![]() |
| कृष्ण बजगाई |
माता, पिता ः नारादेवी बजगाईँ र रामकुमार बजगाई
जन्ममिति ः २०२४ असार ९
जन्मस्थान ः धरान, सुनसरी
पहिलो प्रकाशित लघुकथा ः मधुुपर्कमा वि.स. २०४८ सालमा प्रकाशित यन्त्रवत् लघुकथा
लघुकथा कृति ः यन्त्रवत् (२०६४) एवम् रोडम्याप (२०६६), कवज (२०७३), संवैधानिक पत्नी (२०७७)
सम्पर्क नम्बर ः ०४४–७४०२२८८९३७० (बेलायत)
थप परिचय ः
—नेपालमा रहँदा साहित्य—कलाका कृति प्रकाशन एवम् सम्पादन ।
—युरोपका विभिन्न देश एवम् हाल बेलायतमा रहँदा समकालीन साहित्य प्रतिष्ठानको स्थापना, अनुसन्धानमूलक प्रवासको प्रकाशन–सम्पादन ।
–लघुकथा समाजको अन्तर्राष्ट्रिय समिति, सञ्योजक ।
प्रवृत्तिहरू ः
—राजनीतिक क्षेत्रका विसङ्गतिको आलोचना ।
—सामाजिक क्षेत्रका विसङ्गतिको आलोचना, मानवीयताको ह्रासप्रति चिन्ता ।
—नेपाली समाजमा बढ्दो जातीय, क्षेत्रीय भावना र त्यसले नेपाली समाजमा ल्याएको विकृतिको चित्रण् ।
— प्रशासन तथा कला–साहित्य क्षेत्रका विकृतिको चित्रण ।
— व्यङ्ग्य एवम् विद्रोही चेतनाको प्रस्तुति ।
—आधुनिक सभ्यताका नाममा देखिएका विकृतिको आलोचना ।
— व्यक्ति पात्रका विसङ्गतिप्रति छेड प्रहार ।
— बिम्बको सशक्त प्रयोग, सूक्ष्म, साङ्केतिक एवम् मुुक्तकीय झटका दिने रचनाको प्रस्तुति ।
मागतन्त्र
मागपुर नामक एक राज्यको कथा हो यो । त्यस देशमा माग्नेहरू मात्र बस्थे । जनता अधिकार माग्दथे, कर्मचारी सेवाग्राहीसँग घुस माग्दथे, ठुला प्रशासक, नेता तथा प्रधानमन्त्रीहरू कमिशन माग्दथे । सिङ्गो देशको नाममा मन्त्रीहरू विदेशीसँग ऋण सापटी, सहयोग, अनुदान माग्दथे । सरकार चलाउन सत्तामा गएमा वा जान चाहने पार्टीहरू छिमेकी तथा विदेशीहरूसँग सहयोग र आर्शिवाद माग्दथे ।
त्यस राज्यको इतिहास हेर्ने हो भने त्यहाँ पहिलेदेखि नै मागतान्त्रिक शासन व्यवस्था कायम थियो । कहिले त्यस देशका राजाले जनताको माग अनुसार भन्दै निरंकुश तरिकाले शासन चलाए । कहिले जनताले मागेपछि प्रजातान्त्रिक व्यवस्था भन्दै करिब, उस्तै उस्तै खाले शासन व्यवस्थाले केही समय देश चलाइयो । केही वर्षपछि जनताले त्यसमा चित्त बुझाएनन् र झन ठुलो माग गरे । सोही मागअनुसार गणतान्त्रिक शासन व्यवस्था ल्याइयो । त्यो व्यवस्थाको सफलतम प्रयोग, त्यस मागपुर राज्यमा लोकतन्त्रको नाममा देख्न पाइयो ।
कोही जात, धर्म, सम्प्रदायको लागि अधिकार माग्थे । कोही जातको आधारमा राज्य माग्दै बन्द, हडताल, जुलुस, धर्ना आदि गर्थे । कोही आरक्षण माग्थे । कोही संरक्षण माग्थे । सरकारबाट मागेकोमध्ये साह्रै थोरै पाइन्थ्यो । धेरैजसो भने आश्वासन मात्र मिल्दथ्यो ।
त्यस राज्यलाई दान, सहयोग दिने दाताहरूले लामो समयदेखि त्यहाँको स्थिति अध्ययन गरिरहेका थिए । त्यहाँ जनताले गाँस, कपास, रोजगार, स्वास्थ्य, शिक्षा आदिका लागि मागेको देखिएन् । त्यसका लागि बन्द, हडताल, जुलुस, धर्ना आदि गरेको समाचार कहिल्यै सञ्चारमाध्यममा देखेनन् । त्यसपछि उपलब्ध गराउँदै आएको अनुदानको रकम कसैले बन्द गरे, कसैले सहयोग घटाए । उनीहरूलाई लाग्यो, “त्यस राज्यका जनता धनी छन् । जनताले नमागेको वस्तु सरकारलाई किन दिने ?”
समाचार
मुख्य समाचार
–केही दिनदेखि खानामा अरुचि भएकोमा आजदेखि प्रधानमन्त्रीले राम्ररी खाना खानुभयो ।
–शिक्षामन्त्रीले राजधानीमा भव्य समारोहबिच एक फिल्मी पत्रिकाको विमोचन गर्नुभयो ।
–धेरै दिनको मुसलधारे वर्षाबाट तराईमा भएको क्षति हेलिकप्टरबाट निरीक्षण गरेर गृहमन्त्री राजधानी फिर्ता ।
–राजधानीको एक पाकेटमार प्रहरीको फन्दामा ।
–राजधानीको एक होटलमा छापा मार्दा वेश्यावृत्ति कार्यमा संलग्न भएको आशंकामा एक जोडी युवायुवती पक्राउ ।
स्थानिय समाचार
–दुर्गम पहाडी जिल्लाको विकटपुर गाउँमा खाद्यान्नको अभावमा भोकमरीले केटाकेटी सहित वृद्धवृद्धाको मृत्यु ।
–सुदूर पहाडी जिल्लामा कापीकिताब किन्न नसकेर धेरै बालबालिका शिक्षाबाट वञ्चित ।
–मुसलधारे वर्षाबाट तराईका धेरै जिल्ला प्रभावित । केही गाउँ पुरै डुबानमा । मानिसहरू ज्यान जोगाउन छाना, बुइँगल, रुख आदिमा बसिरहेका छन् ।
–तराईको गरिबपुर प्रहरी चौकी नजिकै सिङ्गै गाउँ डाँकाद्वारा लुटपाट घटनापछि प्रहरीद्वारा डाँकाको खोजी जारी ।
–पश्चिम नेपालका यौन व्यवसाय गरेर जिविकोपार्जन गर्न बाध्य महिलाहरूबाट सम्मानजनक रोजगारी दिन सरकारसँग माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ ।

No comments:
Post a Comment