![]() |
| राजु क्षेत्री अपुरो |
माता÷पिता ः बुद्धिमाया क्षेत्री एवम् डम्बरबहादुर क्षेत्री
जन्ममिति ः २०२९ कार्तिक १९
जन्मस्थान ः लाहाचोक गाउँपालिका, कास्की
पहिलो प्रकाशित लघुकथा ः मलेशियाबाट प्रकाशन हुने श्रमिक यात्रा त्रैमासिकमा २००६, वर्ष १, अंक ३ मा प्रकाशित बाँझो कि बाँझी लघुकथा लघुकथा कृति ः मेरा केही लघुकथाहरु (२०६९), भाग्य र कर्म (२०७३), आशाका झिल्का (२०७४), दिमागको बिर्को (२०७६)
थप परिचय ः
— मलेशियामा विभिन्न सामाजिक–साहित्यिक संघसंस्था एवम् पत्रकारिता क्षेत्रमा सक्रिय
—लघुकथा पाठशाला नामक फेसबुक पेजकोे व्यवस्थापक ।
सम्पर्क नम्बर ः ९८१६६२६१८२ (नेपालमा), ०६०१०३८०९२२७ (मलेसियामा)
प्रवृत्तिहरू ः
—राजनीतिक क्षेत्रका विकृतिको विरोध ।
— सामाजिक विसंगतिको चित्रण ।
— नारी पात्रमाथि हुने उत्पीडनको विरोध ।
—पत्रकारिता, न्यायकानुन एवम् शिक्षा क्षेत्रका समस्याको प्रस्तुति ।
— व्यक्ति पात्रका विसंगत जीवन चरित्रको उद्घाटन ।
— सम्वादको प्रयोग ।
— व्यङ्ग्यात्मक चेतनाको प्रबलता ।
हाम्रो जीवनशैली
समाजमा आएको बेथितिलाई कम गर्न उसले आफ्नो जीवनशैलाीलाई परिवर्तन गर्न पहिलो अभियान आफैबाट सुरू गर्यो । छोराछोरीलाई महङ्गो स्कुलबाट निकालेर सरकारी स्कुलमा भर्ना गरिदियो ।
चाडबाड आउँदा टाढाबाट आएका नातेदार र नजिकका नातेदार हेरेर दान दक्षिणा दिने परिपाटी सुरु गर्न थाल्यो ।
बजारका विषादी प्रयोग गरिएका तरकारीको सट्टामा आफ्नै करेसाबारी र कौसीमा फलेका अग्र्यानिक तरकारीको प्रयोग गर्न थाल्यो ।
कोदो, मकै, गहुँ जस्ता अनाजको बढी प्रयोग गर्दै दैनिक चामलको भात खानैपर्छ भन्ने मान्यतालाई किनारा लगायो ।
आफू र आफ्ना परिवारको लवाइमा पनि धेरै कुराको कटौती ग¥यो उसले । अनावश्यक कपडा किनेर थुपार्ने परिपाटीको अन्त गर्नपट्टि लाग्यो ।
एकदिन आफ्ना नातेदारको बिहेमा निम्ता मान्न सपरिवार गएको थियो ऊ । चारैतिरबाट नातेदार ओइरिएका थिए । बैशाख मासको टन्टापुर घाममा पनि पुरूषहरू सुटबुटमा सजिएर आएका थिए । महिलाको त कुरै नगरौं । मानौं, उनीहरू आफ्ना गहना र साडी प्रदर्शन गर्न आएका हुन् । प्रायःजसोलाई आफूले लगाएका गहना र साडीको तारिफ गरिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर, त्यहाँ तारिफ गरिदिने कोही पनि थिएनन् ।
