Saturday, 24 August 2024

वासुदेव गुरागाईँ ः परिचय, प्रवृत्ति र लघुकथा

 वासुदेव गुरागाईँ

माता, पिता ः गोमा गुरागाईँ , खिलानाथ गुरागाईँ

जन्ममिति ः वि.स. २०१५ साउन ९

जन्मस्थान ः दुप्तेचर–५, नुवाकोट

पहिलो प्रकाशित लघुकथा ः 

लघुकथा कृति ः फुमन्तर (२०७६)

छोाटा कथा ः अनुमानित निष्कर्ष (२०७२)

थप परिचय ः

—नेपाल सरकारका अवकाशप्राप्त सहसचिव ।

—विभिन्न साहित्यिक—सांस्कृतिक गतिविधिमा संलग्न ।

सम्पर्क नम्बर ः ९८४१६६७१४९÷९८५११६७१४९


प्रवृत्तिहरू ः 

 — राजनीतिका क्षेत्रका विकृतिको आलोचना ।

— सामाजिक जीवनका गलत चिन्तनको विरोध ।

— सामाजिक विभेदको आलोचना । 

— प्रशासनिक क्षेत्रका अव्यवस्था, भ्रष्टाचार, कामचोर प्रवृतिप्रति व्यङ्ग्य प्रहार । 

— पुस्तान्तरणका समस्याको प्रस्तुति  ।  

—व्यक्ति जीवनका विसंगतिको आलोचना । 

—साहित्यिक क्षेत्रका विकृतिप्रति व्यङ्ग्य ।

— व्यङ्ग्यात्मक चेतनाको प्रस्तुति । सम्वादात्मक शैली  ।


दुई थोपा आँसुं

ऊ सरक्क उठ्न सक्ने अवस्थामा थिएन । थोत्रा बोरामा प्लास्टिक बटुल्दै आइरहेको मानिसलाई देखेर ऊ बसेकै ठाउँबाट सकिनसकी भुक्न थाल्यो । 

एकाध बिस्कुट उसका अगाडि छन् । नजिकै उसको मुखसम्म छिर्ने प्लास्टिकको बट्टामा अलिकति पानी छ । तर त्यो पिउन पनि उसका लागि त्यति सहज छैन । 

एउटा मान्छे परैबाट उसलाई नियाल्दै त्यहीँ आइपुग्छ । पुलुक्क मतिर हेर्छ । उसको हेराइको जवाफमा मैले सोधेँ–“के यो बिरामी छ ?”

“बिरामीभन्दा पनि यो बूढो हो ।” ऊ कौतूहलपूर्ण नजरले मतिर हेर्दै जवाफ लगाउँछ । 

उसको जवाफको भाषाले मेरो मन चसक्क दुख्छ । किनकि म पनि त बूढै हुँ नि । अझ त्यो कुकुरभन्दा धेरै बूढो । 

ऊ नरोकिईकन मतिर हेरेर बोलिरहन्छ–“कसले ल्याएर छाड्यो होला यसलाई यहाँ ! यो ठुलो जातको राम्रो कुकुर हो । कसैले सोखका लागि दशौँ हजार तिरेर ल्यायो होला । घरका कौंसीमा उभ्याएर छिमेकीका सामु प्रदर्शन गर्यो होला । सँगै सुताउने, खाने र खुवाउने काम गर्यो  होला । गाडीमा घुमायो होला । थाहा नपाएझैं गरी साँझ बिहान सडकमा निकालेर छिमेकीका सामु धाक जमाउँदै सडकमा फोहोर गरायो होला । बदलामा यसले पनि इमानदारीपूर्वक घरको रखबारी गर्यो होला । तर, समयान्तरमा यो बूढ्यौलीले अशक्त भयो । अनि, घर फर्किन्छ भन्ने डरले उसले रात÷साँझको समयमा गाडीमा ल्याएर निर्दयतापूर्वक यहाँ फालेको हुनुपर्छ । हेर्नुस् कति निष्ठुरी छ मान्छे !”

