले सोध्यो, “अब कस्तो छ बा ?”
“पैसाको हिसाबकिताब जति सजिलो रहेछ, जिन्दगीको हिसाब गाह्रो रहेछ, मैले जानिनँ बाबु ! जानिनँ ।” उनी बालक जसरी जोरजोरले रोइरहेका थिए ।
राहत वितरण
डेरामा एक्लै बस्दाबस्दा बोर भयो । एक पुस्तक पढेर आधा मात्र पु¥याएको थिएँ । बाहिर मानिस कराएको आवाज सुनेँ । सडक किनारको घर भएपछि यस्तै हो भन्ने ठानेँ ।
“राहत वितरण हुँदैछ ।” कसैले कराएको सुनेँ । कोठाबाहिर आएर हेर्दा पल्लो घरमा बस्ने मजस्तै डेरावाल हस्याङफस्याङ दौडिरहेको देखेँ ।
“कस्तो दौड हो भाइ ।” मैले सोधेँ ।
“पर विद्यालयमा राहत वितरण भइरहेको छ रे । मैले केही बेरअघि थाहा पाएको ।” उसले यथार्थ बतायो ।
“त्यसो भए म पनि आउँछु ।” म पनि ऊसँग गएँ । हामी दुई त्यहाँ पुग्दा ठूलो भीड जम्मा भइरहेको थियो । मैले त्यहाँ आफ्नो डेरा वरपरका घरमालिक, व्यापारी, जग्गा दलालको भीड देखेँ । फाटफुट डेरावाल एवम् विद्यार्थी थिए ।
हामीलाई देख्ने बित्तिकै म बस्ने टोलको एक मानिसले सोध्यो, “आज कता हो भाइ ?” उसलाई सबै कुरा थाहा थियो तर पनि सोधिरहेको थियो ।
“राहत वितरण हुँदैछ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए ।
“तपाईँ यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।
“म यस टोलमा बसेको दश वर्ष भयो । अझै यहाँको हुन नसकेको रहेछु ।” मनमा यस्तै विचार आयो ।
“तपाईँहरूको नागरिकता देखाउनुस् त ?” हामी लाइन लागेर राहत वितरण हुने स्थानमा पुग्दा वितरकमध्येको एकले भन्यो ।
“मेरो नागरिकता यता छैन, घरमै छ ।” मसँगको साथीले भन्यो ।
“त्यसो भए उतै गएर राहत लिने !” उसले थर्काउँदै भन्यो ।
मैले डराईडराई नागरिकता देखाएँ ।
“तपाईँको त सुनसरीको नागरिकता रहेछ । हामीले त यताको नागरिकता हुनेलाई मात्र बाँड्ने हो ।” उसले नागरिकता फिर्ता दिँदै भन्यो ।
हामी चुपचाप त्यहाँबाट हिँड््यौ । राजधानीमा महल भएका, स्थानीय व्यापारी, जग्गा दलाल राहत पाउन तँछाडमछाड गरेर नागरिक हुनुको परिचय दिइरहेका थिए ।
मानवताको भूगोल
ऊ राजधानी बसेको पनि दश वर्ष जति भइसकेको छ । हिजोको दिनमा विद्यार्थी थियो अब बोर्डिङग स्कुलको शिक्षक । ऊ बसेको घरमा देशका विभिन्न ठाउँबाट आएर बसेका मानिस छन् ।
कोही विद्यार्थी, ससाना पदका कर्मचारी, मजदुर आदि ।
लकडाउनमा समाचार सुन्नु, जसोतसो गाँस टार्नु र घरमा भएका अरू डेरावालसँगको वार्तालाप दिनचर्या बनेको छ ।
त्यहाँ बस्ने मानिसले कतै न कतैबाट राहत स्वरूप खाद्य सामग्री ल्याएकै छन् ।
“आज हाम्रो जिल्लाको सभासदको रोहबरमा राहत सामग्री वितरण गरियो । हामीले पनि राहत ल्यायौँ ।” एक विद्यार्थी बोल्यो ।
“आज हाम्रो प्रदेशका मानिसलाई त्यहाँको सम्पर्क मञ्चले राहत वितरण ग¥यो ।” अर्को तल्लामा बस्ने विद्यार्थी बोल्यो ।
“आज त्रिभुवन विश्वविद्यालयमा राहत वितरण भयो ।” अर्को विद्यार्थीले पनि राहत सामग्र्री पाएको सगर्व घोषणा ग¥यो ।
“आज हाम्रो निर्माण कम्पनीले सबै मजदुुर बोलाएर राहत वितरण ग¥यो ।” त्यसै घरमा बस्ने एक मजदुरले पनि आफूले राहत पाएको विस्तार लगायो ।
लकडाउन जारी छ । भएको रासन समाप्त हुने क्रममा छ ।
उसले आफू कार्यरत निजी विद्यालयको प्रमुखसित गुहार लगायो ।
“अहिले लामो लकडाउनका कारण हामी सब समस्यामा छौँ । जसोतसो काम चलाउनुस् सर । हामी अहिले केही गर्न सक्दैनौं । लकडाउन खुलेपछि सोचौँला ।” कृतिम सान्त्वनाले टोलाएको थियो ऊ ।
