![]() |
| टंकबहादुर आले मगर |
मातापिता ः लिलामाया आले मगर, अम्बरबहादुर आले मगर
जन्ममिति ः वि.स. २०१५ साउन १५
जन्मस्थान ः त्रियुगा नगरपालिका–११, संगमटोल, उदयपुर
पहिलो प्रकाशित लघुकथा ः वि.स. २०५८ सालमा उदयपुरबाट निस्कने पुष्टि साप्ताहिकमा प्रकाशित कमिलाका कुरा लघुकथा
लघुकथा कृति ः कालो चायाँ (२०६७)
कथा कृति ः लाग्छ आकाश खस्दै छ (२०७३)
थप परिचय ः
—कुशल चित्रकार ।
—नेपाली एवम् मगर ढुट भाषामा लेखन ।
—लेखन एवम् समाजसेवाका लागि विभिन्न संघसंस्थाबाट सम्मान, पुरस्कार प्राप्त ।
सम्पर्क नम्बर ः ९८१९९३९४७५
प्रवृत्तिहरू ः
—नारी जीवनप्रतिको सम्वेदना प्रकट ।
— अन्यायअत्याचार एवम् शोषणविरोधी चेतनाको अभिव्यक्ति ।
— बालपात्रप्रतिको सम्वेदना र उनीहरुको जीवनमा सुधारको चाहना व्यक्त ।
— निम्नवर्गीय जीवनका पीडाको अभिव्यक्ति ।
— हिंसात्मक गतिविधिप्रति असहमति ।
—सरल भाषा एवम् वर्णनात्मक शैली ।
मुखबाङ्गे रुख
हाकिमको कार्यालयनिरै छ मुखबाङ्गे रुख । छेउमै ठूलो बोर्ड झुण्डिएको छ । केही बुँदा अनुशासनका अक्षर छन्, बोर्डको उद्देश्यलाई प्रष्ट पार्न ।
(क) रुख सार्वजनिक सम्पति हो । अतः मलजल, छाँटकाट, संरक्षण र सम्वर्धन सबैको दायित्व हो ।
(ख) अक्सिजन बाहेक रुखबाट हुने उत्पतिलाई उपयोगी ठहरिन्छ र,
(ग) उल्लेखित अनुशासन विपरित गरे, गराएमा विभागीय कार्यवाही र ईश्वरीय दण्डले अपराधीको मुख बाङ्गिने छ । फलतः मुखबाङ्गे रुखको नामले चर्चित भयो डाँडापारीसम्म ।
रुखको फल देखिन्थ्यो, जान्छ कहाँ ? निरुत्तर जिज्ञासा हुन्थ्यो ।
हाकिम साहबभन्दा म्याम साहब बोलीसिन्थ्यो ’फलहरू सबै आकाशतिर जान्छन्, गुन्गुनाउँदै ।’ सबै विश्वस्त हुन्थे शिक्षित मान्छेले बोलेका कुरा ।
हाकिमकोमा आउने पाहुनाले थाहा नपाई फल खाँदा मुख बाङ्गिएको घटना पनि धेरै छन् उनीहरूसँग तर एकदिन कार्यालयको गेटकिपरले देख्यो, जुनेली रातमा हाकिम साहेब एक बोरा मुखबाङ्ग्एिको रुखको फल बोकेर कार्यालयमै रहेको डेराभित्र पस्दै छन् । उसले केही भन्न चाहेन, भोलि कर्मको फल हाकिम साहेबले पाउने छन् सोचेर । तर भोलिपल्ट अचम्ममा पर्यो गेटकिपर, ‘जय नेपाल साहब !!!’ भन्दै सेलुट मार्ने हाकिमको मुख बाङ्ग्एिको थिएन ।
सुत्र
चिभे र कागले सरकारी भवन निर्माता सम्वेदकसँग मिलेर एउटा फलामको डन्डी, सिमेन्ट, इट्टा, रोडा, बालुवा, काठ, एक माना रङ्, एक छेस्को सिसा भ्रष्टाचार गरे ।
भवन निर्माणकार्य सम्पन्न भए पश्चात् सुत्रको अलिकति सुत्र प्रयोग गरेर हस्तान्तरण पनि भयो सम्बन्धित निकायमा ।
एकदिन चिभेले सुत्र बाँडचुँडको मनसाय राख्दा कागले घोक्रो फुल्याउदै भन्यो ‘चिभे भाइ ! हाम्रो कार्यको चुहावट भएर अख्तियार लागिसकेको छ । हामी, हुद्रुङ् सम्वेदक र हाम्रा आफन्तहरूकोमा कुनै पनि समय छापा पर्न सक्छ ।’
चिभे निकै डराउँदै बोल्छ , ‘काग दाइ ! कानुनी चेपुवामा परेँ भने छोराछोरी नभएर खसी बन्छु । म मेरोमा सुत्र राख्दिन, अन्तै लुकाउने चाँजो मिलाउनोस् ।’
‘तेस्रो व्यक्तिकोमा मात्रै सुत्र सुरक्षित हुने हुनाले मेरी एउटी अपुष्ट सालीज्युकोमा राखौ । त्यहाँसम्म कुनै त्रिनेत्रले पनि सुम्सुम्याउन पाउँदैन ।’ कागले नसोचेको सपना देख्दै भन्यो ।
चिभेले ठूलै खड्गो टरेको सन्तुष्टि खकार्याे ।
अख्तियार चकमन्न छ । कतै स्विकेको जाँड झै अमिल्चो हल्ला पनि त छैन । फेरि सुत्र दामासायीको कुरो चिभेको कोरलाई बौलाहा जरोले छोपे झैँ भयो कागलाई । तर यस्पाली पनि कुनै विषयको भुत्ला सराई नै भयो । अब चिभेलाई कागको इमानमा रात परेजस्तो लाग्न थाल्यो । समयले दिएको शङ्का आज प्रस्ट बन्यो, अपुष्ट साली टिपेर कागले सीमा काट्यो अरे ।

No comments:
Post a Comment