Wednesday, 21 August 2024

बानियाँ कान्छा ः परिचय, प्रवृत्ति र लघुकथा

बानियाँ कान्छा

वास्तविक नाम ः प्रा.डा. कर्णबहादुर बानियाँ
माता÷पिता ः कृष्णकला बानियाँ, दिलबहादुर बानिया
जन्ममिति ः वि.स.२०१२ जेठ ११
जन्मस्थान ः बेनी नगरपालिका–५, पुलाभीरमुनि, म्याग्दी
हालको बसोबास ः चितवन 
पहिलो प्रकाशित लघुकथा ः गोरेटो मासिक हवाई पत्रिका (पाल्पा) को २०५२ असोज, वर्ष १, अंक ७ मा प्रकाशित दुई जिब्रे नेता
लघुकथा कृति ः अनामिका (२०७५)
सम्पर्क नम्बर ः ९८५१२३५१२०
थप परिचय ः
लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा प्राध्यापन, हाल अवकाश प्राप्त ।
बालसाहित्य, इतिहास एवम् संस्कृतिसँग सम्बन्धित लेखनमा सक्रिय ।

प्रवृत्तिहरू ः 
— नारी जीवनका सम्वेदनाको प्रस्तुति । नारी पात्रको विवशता र पीडाका अनुभूतिको अभिव्यक्ति ।
— ऐतिहासिक सम्पदाको संरक्षणको चेतनाको प्रस्तुति ।
— निम्नवर्गीय पात्रको जीवनप्रति सम्वेदना । 
— साहित्यकारका पीडाको अभिव्यक्ति ।  
—जेष्ठ नागरिक एवम् एकल महिला पुरुषका जीवनका पीडाको अभिव्यक्ति । 
—सम्वादको समुचित प्रयोग  । 

लाछी
डेराबाट टुँडिखेलतिर जाँदै गर्दा उसले चौबाटोमा मानिसहरू झुम्मिएको देख्यो । ऊ पनि त्यतै लाग्यो, मानिसहरू झुम्मिएको कारण पत्ता लगाउन । श्रृद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेछ । उसले पनि फूल र अबिर हातमा लिएर अर्पण गर्यो पार्थिव शरीरमा । एक मिनटको मौन धारणपछि मानिसहरू सल्बलाउन थाले । एकआपसमा कानेखुसी चल्न थाल्यो–“के भएर मृत्यु भएको रहेछ हँ ?”

धेरैजसो दर्शकहरूले कौतुहलता व्यक्त गरे । उसलाई पनि जिज्ञासा लाग्यो । उसले आफ्नो नजिकको मानिसलाई सोध्यो–“के भएर बितेको रहेछ हँ, के थाहा पाउनु भएको छ ?”

त्यो मानिसले सहजै उत्तर दियो–“केही भएर होइन, आफै आत्महत्या गरेको नाइँ ।” ऊ झल्याँस्स भया । मुटु ढुकुढुक गर्न थाल्यो । जीउ सिरिङ्ङ भयो । उसले मनमनमा सोच्यो–“कसरी सहजै त्याग्न सक्छन् हा मानिसहरू आफ्नो प्राणलाई ।” यस्तो कुरा मनमा आएपछि उसको कौतुहलता झन् बढ्यो । उसले अघि बोलेको मान्छेसित पुनः जिज्ञासा राख्यो–“के कारण रहेछ आत्महत्या गर्नुको, केही थाहा पाउनु भएको छ ?”

त्यसपटक त्यो मान्छेले केही उपेक्षा भावले उत्तर दियो–“के कारण हुन्थ्यो नाइँ, आफूले मन पारेको मान्छेसँग विवाह गर्न पाएन भनेर आत्महत्या गरेको रे ।” त्यसपछि उसको पेट भतभती पोल्न थाल्यो । मनमा अनेकौं कुरा खेलिरहेको बेला उसको समिपमा उभिएको मान्छे फतफताइरहेको थियो–“के एउटाले धोका दियो भन्दैमा अर्को जोडा पाउन सकिन्थ्यो र ? के एकपटक प्रेमसम्बन्ध तोडिएका मानिसहरू जीवनभर अविवाहित भएर बसेका छन् त ? यदि त्यसै हो भने पनि हाम्रै सहरमा पनि त थुप्रै अविवाहित मानिस छन् । के तिनीहरूको जीवन सार्थक छैन त ? फेरि अर्को कुरा अत्यन्त गाढा भएका दम्पत्तिको पनि एकैसाथ मृत्यु त हुँदैन नि । आखिर यो संसारमा सबै एक्लाएक्लै जन्मिएको हो र मर्दा पनि एक्लै मर्न न हो । यदि सानो कुरा पनि नबुझेर अनाहकमा अमूल्य जीवन खेर फाल्ने कस्तो लाछी मान्छे हो त नि ?”  