“दाजुले मैले गर्नसक्ने केही छ कि ? यस्तो बेलामा सबैलाई समस्या हुन्छ । केही भए भन्नुस् है ।” एक दुर्गम ठाउँबाट पढ्न आएको एक विद्यार्थीले भन्दा उसका आँखा रसाए । ऊ केही बोल्न सकेन । उसका आँखाबाट बगेको आँसुले सबै कुरा बोलिरहेको थियो ।
उक्त विद्यार्थीले आफूसँग भएको राहत सामग्री दिएर भन्यो, “दाजु, यो राख्नुहोस् । केही भए म छँदैछु ।”
ऊ त्यस विद्यार्थीलाई अँगालो मारेर निकै बेर रोइरह्यो ।
आफ्नो मान्छे
रोशनलाललाई आफ्नो राजनीति चम्काउने मौका मिलेको थिएन । विगतमा भएका निर्वाचनमा उसले कुनै पनि निकायको टिकट पाउने सकेको थिए । राजनीतिक रूपमा बेरोजगार जस्तै थियो । स्थानीय सरकार आफ्नै पार्टीको थियो । उसले कोरोनाकालको यही मौकामा केही गर्नुपर्छ भन्ने ठान्यो ।
“हजुर ! बसन्ता गाउँ हाम्रो पकड भएको क्षेत्र हो । आज त्यहाँका जनता भोकभोकै मरिरहेका छन् । कृषि मजदुर र श्रमिकको बाहुल्यता छ त्यहाँ । केही न केही त गर्नुप¥यो हजुर ।” उसले गाउँपालिका अध्यक्षकहाँ गएर हात जोड्दै भन्यो ।
जसोतसो धेरै हात जोडेपछि उसले राहत सामग्री स्वरूप प्राप्त सामग्री पायो । त्यसपछि उसले सो सामग्री सिधै आफ्नो घर लगेर गयो । आधा जति आफ्नो घरमा लुकायो । एक लिष्ट तयार ग¥यो । घर नजिकको एक ठाउँमा मानिस बोलाएर राहत वितरण गर्न थाल्यो ।
”हाम्रो पार्टीले गाउँपालिका जितेको ठाउँ हो । हाम्रा मानिसलाई मात्र राहत बाँड्नुपर्छ ।” ऊ बारम्बार आफ्ना सहकर्मीलाई सम्झाइरहन्छ ।
अलिअलि राहत बाँडेको मात्र के थियो, राहत वितरण स्थलमा फरक पार्टीको नेता चमकलाल दलबदलसहित आइपुग्यो ।
“गाउँपालिकाबाट राहत ल्याएर आफ्ना मानिसलाई बाँडन थालेको सूचना पाएर आएका छौँ ? के गरेको यस्तो ? राहतको नाममा राजनीति.....?”
“त्यसो होइन भाइ ! मैले आफ्नो तर्फबाट केही गाउँले, नजिकका साथीभाइलाई राहत सहयोग गरेको हुँ ।”
“मैले सब थाहा पाइसकेको छु गाउँपालिकाको कर्मचारीबाट । धेरै चोखो बन्ने प्रयास नगर् ।” चमकलालले उसको पोल खोल्यो । ऊ मौन रह्यो ।
त्यहाँ रहेको राहत सामग्री भीडले कब्जामा लियो । चमकलालले घोषणा ग¥यो, “अब सर्वदलीय समितिले राहत वितरण गर्छ । गाउँपालिकाबाट थप राहत ल्याइन्छ । त्यतिबेलासम्म यो राहत वितरण ठप्प ।”
भीडले ताली बजायो ।
स्थानीय नागरिक अब कहिले राहत आउने भनेर प्रतीक्षा गर्न थाले । रोशनलाल भित्रभित्रै मख्ख थियो, आफूले लुकाएको राहत सामग्रीका बारेमा कसैले थाहा नपाएकोमा ।
आत्मीयजन
त्यो घरमा पहिलेदेखि नै चहलपहल भइरहन्थ्यो । दाजुभाइ, इष्टमित्र आइरहन्थे । घरका सदस्यका उमेर अनुसारका आफ्ना साथीसँगाती पनि आइरहन्थे ।
घरमा प्रायः उत्सवजस्तै माहौल सिर्जना भइरहन्थ्यो । लाग्थ्यो, मूल घरबाट टाढा घर बनाएर पनि आआफ्नो किसिमको मानिसको संगत हुँदो रहेछ ।
घरमा प्रायः पाहुना आइरहन्थे । घरमा बुढी आमा थिइन् अनि उनका छोरा बुहारी अनि नातिनातिना । कहिलेकाँही छोरीहरू अनि माइती पक्ष पनि आइरहन्थे ।
छिमेकीले हेर्दा उत्सवजस्तो लागे पनि घरका मानिसका लागि त्यो सामान्य दिन हुन्थ्यो । त्यस घरका मानिसले बोलेको चर्को आवाजले कहिलेकाहीँ घरका मानिसलाई दुःख दिन्थ्यो ।
कोरोनाको आगमनसँगै चहलपहल बन्द भयो । त्यस घरमा मानिस छन्् कि छैनन् ? थाहा पाउन पनि कठिन हुन थाल्यो ।
“आजकल अलि शान्ति भएको छ । कति दिनसम्म हो ? मानिस बोलेको आवाजले धेरै दुःख दिएको थियो ।” एक छिमेकी आफ्ना पाहुनालाई सुनाइरहेका थिए ।
लामो समयपछि मौनताको अन्त्य भयो । चाडबाडसँगै खलबल सुरु भयो । भीडभाड, आवतजावत, दसैँ, टिकाटालो ।
