![]() |
धनराज गिरी |
माता, पिता ः महामाया गिरी, परशुराम गिरी
जन्ममिति ः वि.स. २०१५ भाद्र ९
जन्मस्थान ः दाबिले हटिया, मकवानपुर
हालको बसोबास ः रत्ननगर–६, चितवन
लघुकथा कृति ः साथी (२०७६)
थप परिचय
—प्राध्यापन, सहिद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर चितवन
—खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर (चितवन)
—उपाध्यक्ष, वाल्मीकि साहित्य सदन, चितवन
सम्पर्क नम्बर ः ९८४५०६५८१५
प्रवृत्तिहरू ः
— बालबालिका एवम् जेष्ठ नागरिकको जीवनप्रति सम्वेदना ।
— सामाजिक उत्पीडनप्रति चिन्ता ।
—राजनीतिक विकृतिको आलोचना ।
— शिक्षा क्षेत्रका विकृतिप्रति छेड प्रहार ।
—शैक्षिक क्षेत्रका समस्याको उजागर ।
—धार्मिक, साहित्यिक क्षेत्रका विसङ्गतिको चर्चा ।
— पात्रको चरित्र चित्रणमा रुचि ।
—सम्वादात्मक शैली ।
दोषी तिनै हुन्
अकाल कालग्रास हुनेहरूको विभाग छुट्टै यमपुरीमा । नेपाल शाखामा बढी भीड । आज धर्मराज चित्रपुप्त लिएर आफै खटेका छन् । यहाँ धाँधली हुने कुरा उनको गुप्तचरले खबर गर्यो । कोसेलीको रूपमा अनियमिततालाई नेपालीले त्यहाँ पनि लगेछन् ।
“चित्रगुप्तजी ! यी रातापिरा मानिसको वास्तविक खाता हेर्नुहोस् त ।”–प्रभुको आज्ञा भो ।
“प्रभु ! यी इन्जिनियर, ओभरसियर, ठेकेदार र सरकारी सचिव ।”
“के भएर ३५ वर्ष अघि नै हाजिर हुन आए ?”
“सडक दुर्घटनामा परेर ।”
“गाडी कसले हाँकेको थियो ?”
“ठेकेदार साबले ।”
“सडक कस्तो थियो ?”
“प्रभु ! म स्वयम् यहीँ छु , म भन्छु सबै कथाव्यथा ।”–चित्रगुप्त बोले ।
अचानक भिडबाट एउटा अनुहार कुरूप भएको ५०० किलोमिटर लामो अदभूत मान्छे प्रकट भयो । सबैले उसलाई हेरे । अजिब ।
“होइन, ब्रह्मा बाबाको सृष्टिमा यस्तो जीव पनि छ ? चित्रगुप्तजी ।” –धर्मराज बोले ।
“प्रभु ! आज सडक बोल्छ मान्छेको भेषमा । उसको कथा उसैले भन्ने अनुमति दिनुहोस् ।” चित्रगुप्तले भने ।
बोल्यो सडक–“प्रभु ! मेरो आयु घटीमा ५५ वर्ष हुने थियो । मेरो नाममा आएको बजेट यी मुसाहरूले झ्वाम पारे । हरेक साल सडक बन्छ तर पिच रोड होइन, घीच रोड । भागशान्ति । यिनीहरूले मेरो आयु मात्र खाएनन्, आफ्नो आयु पनि खाए । अब हेर्नुहोला, अनेक नाममा राष्ट्रको धन लुट्नेले भुकम्पको नाममा पनि चमत्कार गर्नेछन् । धरातलीय यथार्थ उही हो । त्यो नेपाल भन्ने देशमा बेइमान मौलाउने र इमान्दार बौलाउने कुरा नौलो होइन । म बलियो भएको भए हिजो राति जति मापसे गरेर कार हाँके पनि यिनीहरू बाँच्ने थिए । यही ठेकेदार र यी हाकिमहरूको एम्बुसमा यिनीहरू नै परे । प्रभु कथा लामो छ । मेरो लम्बाइ जति नै नेपालमा कम बेइमान लेखक, प्र्रावि शिक्षक, हुलाक कर्मचारी र सानासाना किसान र व्यापारी हुन्छन् । यी भ्रष्टहरूलाई कडाभन्दा कडा सजाय दिनुहोस् प्रभु ।”
“हो प्रभु ! बिल पास हुन पाउन्न, सडक भत्किन्छ ।” चित्रगुप्तले पनि थपे ।
धर्मराज बोले–“यिनलाई सय कोर्रा लगाएर तातो तेलमा उमाल । अनि सुन्, त्यहाँका नेतृत्व पंक्तिका नेताहरू सबैलाई यतै ल्याउँ र नरकको सीमान्त कठोर कोठरीमा दाखिला गर । खासमा दोषी तिनै हुन् ।
प्रयोग
अमेरिका निवासी उमा अर्याल । एक सुन्दर युवती । साथी बनिन् प्रभातको ।
यतिको पुरुष हानिकारक नहोला ।” उमाको आत्मनिर्णय थियो प्रभातसँगका मित्रतामा ।
“उमा ।” मेसेज लेख्यो प्रभातले उमालाई अनलाइन देखेर ।
“अङ्कल, नमस्कार ।” उमा तुरन्त हाजिर भई ।
“एउटा रमाइलो गर्ने ?” प्रभातले भन्यो ।
“के होला अङ्कल ?”
“आधा घण्टा वा ४५ मिनटमा हामी बाउ छोरीले कथा पोष्ट गरौं । तिम्रो एक सुन्दर तस्वीर पनि राख, अनि हेर तमाशा ।”
“वाऊ अङ्कल, हजुरको दिमागलाई मान्नुपर्छ । लु लु.....हो जाये ।”
भने अनुसार कार्य सम्पादन भयो । कथा छोडेको एघार मिनटमा प्रभातको पोष्टमा सिर्फ दुई कमेन्ट र सात लाइक आयो । तर उमाका पोष्टमा ७५ कमेन्ट र ९९ लाइक ७ शेयर । तीन घण्टामा प्रभातले पायो–सात कमेन्ट र १२ लाइक तर उमाले पाइन्–५५५ कमेन्ट ६६६ लाइक १११ शेयर । उमाका पोष्टमा सहभागिता जनाउने सदस्यहरू अधिकांश पुरुष थिए । उमाका पोष्टमा देखिएका केही नमुना कमेन्ट यस्ता थिए–कमाल बुनु, जस्तो मान्छे त्यस्तै बेजोड कथा, सर्वोत्तम रचना, मनोविज्ञानको सफल प्रयोग, आहा यस्तो पो रचना, रूप हेर्दा खुबै राम्री रचनाको के बयान गरौं आदि आदि । उमाका रचनामा सामाजिक सञ्जालमा प्रायः देखिने वरिष्ठ साहित्यकारहरूका कमेन्ट पनि हेर्न लायक थिए । भाइरल बनिन् उमा । फोटोको कमाल ।
“कस्तो लाग्यो बेटे दुनियाँ ?”
“माने अंकल हजुरलाई । दुनियाँ के को पछि दगुर्छ, थाहा भयो । हाम्रो प्रयोग सफल भयो ।”
प्रभात र उमाले निष्कर्ष निकाले । “सञ्जालमा देखिने वाहवाही रचनाको सही मूल्याङ्कन होइन । यसैले साहित्य दीर्घ साधनाको प्रतिफल हो ।”