अनामिका
“आहा ! क्या राम्री छोरी पाउनु भएको रहेछ । के नाम राख्नुभएको छ त नि छोरीको ?”

“जसले पनी यही कुरा दोह¥यातेहेराई किन सोध्छ हँ ?” भाँडा माझ्दामाझ्दै उसको मनमा कुरा खेल्न थाल्यो । 

“के नाम बताउने न्वारनै नभएकी बच्चीको ?” उसले असजिलो महसुस गरी । उनी उसको मनमा विगतका घटनाहरू क्यासेटका रिलझै घुम्न थाले । “के गर्नुपथ्र्यो ? के गर्नु हुँदैनथ्यो ?” उसले सोच्नै सकिन ।

“बच्चा नभइदिएको भए ? बच्चा जन्मँदाजन्मँदै मरिदिएको भए ?” यी वाक्य दोहोरिए उसको दिमागमा । र मुु छिटोछिटो चल्न थाल्यो । होसहवास उडेजस्तो भयो । अनि सम्झिन थाली मदनपोखराकी पातलीको हविगत । “धान खाने मुसो चोट पाउने भ्यागुतो ।” भएको पातलीको काण्डमा । उसको प्रेमीले उसलाई फसाएर दोजिया बनाएपछि अनेक बहाना बनाएर गर्भपतन गर्न उक्साएको थियो । अवैध गर्भपतन गरेको आरोपमा पातली पक्राउ परेपछि ऊ भागेको थियो । पातली भने तानसेनमा जेलको हावा खाँदै थिई ।

ऊ जस्तो नार्मद त होइन नि मेरो प्रेमी । अनि चानचुने व्यक्ति पनि त होइन । ऊ त तानसेनमा नाम चलेका शिक्षकको छोरा हो । कुनै न कुनै उपाय त गर्ला नि ।“ यस्ता नानातरहका कुरा मनमा खेलाउँदै भुसालडाँडाको एउटा होटलमा भाँडा माझेर दिन काट्दै थिई ऊ ।

ऊ अन्योलमा परेकी थिई । किनकी उसको प्रेमीले पनि उसलाई धोका दिएको थियो । नामर्द भएर होइन सज्जन भएर । बच्चा नजन्मने बेलातक बन्दोबस्त मिलाउँछु, कसैलाई नभन भनेको थियो । अरुले थाहा पाए भने घरजम हुन दिन्नन् भनेर फकाएको थियो । तर बच्चा जन्मेपछि बाबुको इज्जत जान्छ भनेर डरले लुकेको थियो । उसको नजिकै परेके थिएन । तैपनि ऊ सोच्दै थिई–“उसले मलाई कति धेरै माया गर्छ । बच्चा त उसको मायाको चिनो हो । ऊ छेर्लुङ मामाघर जाँदा मलाई नभेटी फर्किँदैनथ्यो । कति मिठामिठा गफ गथ्र्यो । आँखा झिम्क्याइझिम्काई । 

यसरी उसको मनमा नाना तरहका कुरा खेलेका थिए । भाँडा नमाझी खानु थिएन । बच्चाको स्याहारसुसार कसरी गर्ने ? तैपनि उसले अठोट गरेकी थिई नवजात शिशुलाई बाबु चिनाइदिने । लुकीछिपी मायाप्रितीको स्वाङ पार्ने यौनपिपासुसँग खुल्ला नातासम्बन्ध कायम गराउने । किनकी उसलाई ठूलो चिन्ता थियो, छोरीलाई के नामले बोलाउने ।

‘अनामिका... ?’

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...