खबर आयो, “सबै परिवार ग्रस्त ।”
दौडधुप, भागाभागको क्रम चल्यो । अस्पताल, घर, घर अस्पताल दौड चलिरह्यो । घरका धेरै सदस्यलाई ठिक भए पनि आमालाई ठिक भएन । पुरानो रोग बढ्यो, त्यसैमा कोरोना ।
केही दिन अस्पताल बसाइपछि बुढी आमाको मृत्यु भयो । छोराछोरीले आमालाई छुन खोजे । छुन दिइएन्, उनीहरूले टाढैबाट आमाको दर्शन गरे ।
सधैँ भीडभाड, मानिसको घुँइचो अनि हाँसोमा बाँचेका उनीहरूले त्यहाँ चारैतिर हेरे, घरपरिवारका पाँच जना मात्र ।
“हैन, आमाको मृत्युको खबर कसैलाई गरेनौ के हो ?” जेठो छोराले आफ्ना नजिकका आफन्तलाई भने ।
“सबैलाई आफ्नो प्राण प्यारो छ नि भाइ !” आफन्तले भने ।
परिवारका सदस्यका आँखामा भीडभाड, उत्सव, आफन्त अनि आत्मीयजनको घुँइचो घुमिरह्यो ।
सुरक्षा
भर्खरभर्खर कोरोनाको प्रभाव देखिँदै थियो । सरकारहरू आफ्ना नागरिकलाई सचेत गराउँदै थिए ।
“घरबाहिर ननिस्कनु होला, सुरक्षित बस्नुहोला ।” सन्देशको सार थियो ।
“प्रभु सर्वशक्तिमान हुनुहुन्छ । उहाँको कृपाले हामीलाई केही हुँदैन । आउनुस्, दैनिक प्रभुको स्मरण गरौं ।” चर्चका पादरीले आफ्ना भक्तजनलाई दैनिक चर्चमा आउन सन्देश जारी गरे ।
“अल्लाह सर्वशक्तिमान हुनुहुन्छ । उहाँले हाम्रो रक्षा गर्नुहुन्छ । उहाँका सामुन्ने यस्ता सानातिना महामारीले केही गर्दैन । दैनिक अल्लाहलाई याद गरौँ ।” मौलवीले पनि आफ्ना भक्तजनलाई दैनिक मस्जिदमा आउन सन्देश जारी गरे ।
“ईश्वर महान् हुनुहुन्छ । हामीले ईश्वरभक्तिलाई कदापी बिर्सनु हुँदैन । नियमित पुजापाठ, आफ्नो कर्मकाण्ड गरौं ।” पुजारीले पनि यति आहवान गरेर आफ्नो कर्तव्य पुरा गरे ।
गिर्जाघर, मस्जिद अनि मन्दिरमा धर्मपरायण भक्तजनको भीड बढ्दै गयो । कतिपय मानिसलाई रोग पनि लाग्न लाग्यो ।
अचानक यस्तो खबर सुनियो “पादरी, मौलवी र पुजारीलाई पनि कोरोना संक्रमण । क्वारेन्टाइनमा उपचार गराउँदै ।”
संयोगले उनीहरू एउटै क्वारेन्टाइनमा रहेछन् । भेटमा उनीहरूले एक अर्कांको हालखबर बुझे ।
“के छ खबर ?” साझा प्रश्न ।
“नजरका सामुन्ने छ हजुर । जस्तो यहाँको हाल त्यस्तै हाम्रो हाल ।” साझा जवाफ ।
उनीहरूका बीच एक सामूहिक विज्ञप्ति निकाल्ने सल्लाह भयो ।
“पहिले हामीले आफ्नो धर्मप्रतिको निष्ठाका कारण एक ठाउँमा भेला हुने हाम्रो परम्परागत चलनलाई मान्यौँ । अहिले महामारीले उग्र रूप लिएकोले सबैले आआफ्नो निवासमा रहेर आफ्ना कर्म गरौं । राज्यको निर्देशन मानौँ । घरमै बसौं, सुरक्षित बसौँ ।” विज्ञप्तिको सार थियो ।
“आफूलाई मार परेपछि सबको बोली नै बदलिने रहेछ ।” यो खबर सुनेर आएका प्रतिक्रिया मध्ये एक प्रतिक्रिया यस्तो पनि थियो ।
हाम्रो मान्छे
केही मानिस थुनिएका थिए । कोरोनाका कारण बिरामीको मृत्युपछि केही मानिसले अस्पतालमा गएर स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । मानिस थुनिएको केही समय भएको थिएन, प्रहरी चौकीमा विभिन्न पार्टीका नेता एवम् सामाजिक संगठनका मानिस जम्मा भए ।
“फलानो त हाम्रो पार्टीको मानिस हो । त्यसलाई छोडिदिनुप¥यो ।” एक बोल्यो ।
“फलानो हाम्रो पार्टीको मानिस हो हजुर । त्यसलाई छोडिदिनुप¥यो ।” दोस्रो बोल्यो ।
“फलानो त हाम्रो जातीय संगठनको मानिस हो हजुर ! यो राज्यले हामीमाथि त्यसै पनि दमन गर्दछ । त्यसलाई छोडिदिनुप¥यो नत्र भने हामी यो सरकार विरुद्ध आगो बाल्छौं ।” तेस्रो बोल्यो ।
“हाम्रो मान्छे चाहिँ सोझै हो । हुलुमुलमा परेछ ।” चौथो बोल्यो ।