ऊ भन्दै छ–“म दिनको एकपटक यहाँ आएर हेर्छु । यसरी बिजोग बनाएर यसलाई फाल्ने मान्छे भेटिन्छ कि भनेर हेर्दैछु पनि । यसरी फाल्नु सट्टा बरु घरैमा एउटा इन्जेक्सन दिएर यसलाई मारिदिएको भए कति बेस हुन्थ्यो । बुढेसकालमा यसरी, यस्तो बिजोग त सहनु पर्दैनथ्यो ।”

कुकुरले सकिनसकी त्यस मानिसलाई पुलुक्क हेर्यो  । उसका कुरा बुझेझैं  गरेर बिस्तारै सहमतिसूचक टाउको हल्लायो र आँखाबाट तुरुक्क दुई थोपा आँसु झर्यो । मैले पनि प्रत्युत्तरमा दुई थोपा आँसु खसाल्नु बाहेक थप केही गर्न सकिनँ । आखिर म पनि त मान्छे नै थिएँ ।


बिचरो लेखक

हुन्छ त भनिहालियो, तर गाह्रै पर्छ कि जस्तो छ । 

उन्नतलालले मनमनै कुरा खेलायो । हैन ! समस्यै प¥यो त !! किन नगर्ने ? हुन्छ भन्दिउँ कि क्या हो ?

हैट, वचन गराइसकेको कुरामा यसरी दोमन गर्ने ? कि पहिल्यै अलि ढिला निर्णय दिनुपथ्र्यो । त्यतिखेर हौसिएर हुन्छ भनियो । जेसुकै होस् गर्ने हो । 

  उन्नतलालले पटकपटक मनमा कुरा खेलायो । मानसिक युद्ध चलिरह्यो । गर्ने कि नगर्ने मानसिक द्वन्द्वमा फसिरह्यो । द्विविधाको पहाड चुलियो उसका मनमा । थरथर गोडा कमाएर भए पनि उसले आफ्नो एउटा मनको पक्ष लिँदै भन्यो–बोलेको कुरा पुरा गर्नुपर्छ । कार्यक्रम गर्ने हो । 

पुस्तक–विमोचनको टुङ्गो लाग्यो । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, समीक्षक र अन्यको पनि टुङ्गो लाग्यो । आमन्त्रण गर्नेमा करिब एक सय पचास जना जतिको सूची बन्यो । दोहोर्याएर   पढ्यो । तेहर्याएर  पढ्यो । बोलाउनुपर्ने मान्छे कति छुटे, कति । छुट्नेहरूको सूची नै दुई तीन सयको बन्यो । यसै त काँपिरहेको उसको खल्ती तिनका नाम सुन्नेबित्तिकै नब्बे सालको भुकम्पझै यता र उता हल्लिन थाल्यो । मडारिन थाल्यो । 

कार्यक्रम अघि बढ्यो । पुस्तक विमोचन भयो । विमोचित कृतिको नाम थियो–’अर्काको घोडा आफ्नो धुरी ।’ सबैले बेपर्वाह ताली ठोके । समीक्षकले आफ्ना धारणा राखे । 

“कृति पुरै पढ्न त भ्याइएन, तथापि सरसरती नियाल्दा भन्ने बित्तिकै उन्नतलाल झसङ्ग भयो । 

“कृति निकाल्न हतार गर्नुहुन्न, वर्षाैंको लामो समय लिएर रचनालाई खारेर मात्र प्रकाशनमा ल्याउनुपर्छ । यति भन्दाभन्दै पनि उन्नतलालजीका रचना असाध्यै राम्रा र समाजसापेक्ष छन् । यति मात्र नभएर समाजलाई मार्गनिर्देशन गर्ने खालका छन् ।” समीक्षकले कुरो टुङ्ग्याए । 

समीक्षकले के भन्न खोजेको उन्नतलालले बुझेन । ओठमुख सङ्रङ्ङ सुक्यो । कहाँनेर के बिग्रियो र कहाँनिर के हुनुपथ्र्यो पनि भनिएन । सबै कुरा थोकमा बोलियो । 

ऊसँग पनि हतारहतारमा धन्यवाद भन्नु बाहेक थप बोल्ने समय भएन । दुई सय थान जति पुस्तकले ऊबाट विदा लिए । खाजाका नाममा पच्चीस हजार लेखाएर खल्तीको चेकले पनि विदा माग्यो । 

बिचरो लेखक कार्यक्रम सकिएपछि कोठामा पुगेर खाटमाथि डङ्रङ्ङ लड्यो । जे भएपनि अब त हाइसन्चो भो भनेको त बूढीले ढोकाबाट यसो चियाएर–“खुब रहर  गर्थ्यो, अब त रहर मेटियो होला नि ?” भनेर छ्वस्स भन्नेबित्तिकै पलङमाथि ठडिएको उसको नाक उल्टिएर त्यसैमाथि ठोसियो । 


No comments:

Post a Comment

धनराज गिरी ः परिचय, प्रवृत्ति र लघुकथा

  धनराज गिरी माता, पिता ः महामाया गिरी, परशुराम गिरी जन्ममिति ः वि.स. २०१५ भाद्र ९ जन्मस्थान ः दाबिले हटिया, मकवानपुर हालको बसोबास ः रत्ननगर...