Friday, 23 August 2024

रवीन्द्र तिम्सिना ः परिचय, प्रवृत्ति र लघुकथा

रवीन्द्र तिम्सिना

 मातापिता ः सरस्वती तिमसेना, यज्ञप्रसाद तिमसेना
जन्ममिति ः वि.सं. २०४४ फागुन २३
जन्मस्थान ः पोखरा–२३, चापकोट कास्की 
पहिलो प्रकाशित लघुकथा ः ‘पोखरा आवाज’ दैनिकमा २०६४ असोज ४ गतेको प्रकाशित ‘समस्या’ लघुकथा 
लघुकथा कृति ः आवरण (२०७६)
थप परिचय ः
—वि.स. २०७४ सालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पादक (अधिकृत तेस्रो श्रेणी) पदमा कार्यरत ।
—नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘पाकिस्तानी महिला लेखन’ को सहअनुवादक ।
सम्पर्क नम्बर ः ९८२३६४७९७३

प्रवृत्तिहरू ः 
 — राजनीतिक अवसरवादप्रति व्यङ्ग्य ।
— समावेशिताको गलत व्याख्याको विरोध ।
—राजनीतिक नेतावर्गका गलत आचरण, जनतासँग गरिएका प्रतिबद्धता विपरितका कार्यको आलोचना । 
— पारिवारिक एवम् सामाजिक विषयवस्तुको प्रस्तुति ।  
—नारी एवम् जेष्ठ नागरिकप्रति गरिने उपेक्षाको विरोध । 
—पुस्तान्तरणका समस्याको प्रस्तुति । 
— सामाजिक अन्धविश्वासको विरोध । 
— बाल मनोविज्ञानको प्रस्तुति ।
—सम्वादात्मक शैली ।
 
दाइजो
डाँडाखर्के साइँलाले आफ्नी कनिष्ठ पुत्रीको कन्यादान गरेर बाबु हुनुको जिम्मेवारी पूरा गर्न चाह्यो । यसअघि पाँच पुत्रको बिहेमा मनग्गे दाइजो ल्याएपनि एक पैसा खर्च नगरी छोरीको बिहे उम्काउने उसको ध्याउन्न थियो । त्यसैले उसले छिमेकीकै दाइजो विरोधी अभियन्ता हसिनाका एकल पुत्रलाई आफ्नी पुत्री कन्यादान दिने मनसाय बनायो । केराको पातमा गोडा धोएर छोरी अन्माउने र हसिना पुत्रलाई ज्वाँई बनाउने योजना अनुसार उसले लमी पठायो । लमी र हसिनाबिचको कुराकानीपछि बिहे हुने पनि पक्कापक्की भयो । 

बिहेको अघिल्लो दिन डाँडाखर्के साइँलाले आफ्नी हुनेवाली सम्धिनीलाई फोनमा चेपारो पार्दै भन्यो, “सम्धिनीज्यू, आफ्नी छोरीलाई अन्माउँदा सानोतिनो कोसेली दिएर पठाउने हाम्रो पुरानो चलनै हो, कोही पनि कोसेली दिन नपाउँदा त एउटी पुत्रीको पितालाई निकै असजिलो लाग्दो रहेछ........।” हुनेवाला सम्धिको कुरा सुनेर मनमा लालच उत्पन्न भए पनि प्रकट नहुने गरी हसिनाले जवाफ फर्काइन्, “सम्धिज्यूलाई थाहा छ नि मैले दाइजोविरोधी अभियानको नेतृत्व गरेको ।” हसिनाको कुरा सुनपेर डाँडाखर्के साइँलाको साहस बढ्यो र आफ्नै चेपारे शैलीमा ढुक्कले थप्यो, ”तर केही न केही टक्रयाउन पाए पो त लोकमा त के परलोकमा पनि मुक्ति पाउने थिएँ सम्धिनीज्यू मैले ।”

यस्तो प्र्रस्तावपछि हसिनाले मुख मिठ्याइन् र सर्तकतापूर्वक भनिन्, “हामीलाई त केही चाहिने होइन क्यारे सम्धिज्यू, तर हाम्रो पनि एक्लो छोरो, सम्धिज्यूको इच्छा त्यस्तै छ भने आफ्नै छोरीज्वाईँलाई रिङरोड आसपासमा दुई–अढाई तलाको कुटी किनेर दिइबक्से हुन्छ नि ।”

हुनेवाला सम्धिनीको कुरा सुनेर डाँडाखर्के साइँलो स्तब्ध भयो । हसिनाले फोनमै थपिन्, “कुटीलाई हाफ फर्निस्ड गर्ने कि फुल फर्निस्ड गर्ने (घरभित्रको सजावट आधा गर्ने कि पूरै गर्ने) भन्ने कुरा सम्धीज्यूले नै विचार गरिस्योस् न ।” 

विरोध
विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रूमल्लिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध गर्यो  । उनलाई नियुक्त हुन नदिन उसले थुप्रै तिकडम अपनायो र आफ्नै माइलाबा विरुद्ध गैरगोत्रीयसँग साँठगाँठ पनि गर्यो । उसको नेतृत्वमा अप्रत्यक्ष रूपमा माइलाबा विरोधी अभियान चलाइयो र माइलाबाको छवि धमिल्याउने प्रयास पनि भयो । माइलाबामाथि उनकै भतिज यति धेरेै खनिएको देखेर विरोधीहरू हौसिएका थिए । माइलाबा समर्थकहरू भने उसलाई कुलद्रोही भन्दै हकार्दै थिए । माइलाबाले भने यो सब थाहा पाएर पनि नपाएझैं गरे ।

माइलाबाले आर्जन गरेको शक्ति र विश्वासका अगाडि उसको सारा प्रयास बालुवामा पानी हाले जसरी बिलायो । भित्रभित्र खिचडी जति पाके पनि अन्ततः माइलाबाको नियुक्ति भएरै छाड्यो र अब उनले बोलेको चल्नेवाला थियो । यो कुरा बुझेका मानिसहरू माइलाबालाई बधाई दिएर शक्तिको उपासना गर्न उनको निवासमा लामबद्ध भए । माइलाबालाई बधाई दिन आएकाहरूको लाइन तगारोसम्म पुगिसक्दा सम्म घर जोडिएको ऊ भने बरन्डामा घाम ताप्दै मोबाइल चलाउँदै बस्यो । 

बधाई दिनेहरूको लाइन घटिसकेको थिएन, सामाजिक सञ्जालमा उसको एउटा स्टाटस पोस्ट भयो–“हाम्रो कुलका गौरव, सदैव अरूको भलो चिताउने, सबैका सुखदुःखका साथी, आदरणीय समाजसेवी, हाम्रा श्रद्धेय माइलाबाको नियुक्तिले हाम्रो कुलको गरिमा बढेको छ । माइलाबाका हरेक पाइलामा सफलता मिलोस् । परमपुजनीय माइलाबालाई हार्दिक बधाई ।” शक्तिको उपासना गर्ने परम्परालाई उसले डिजिटलाइज्ड गर्यो  र फुरुङ्ग भयो ।

No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...