हुलमुलका कुरा सुनेपछि प्रहरी इन्चार्जको दिमाग तात्यो । उसले त्यहाँ भएका सबलाई तोडफोडको भिडियो देखाउँदै भन्यो, “यी हुर्नुहोस् तपाईँहरूका सोझा मानिसहरू ।”
सो दृश्यमा कोही डाक्टरलाई पिटिरहेको, कोही नर्सको कपडा लुछ्न लागेका अनि कोही अस्पतालमा भएका सामान तोडफोड गरिरहेका थिए ।
“यो देशको कानुन बनाउने नेताजीहरू ! के कानुन तपाईँका मानिसका लागि एक र अर्काका लागि अर्को हुन्छ ?” इन्चार्जले सोध्यो ।
“हुन त हुँदैन, तर डाक्टरको लापरवाहीले हाम्रो मानिसको ज्यान गएको छ ।” एक जनाले भन्यो ।
“डाक्टरको लापरवाही हो भने कारवाही गर्ने निकाय पनि होला त ? अस्पतालमा तोडफोड गर्नैपर्ने किन ?” चौकी इन्चार्ज कस्सिए ।
“तोडफोड राम्रो कुरा हैन तर हाम्रा मानिस...” एउटाले मुख खोल्यो ।
“तपाईँहरू यहाँबाट जानुहुन्छ कि थुनिदिउँ...” यो आवाजसँगै त्यहाँ भएका सब मानिस अलप भए ।
अँध्यारो समय
उनलाई अचानक सञ्चो भएन् । उपचारका लागि स्थानीय अस्पतालमा पु¥याइयो ।
“तपाईँको रोग असाध्य छ । म औषधि त लेखिदिन्छु । यसले केही दिन काम गर्छ । राम्रो ठाउँमा विशेषज्ञ डाक्टरलाई देखाउनु होला ।” डाक्टरले सल्लाह दिए ।
अचानक काठमाडौँ लगियो । निजी अस्पतालमा डाक्टरले पुरानो रिपोर्ट हेरे ।
डाक्टरले सबै रिपोर्ट हेरेर भने, “केही रोग थप भएका छन् । औषधि लेखिदिएको छु । पछि आउनुहोला ।”
घर पुगेको केही समय भएको थिएन, कोरानाको संक्रमणका कारण देशभर लकडाउन भयो । औषधि चलिरहेको थियो, सब ठिकै थियो ।
उनले काठमाडौँ जान चाहे पनि लकडाउनले गर्दा जान सम्भव भएन । डाक्टरसँग सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन । उनले श्रीमती र छोराछोरीलाई बोलाएर भने, “मलाई स्वास फेर्न गाह्रो भइरहेछ । यो अँध्यारो समय हो । मलाई केही भइहाले पनि तिमीहरू नरुनु । कोरोनाको महामारी छु, बचेर रहनु ।”
”हजुरलाई केही हुँदैन । हामी अस्पताल लगेर उपचार गराउँछौँ ।” छोराहरूले भने । र, अस्पताल पु¥याइयो ।
एक अस्पतालले भन्यो, “यस्तो बिमारीलाई आइसियुमा राख्नुपर्छ । हामीकहाँ अहिले आइसियु खाली छैन । हामी भर्ना लिन सक्दैनौँ ।” एकपछि अर्कोले यस्तै भन्दै गए ।
घरपरिवारका सदस्य अस्पतालको खोजमा दौडिरहे । बल्लबल्ल एक निजी अस्पतालमा ठाउँ मिल्यो । उनीहरू खुसी भए, “अब अस्पताल भेटियो । निको हुन्छ होला ।”
त्यस अस्पतालमा पुग्दा रातको एक बजेको थियो । आधा घण्टापछि बल्लतल्ल डाक्टर आइपुगे । डाक्टरले नाडी छाम्दै भने, “तपाईँहरूले ढिलो गर्नुभयो । उहाँ यस संसारमा हुनुहुन्न ।”
आफ्नो बिरानो
बीच बजारको चौतारामा मानिसहरूले देखे, एक वृद्धा चार, पाँच दिनदेखि बसिरहेकी छिन् । उनी अशक्त देखिन्छिन् ।
कसैले एक समाजसेवी संस्थाका मानिसलाई खबर गरे । संस्थाका मानिसले उनीसँग सोधपुछ गरे ।
“आफ्ना मानिस मधेस छन् भनेर भेट्न आएकी थिएँ । सबले रोग लाग्छ भने बस्न दिएनन्् । पहाड जाउँ भने सब गाडी बन्द भए । कहीँ ठाउँ नपाएर यस चौतारामा बसेकी छु ।” बुढी आमैले आफ्नो विवशता पोखिन् ।
समाजसेवी संस्थाका मानिसले उनलाई आफूसँग जान कर गरे ।
“मलाई बस्न दिए तपाईँहरुलाई पनि रोग सर्ला नि ।” उनले चिन्ता व्यक्त गरिन् ।
“केही सर्दैन । तपाईँको चेकजाँच गराउँला । रोग लागे पनि डाक्टर छँदै छन् । तपाईँको हामी ख्यालखबर गरौँला ।”
उनी ती मानिसहरूको पछिपछि लागिन् । त्यहाँ भएकी एक महिलाले देखिन्, उनी आँखाबाट बगेका आँसु पुछिरहेकी थिइन् । उनले भनिन् “मेरा आफ्ना सबले वास्ता गरेन । तपाईँहरूले मलाई कसरी वास्ता गर्नुभयो ?”
