Wednesday, 7 August 2024

अनिता तुलाधर ः परिचय, प्रवृत्ति र लघुकथा


अनिता तुलाधर


जन्म वि.स. २००७ वैशाख ७ गते
जन्मस्थान ः विराटनगर
आमा, बुवा ः स्नेहप्रभा तुलाधर एवम् रामराज तुलाधर
लघुकथा कृति ः फूलु (२०३४)
कथा कृति ः रितो शहर (२०३५), सूर्य ग्रहण (२०४०) एवम् विडम्बना (२०४६)
अंग्रेजी भाषामा THE ENDLESS KNOT कथा कृति प्रकाशित

k|j[lQx¿

  • –आत्मपरकता ।
  • –अनुभूतिप्रधान ।
  • –संवेदनायुक्त ।
  • –वर्णनात्मक शैली । 
  • –पीडाजन्य अनुभूति ।
  • –निस्सारता ।
  • –शून्यताबोध ।


मृत्युको सङ्गी

        म केही सोच्न बाध्य हुन्छु–मेरो सोचाइको बाटुलो पृथ्वीमा एउटा सानो च्यातिएको आकाश हुन्छ, आकाशमा सिमित ताराहरू हुन्छन्–मेरो लामो सफर सँगसँगै एउटा लामो नदी बग्दै आइरहेको हुन्छ, नदीको पानीमा हिउँ बगेको हुन्छ, हिउँ एकदम रापिलो भएर बगेको हुन्छ । म हिउँको रापलाई आफूमा समेटन खोज्छु, हिउँ मेरो शरीरको नसानसामा पनि बग्न तम्सिरहेको म अनुभव गर्छु, एकदमै लामो समयपछि पनि यस्तो अनुभव गर्न खोजिरहेकी छु । चारैतिर सुवास फैलिएको हुन्छ, गुलाफका सारा बोटहरूमा मात्र अनगिन्ती काँडाहरू उम्रिरहेका हुन्छन् । मेरो शरीरभरि काँडाहरूको घोचाइ र हिउँको रापलाई टाँसिदिन्छु । एउटा नमिठो क्रम जीवनको ! क्यानभासको वरिपरि रङ्गीबिरङ्गी रङ्गहरू पोतिन्छन्—भत्किएका मन्दिरहरू, भत्किएका गुम्बाहरू, विस्थापित ईश्वरका घरहरू !

        मलाई स्वर सुन्न मन लागिरहेछ । स्वर–हरेक किसिमको स्वर, हरेक किसिमको सङ्गीत भएपनि हुन्छ, मन लाग्छ । एउटा साधारण सङ्गीत, मृत्युको सङ्गीत सबैभन्दा छोटो सङ्गीत तर मलाई सबभन्दा मनपर्ने सङ्गीत नदीको कलकल सुन्ने रहर मनमा उब्जन्छन् तर नदीले कलकलाउन छोडिसकेको भान हुन्छ किनभने आजभोलि नदीमा हिउँ जमेर उसका सुनौला स्वरहरू टालिदिइसकेको छ । मेरो आकाश भरि, मेरो धर्तीभरि एउटा लाटो वातावरण घेरिएको म पाउँछु तर यस्तो भएको मलाई मन पर्दैैन । एउटा चर्को सङ्गीत र स्वरले मेरो प्रत्येक क्षणहरूलाई ढपक्क छोपिरहेको होस् जसले गर्दा अरू केही पनि सुन्न नसकु । आफ्नै ढङ्गले चलिरहन सकु !

         म त मेरै बगैँचाको सबैभन्दा सुवासिलो फूल भएर मगमगाउनु पर्ने, म त मेरो जीवनको सबैभन्दा मीठो, सबैभन्दा सुरिलो सङ्गीत भएर तरङ्गिनुपर्ने तर सकिँन । म यति चाँडै यो जिन्दगीको यात्रादेखि किन थाकेँ ? मैले किन मृत्युको सङ्गीतलाई सबैभन्दा बढी रूचाउनुपर्ने अवस्था आयो ? सँधै मसानको गन्ध आइरहने यो कोठामा एउटा लामो रात तेर्सिएको हुन्छ, न्यानो निन्द्रा पर्नु अगावै आँखा खोलिदिन्छन्–मायालु सपना पनि कहिले देख्न पाइएन ।

प्रतिक्षा

        प्रत्येक वर्ष यहाँ ठूलो मेला लाग्छ, शहर र विभिन्न ठाउँका थुप्रै मान्छेहरू आउँछन्, रमाउँछन्, गाउँछन्, नाच्छन् अनि त्यसपछि जान्छन् । कोही दुई चार–दिन, कोही छ–सात दिन र कोही एकै दिन मात्र बसेर जान्छन् । हरेक वर्षको हरेक मेला उनको निमित्त एउटा प्रतिक्षा भएर आउँछ । लाग्छ, उनी युगौँदेखि प्रतिक्षा गरिरहेकी छन्, कुहिरोलाई पगाल्न खोजिरहेकी छन् । डाँडा–खोला सबै कुहिरोले टम्म ढाकिसकेको छ । त्यस कुहिरोको माझमा एउटा मान्छे यस्तरी बिलाएर गयो जसलाई घामको तेजिलो रापमा पनि भेट्टाउन सकिनन्, रातको जूनमा पनि पाउन सकिनन् । उनका व्यथाहरू, उनका पीरहरू, सबै सुस्केरा–सुस्केरा भएर ओइरिरहेछन् । हरेक मेलापछि उनी आफूलाई अझ बढी एक्लिएको अनुभव गर्छिन् । उनको आफ्नो बस्ती छोडेर कतै जाने रहर पनि जन्मँदैन र यहाँ बसेर एउटा लामो प्रतिक्षा गरिरहन मन पराउँदछिन् ।

         यसपालिको मेला उनलाई चाँडै नै आएजस्तो लाग्यो । मेलाका हरेक मान्छेहरूमा उनी आफूले चिन्न खोजेको मान्छेको अनुहार पाउन खोज्छिन् । तर मेलाका सबै मान्छेहरू बिस्तार–बिस्तार जान थालिसक्दा पनि उनको मान्छे आएन । उनमा रहेका सबै पीर र कुन्ठाहरूले नयाँ काँचुली फेर्छ । कतै कतै फूल्ने गरेका फूलहरू पनि ओइलाएर गएझैं लाग्छ । मेला उनको लागि सँधै एउटा प्रतिक्षा भएर पर्खिरहेको हुन्छ ।


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...