सबैको नजर ऊ र उसकी श्रीमतीमाथि प¥यो । नपरोस् पनि कसरी ? उनीहरू अरुभन्दा फरक देखिन्थे । ऊ सर्ट पाइन्ट र साधारण जुत्तामा थियो भने उसकी श्रीमतीले न महङ्गो साडी लगाएकी थिइन् न छडके तिलहरी नै । घाँटीमा मंगलसूत्र र कानमा सस्तो टप थियो । त्यसबेला छिमेकीको साडी र छडके तिलहरी मागेर लगाएका केही नारी खुसुरपुसुर गर्न थाले–छ्याऽऽऽ बिहेमा त राम्र्रा कपडा लगाएर आउनु पर्छ नि ! हुनेखाने भएर पनि यस्ता कन्जुस मान्छे कहीँ देखिएनन् ।
हाइवेको होटल
लामो गन्तव्यमा पुग्न हतारमा गुड्दै गरेको रात्रि बस राजमार्गको एउटा होटलमा रोकियो । कण्डक्टरले जानकारी गराउँदै थियो, त्यसै समयमा होटलबाट खटाइएको केटो आएर चिच्याउन थाल्यो । “ल सबै झर्नुहोस्, दिसापिसाब गर्नुहोस् अनि हलमा आएर टी.भी. हेर्दै खाना खानुहोस् । नखानेहरूले पनि फर्किँदा काउन्टरमा झुण्ड्याइएको बोर्डमा एकपटक हेर्नुहोस् ।
भोक लागेका यात्रीहरू फटाफट झर्न थाले । दिसापिसाबले आत्तिएको म पनि उत्रिएँ । यात्राले गर्दा खासै भोक लागेको थिएन । शौचालय पुग्दा निकै लामो लाइन थियो । बल्लतल्ल पालो आयो । हलमा आएर विश्राम गर्दै टि.भी. हेरेँ ।
“ल समय धेरै छैन । अब खाइसकेकाले बिस्तारै काउन्टरमा पुगेर रकम तिर्दै आ–आफ्नो सिटमा गएर बस्दै गर्नुस् भन्ने आवाजसँगै म पनि उठेँ । काउन्टरबाट सरासर जान लागेको देखेर अघि कराउने केटाले मलाई भन्यो–“दाइले खाना खानु भएन ?”
“अहँ खाइन ।” मैले टाउको हल्लाएँ ।
“त्यसो भए २० रुपैयाँ तिरेर जानुस् ।” केटो करायो ।
“किन ?” म आश्चर्यचकित भएँ ।
“दाजु, खाना नखाएपछि शौचालय गएको शुल्क २० रुपिँया लाग्छ ।”
मैले सोधेँ–“अघि दिसापिसाब गरेको पैसा लाग्दैन भनेको होइन ?”
“त्यो त खाना खानेलाई पो त ! खाना नखानेलाई होइ्न । ऊ त्यता बोर्डमा हेर्नुहोस् त ।”
बोर्डमा हेरेँ । लेखिएको थियो–“खाना नखाई गएमा दिसा गरेको १०, पिसाब गरेको ५, दुवै गरेको १५, हलमा रेष्ट गरेर टी.भी. हेरेको ५ रुपियाँ शुल्क लाग्नेछ ।” मलाई खुब रिस उठ्यो । अर्काको ठाउँमा बहस गर्नु उचित थिएन । हल्का भोक लागेजस्तो भएको थियो । सबैले ताजा खाना खाइरहेको देखेपछि बरू खाएरै पैसा तिर्छु भनेर खाना मगाएँ ।
हतारमा खाएर २०० बुझाउँदै आफ्नो सिटमा बस्दै थिएँ, झ्याल बाहिरबाट त्यही केटो आएर करायो–“दाजु, ताजा खाना सकिएको रहेछ । हजुरलाई बिहानको बासी खाना परेछ । साहुजीले पैसा पठाउनु भएको छ, यी लिनुहोस ५० रुपैयाँ ।”
बस हिँड्न सुरु गरेको थियो । झटप पैसा हातमा लिएँ । त्यही बेला उसले हात हल्लाउँदै भन्दै थियो–“फेरि–फेरि सेवा गर्ने मौका दिनुहोला है ?”

No comments:
Post a Comment