“यो संसारमा जो काम लाग्यो, त्यही आफ्नो हो । आफ्ना–बिराना त समयले चिनाउँछ ।” त्यहीँ रहेकी एक अर्की अधबैँसे महिलाले भन्दा उनले पनि स्वरमा स्वर मिलाइन्, “हो बा हो ! तिमीले ठिक कुरा भन्यौ ।”
आफ्नो मान्छेको खोजी
“यसपालि छोरा पनि घरमा छैन, चैत्रको महिना छोरी भेट्न जानुपर्ने, चलन त मान्नैप¥यो, के गर्ने होला ?” मानमती चिन्तामा परिन् ।
“मधेस नगएको पनि धेरै भइसक्यो । यो पालि आफै जान्छु ।” अचानक उनले अठोट गरिन् ।
उनी नयाँ लुगाकपडा लाएर छोरीका लागि कोसेली तयार गरेर चार घन्टा उकालो हिँडेर बसपार्क पुगिन् । बाटामा पल्ला गाउँका कमलकान्तसित भेट भयो ।
“बजार धेरै कम आउने मान्छे, आज त खुब ठाँटिएर आउनुभएकोछ ?” कमलकान्तले सोधिहाल्यो ।
“छोरीका घर जाँदैछु, चैतालो लिएर ।” उनले फुरुङ्ग हुँदै भनिन् ।
उनी मधेस पुगिन् । बजार हेर्दा पहिलेभन्दा धेरै राम्रो भइसकेछ । घरैघर, पसलैपसल । पहिले त छाप्रा मात्र थिए ।
भर्खरभर्खर कोरोनाको सन्त्रास फैलिएको थियो । मानिस त्रसित थिए । उनी साँझ पर्नुभन्दा पहिले छोरीको घर पुगिन् ।
“कहाँबाट आउनुभयो ?” घर नपुग्दै बाटैमा एक मानिसले सोध्यो ।
“पहाडबाट छोरी भेट्न आएकी हुँ ।” उनले पनि स्पष्टिकरण दिइन् ।
उनी त्यहाँ पुग्दासम्म छोरीका घरपरिवार एवम् टोलभरिका मानिस जम्मा भइसकेका थिए । त्यहाँ भएका मानिस उनलाई अनौठो जन्तु जस्तै ठानेर हेरिरहेका थिए ।
“यस्तो कोरोनाको महामारीको हल्ला चल्या बेला तपार्इँ यहाँ रहन सक्नुहुन्छ ।” सम्धि र त्यहाँ भएका अन्य मानिसले धम्क्याए । उनले त्यहाँ भएकी आफ्नी छोरीको मुखमा हेरिन् । छोरीको अनुहारबाट विवशता झल्किरहेको थियो ।
उनी एक आफन्तकहाँ पुगिन् । उनले तिनलाई शरण दिए । उनले सुस्केरा हाल्दै भनिन्, “कस्तो पापी समय आएछ । मान्छेले मान्छेलाई खाला जस्तो छ ।”
(सुदूरपश्चिमको महाकालीतिरको पहाडी भेगमा चैत्रका महिना माइती पक्षले छोरी भेट्न उनको घर कोसेली लिएर जाने चलन छ ।)
बेवारिस
घरमालिकले निकालेपछि उसको बास एउटा चौतारामा भयो । ऊ आफ्नो सामान लिएर चौतारामा बस्यो ।
मानिसहरू आउँथे, जान्थे, वास्ता गर्दैनथे ।
अचानक उसको वरिपरि क्यामरा लिएका मानिस आए । उनीहरूले उसलाई आफ्नो समस्या भन्न भने ।
“हजुर, आफ्नो त के कुरा गर्ने ? जिन्दगी नै दुःखमा बित्यो । केही गरेर खाउँला भनेको, कोरोनाले काम ठप्प भयो । घरभाडा तिर्न सकेन् भनेर घरमालिकले मलाई डेराबाट निकालिदियो । अब कहाँ जाने हजुर ।” ऊ जोरजोरले रोइरहेको थियो । एउटा मानिस माइक लिएर ऊसँग सोधिरहेको थियो र अर्को क्यामरा सोझ्याइरहेको थियो ।
“देशमा सरकार छ भन्छन्, सामाजिक संघसंस्था छन् रे, दुःखीगरिबलाई हेर्ने संस्था पनि थुप्रै छन् रे । मलाई भेटाइदिनुप¥यो हजुर । यो बेसहारा जीवन कसरी बाँच्नु ?” ऊ भन्दै गइरहेको थियो ।
एकैछिनमा त्यहाँ ठूलो भीड लाग्यो ।
“हजुरहरू यतिका मानिस हुनुहुन्छ । घर भएका पनि हुनुहोला । केही दिन मलाई आश्रय दिनुहुन्छ त । पछि म कमाएर तिरुँला ।” एकाएक त्यो मजदुरले भीडमा भएका मानिसलाई भन्यो ।
त्यहाँ भएका मानिस हराउँदै गए । अन्तिममा अन्तर्वार्ताकार मात्र
बाँकी रहे ।
“अनि हजुर, अब मेरो समस्या समाधान हुन्छ त ?” उसले ती अन्तर्वार्ताकारलाई सोध्यो ।
“हामी सम्बन्धित निकायमा कुरा राख्नेछौँ ।” भन्दै अन्तर्वार्ताकार र क्यामरामेन पनि त्यहाँबाट हिँडे । ऊ पुनः बेवारिस बन्यो ।
फिर्ती सवारी
“एक पटक असफल भइसकेको छु । यसपालि त कसो सफल नभइएला ?” दिनेशले मनमनै अठोट ग¥यो ।
कोरिया जान भनेर काठमाडौँमा भाषा परिक्षाको टयुसन पढ्दै आएको थियो ऊ । एक चोटि असफल भइसकेको हुनाले अर्काे पटकको तयारीमा लागिरहेको छ ।
अचानक कोरोनाको आक्रमणसँगै चारैतिर हाहाकार फैलियो । देशविदेशका सारा विद्यालय, कार्यस्थल सब बन्द भए । उसले टयुसन पढने ठाउँ पनि बन्द भयो ।
डेरामा जान्छ, सब घर जाने कुरा गर्दछन् ।
”म त हिँडे घर !” यसो भन्दै सब घर जान थाले ।
उसको साथी प्रफुल्ल कोठामा आएर भन्न थाल्यो, “अब सारा संसारको गति बन्द भइसक्यो । यहाँ बसेर केही काम छैन । घर जाउँ ?”
“म कोरिया जाने.....काम....रोजगार...पैसा !” उसले आतंकित मुद्रामा भन्यो ।
“सारा संसारमा आगो लागेको बेला के को काम ? के को रोजगार ? ज्यान जोगाउनु नै ठूलो कुरा हो ?” साथीको कुराले ऊ झस्कियो ।
घर गयो । कोरोनाका त्रासदी सुन्दै देख्दै आयो ।
“बाबु अब कहिले कोरिया जाने ?” छिमेकी जेठाबाले भन्नुभयो ।
“अब कतै नजाने ! यत्रो महामारी छ । घरपरिवार छोडेर परदेश नजाने म त । बाबुले केही जमिन बनाएकै छन् । अब यतै काम गर्छु, कोरोनाले मेरो मनै बदलियो ।” उसको यो कुरा सुन्दै गरेका बाबुआमाको मनमा उज्यालो थपिँदै गयो ।
कोरोनापीडितको घर
डाक्टर साबको दैनिकी फेरिएको छ । अब हर समय एउटै चिन्ता हुन्छ–महामारीबाट मानिसलाई कसरी बचाउने ??
अस्पतालमा दिनहुँ बिरामी थपिएका छन्, तिनको चेकजाँच गर्नुछ, रोग लागे नलागेको पत्ता लगाउनु छ, रोग लागेकालाई क्यारेन्टाइनमा पठाउनु छ, रोग नलागेकालाई घर पठाउनु छ ।
जीवनले व्यस्तताको सीमा खोजिरहेछ ।
“आफ्नो पनि ख्याल गर्नुपर्ला हजुर ! कति दौडिरहनु हुन्छ ।” श्रीमती सचेत गराइरहन्थिन् ।
“यो बेला हामीले आफ्ना लागि हैन, अरूका लागि बाँच्नुपर्छ ।” डाक्टर साहब भनिरहन्थे ।
डाक्टर साहबले आफ्नो घर वरिपर मात्र नभएर त्यस क्षेत्रका धेरै मानिसको सेवा गरेका थिए ।
अचानक डाक्टर साब बिरामी देखिए । चेकजाँचमा कोरोना पोजेटिभ देखियो ।
“ओहो ! म त अरुको ख्याल गर्दागर्दै आफै पो समस्यामा पो परेछु ।”
“लौन के गर्ने होला ? पहिला मैले भनेकै थिएँ, मान्नुभएन ।”
“चिन्ता नगरून, होम क्वारेन्टाइनमा बस्छु ।”
श्रीमान–श्रीमतीका बिचमा वार्तालाप चलिरहेको थियो । डाक्टर पत्नीेले एकाएक देखिन्, एक हुल मानिसहरू उनीहरूको घरतिर आइरहेका थिए । उनले प्रस्टै देखिन्, त्यस समूहमा टोलका मानिसहरू धेरै थियो । ती मानिस आए, कसैसँग केही नसोधी मुख्य गेटमा एक बोर्ड झुण्डाए । डाक्टर पत्नीले बोर्डमा लेखिएको अक्षर पढिन् । त्यसमा लेखिएको थियो– कोरोनापीडितको घर ।
सचेतना
उसले घरबाट निस्किँदा श्रीमती र छोराछोरीलाई सम्झाउँदै भन्यो, “कोरोनाको संक्रमण जेष्ठ नागरिकमा बढिरहेको छ । बुवालाई बाहिर निस्कन नदिनु है । तिमीहरू पनि यताउता नगर्नु ।”
“अनि आफू कता हो नि ?” श्रीमतीले सोधिहालिन् ।
“घरबाट बाहिर निस्कने बेला सोध्नुहुँदैन भन्ने थाहा छैन । कति कचकच गरेको । मेरो अलिकति काम भएर बाहिर निस्केको ।” उसले रवाफ देखाउँदै भन्यो ।
सब चुप लागे ।
घरबाट निस्केपछि ऊ स्वतन्त्र भयो । पहिले बजारमा पसलमा गएर साथीभाइसँग गफ चुट्यो ।
“तपाईँहरूको व्यापार छैन के हो ? म यहाँ बसेको तीन घण्टा
भइसक्यो । अहिलेसम्म कुनै ग्राहक देख्दैन त ?” उसले पसले साथीलाई सोध्यो ।
“आँखो देखा हाल सामुन्ने छ । अब मैले धेरै भन्नु केही छैन ।” व्यापारी साथी उदास देखियो ।
फोनको घन्टी बज्यो । उताबाट आवाज आयो, “कता हो ?”
“म बजारतिरै छु ।”
“मकहाँ आउ । केही साथीभाइ मिलेर रमाइलो गर्ने प्लान छ ।” साथीको सन्देशसँग ऊ पनि गन्तव्यस्थलमा लाग्यो ।
त्यहाँ तातोचिसोका साथै जुवाको पनि व्यवस्था थियो । सबै चिजको आनन्द लिएपछि ऊ घर फर्कियो । घर पुग्दा उसको स्वास्थ्यमा अस्वभाविक परिवर्तन आयो । अस्पताल लगेर जाँच गर्दा रिपोर्ट आयो–कोरोना पोजेटिभ ।
घर पुग्दा बुढा बाबुको आवाज उसले नचाहेर पनि सुन्नैप¥यो, “तिमीले हामीलाई त सचेत पा¥यौ तर आफ्नो चुलबुले बानी छोडेनौँ । घरपरिवारप्रतिको दायित्व र आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दैन ? मुखले भनेर मात्र हुन्छ ? व्यवहारमा पनि उतार्न जान्नुपर्छ ।”
पहिले बाबुको आवाज अप्रिय मान्थ्यो । यसपालि भने त्यो आवाज अत्यन्त मिठो लाग्यो । उसले एक सानो आज्ञाकारी बालकझैँ भन्यो, “हस् बुवा । माफ पाउँ ।”
मनस्थिति
“जीउ साह्रै दुखिरहेको छ, मालिस गरिदेउ बाबु !” साँझ सुत्ने बेलामा घरमुली बुढाले भने ।
“हुन्छ हजुरबा ।” कामदार कमलले मालिस गरिदियो ।
“मैले आफ्ना कपडा घाममा सुकाउन राखेको, उठाउनै बिर्सेछु, एकछिन ल्याइदेउ त बाबु ।” घरमुली आमैको आदेश पाएसँगै उसले कपडा बटुलेर ल्यायो ।
बिहानै उसले बुढाबुढी नुहाउनका लागि पानी के तयार गरेको थियो, त्यस घरकी जेठी बुहारीले अह्राइन, “यो भाँडा धोएर आइज छिटो, केटाकेटी स्कुल पठाउनु पर्ने, अबेर भइसक्यो ।”
उसले यो काम पनि पुरा ग¥यो । एकछिनमा घरकी कान्छी बुहारीले एक पोको कपडा ल्याएर भनिन्, “यी दाजुका कपडा, म त धुनै बिर्सेछु । छिटो धोएर ल्याइज ।”
“हुन्छ भाउजू ।”
घरका जेठा छोराले उसलाई बोलाएर भने, “मेरो कलम कता अलमलिएछ, एकछिन खोज त ?”
“हुन्छ दाजु !” भन्दै उसले कलम खोजेर दियो ।
एकछिनमा घरका बच्चा तयार भएपछि ऊ स्कुल पु¥याउन गयो ।
उसले सबले भनेको काम गरेको छ । सबको मनस्थिति सही छ ।
१३ वर्षको कमलको बिहान यसरी नै बित्ने गर्छ । उसले दिनभर घरका मानिसको सेवामा तत्पर भइरहनु पर्छ ।
कोरोनाको प्रभाव बढेसँगै बुढाबाले उसलाई केही पैसा दिएर भने, “बाबु ! महामारी फैलिएको छ । तिमी घर जाऊ । महामारी सकिएपछि तिमीलाई म खबर पठाएर बोलाउँला ।”
“हस् हजुरबा ।” यति भनेर ऊ घरतिर लाग्यो ।
“हैन, यो घरमा मैले मात्र काम गर्नुपर्छ भन्ने के छ ?” जेठी बुहारीले आक्रोश पोखिन् ।
“घरमा मालिक्नी बनुँला भनेर आएको, नोकर्नी पो भइछु ।” कान्छी बुहारी कराइन् ।
“यी नक्कलीहरुको कामै छैन, ढलेको भाँडो उठाउनु छैन, सधैँ कचकच कचकच ?” सासुको निष्कर्ष आयो ।
“राखेको सामान कहीँ पाइँदैन, यो घरमा के भएको हो कुन्नि ?” जेठो छोरा कोठामा एक्लै भुतभुताउँदै थिए ।
“मेरो मोटरसाइकलको चाबी खै ?” कान्छो छोरा श्रीमतीलाई सोधिरहेका थिए ।
आजभोलि घरका सबैको मनस्थिति खल्बलिएको छ ।
तिहारको रौनक
हिन्दु परिवेशको परिवारमा बालबालिकाका लागि पर्वको अत्यन्त ठूलो महŒव हुन्छ । उनीहरूलाई एक, दुई महिनाअघि पर्वको प्रतिक्षा हुन्छ । परिवारको आर्थिक अवस्थाअनुसार पर्वको योजना बनेको हुन्छ ।
यहाँ पनि यस्तै भयो । सुभन र सरिमाले पनि तिहारको पहिल्यै तयारी गरिसके ।
“यसपटकको तिहारमा खुब पटाका पटकाउने अनि भाइटिकाका लागि पहिलेबाट किनमेल गर्ने ।” उनीहरूले सोच बनाइसके । तिहारको बजेटका लागि आमाबुवासँग कुरा गर्ने सोचिसके । उनीहरूले साँझ आमाबुवा घर फर्केपछि तिहारको कुरा गरे ।
“हेर बाबुनानी हो । हामीले पर्व मनाउँदा देशकाल पनि हेर्नुपर्छ । अरूको देखासिकीभन्दा आफूले कसरी अलग किसिमले मनाउने सोच्नुपर्छ ।” बाबु त्रिलोकले भने ।
“त्यो कसरी गर्ने बुवा ?” सरिमाले भनिन् ।
“केही वर्षयता संसारभर कोरोना महामारीले दुःख दिएको छ । हामै्र आफन्त अनि छिमेकमा पनि मानिसले ज्यान गुमाउनु परेको छ । बाढीपैरोले धेरै मानिसले ज्यान गुमाउने, दुख पाउने अवस्था आएको छ । चारैतिर शोकको अवस्था छ । हाम्रो आर्थिक अवस्था पनि कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा एकआपसमा शुभकामना, सदभाव बाँड्ने गर्नुपर्छ । हामीले धेरै खर्च गर्नेभन्दा पनि कसरी परिवारजनको एकता र सद्भावलाई बलियो बनाउने, समाजमा सही सन्देश दिने किसिमले मनाउनु पर्छ ।” त्रिलोकले सम्झाए ।
“अनि सारा मानिसले पटाका पटकाएर कति रमाइलो गर्छन् । यस बेला त तास पनि खेल्छन् । हामीले रमाइलो नगर्ने त ?” सुभन अलि निराश देखिए ।
“चारैतिर शोक भएका बेला हामीले अरूको मानसिकतामा असर पर्ने काम गर्नुहुँदैन । पटाका पटकाएर भोलि दुर्घटना हुनसक्छ । तासको लत बस्दै जाने हो भने त्यसले नराम्रो बानी बस्छ । हामीले अरूको देखासिकीमा भन्दा हाम्रा जीवनका प्राथमिकता के हुन्, हाम्रो जीवनको सही बाटो चिनेर मात्र काम गर्नुपर्छ ।” त्रिलोकले आफ्नो अनुभव बाँडे ।
“हामीलाई अहिलेसम्म कसैले यो कुरा भनेको थिएन बुवा । वरपर, समाजमा जे देख्यौँ, त्यही गर्दै आयौँ । अब देखि हामी विचार गरेर काम गर्छौँ ।” सरिमाले अनुहार उज्यालो पार्दै भनिन् ।
नाम ः डा.पुष्करराज भट्ट
जन्ममिति ः २०३२ असार ४ गते बुधवार
आमाबुवा ः राधिकादेवी भट्ट÷ स्व.गोपालदत्त भट्ट
जन्मस्थान ः दशरथ चन्द नगरपालिका ५, कुमाली (बैतडी)
शैक्षिक योग्यता ः नेपाली विषयमा एमए, एमफिल एवम् विद्यावारिधि
विद्यावारिधिको विषय ः नेपाली लघुकथामा युगचेतना (२०७३)
नेपाली लघुकथामा प्रथम दर्शनाचार्य (एम.फिल.) तथा प्रथम विद्यावारिधि
स्थायी बसोबास ः धनगढी उपमहानगरपालिका ५, हसनपुर (कैलाली)
प्रकाशित लघुकथा पुस्तक ः
· कर्मयोद्धा (२०५९)
· मुक्तिदूत (२०६२)
· एक थोपा सागरको (नेपाली र डोटेली भाषामा, २०६४)
· आजका लघुकथा (संयुक्त लघुकथा कृति, २०७२)
· मन्त्री र मास्क (कोरोनाकालका लघुकथा, २०८०)
समालोचना पुस्तक ः
· नेपाली लघुकथाका प्रवृत्तिहरू (२०७९)
सम्पादित लघुकथा पुस्तक एवम् पत्रिका ः
· नेपाली लघुकथा (लघुकथा समाजको मुखपत्र)
· प्रज्ञा आधुनिक नेपाली लघुकथा (नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तक)
· नवप्रज्ञापन लघुकथा विशेषांक (साहित्यिक त्रैमासिक)
· लघुकथाको सुगन्ध (लघुकथाको संयुक्त कृति)
· वनिता लघुकथा विशेषांक
· विनय कसजू ः लघुकथा सिर्जना र विवेचना
· जनमत ः लघुकथा
अनुवाद पुस्तक ः
· घर फर्केका पाइला (हिन्दी लघुकथाकार डा. रामनिवास मानवको लघुकथा कृति रामनिवास मानवकी प्रतिनिधि लघुकथाएँको नेपाली अनुवाद कृति, २०७८)
· हिन्दी लघुकथा (हिन्दीका ८६ लेखकको परिचय र लघुकथाको नेपाली अनुवाद कृति, २०७९)
लघुकथा सम्बद्ध प्राप्त सम्मान एवम् पुरस्कार ः
· लघुकथा सम्मान (लघुकथा समाजबाट दुईपटक)
· वनिता लघुकथा सम्मान
· मनुमुक्त मानव लघुकथा गौरव सम्मान (हरियाणा, भारत)
· मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा सम्मान (हरियाणा, भारत)
· नेपाल विद्याभुषण क, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार लगायत तीन दर्जनभन्दा बढी पुरस्कार, सम्मान
संस्थागत सहभागिता ः
· लघुकथा समाज कार्यसमिति सदस्य (वि.स. २०६९–२०७७)
· आधुनिक नेपाली लघुकथा पेजको संस्थापक व्यवस्थापक (वि.स. २०७४ असोज १७ देखि निरन्तर सक्रिय)
पुरस्कार स्थापना ः
· पद्मा–रामचन्द्र लघुकथा सम्मान (रु एक लाखको अक्षयकोष सहित, वि.स. २०७१ देखि प्रदान गरिँदै)
· राधिका–गोपालदत्त अन्तर्राष्ट्रिय लघुकथा सम्मान (रु. एक लाखको अक्षयकोष सहित, वि.स. २०८० देखि)
No comments:
Post a Comment