![]() |
| तुलसीहरि कोइराला |
माता, पिता ः पूर्णकुमारी कोइराला, गोकर्णराज कोइराला
जन्ममिति ः वि.स. २०२५ साउन १
जन्मस्थान ः चिसङ्खुगढी–४, छहरे (ओखलढुङ्गा)
पहिलो प्रकाशित लघुकथा ः सञ्चयन लघुकथा विशेषाङ्कमा २०५५ सालमा प्रकाशित भातुतेश्वरकी बहिनी लघुकथा
सम्पादन ः नेपाली लघुकथा, मधुपर्क मासिक, गोरखापत्र दैनिक
लघुकथा कृति ः आजका लघुकथा संयुक्त लघुकथा सङ्ग्रह (२०७२)
सम्पर्क नम्बर ः ९८४१३६८८६०
थप परिचय ः
लघुकथा समाजका सचिव ।
लघुकथासँग सम्बन्धित रहेर लेखन, प्रकाशन एवम् सम्पादन कार्यमा संलग्न ।
प्रवृत्तिहरू ः
— साहित्यिक क्षेत्रका विकृतिको चर्चा ।
— प्रतिभाको अवमूल्यनप्रति चिन्ता ।
—व्यक्ति पात्रका कमजोरीको चर्चा ।
— आम जनताको जीवनस्तर सुध्रिन नसकेकोमा चिन्ता ।
— बिरामीका नाममा ठग्ने प्रवृत्तिप्रति व्यङ्ग्य ।
—सम्वादात्मक शैली ।
कृति उपहार
विमोचन कार्यक्रममा खाजाको पोको खाएर सित्तैमा बाँडिएको उपहार कृति कविता सङ्ग्रह हात हल्लाउँदै मस्तीप्रसाद अर्को कार्यक्रममा पुग्यो । यो कार्यक्रम चाहिँ निकै रौनकपूर्ण अर्थात कार्यक्रम पश्चात ‘ककटेल डिनर’ कै आयोजना गरिएका थियो ।
“यस्तो पो हुनुपर्छ त कार्यक्रम भनेको त । बेकारमा तीनतीन घन्टा राखेर ताली पड्काउन लगाएर निम्की र समोसा बाँड्छन्, ग्याष्ट्रिकको भारी !’ मस्तीप्रसादले मनमनै ‘ककटेल डिनर’ आयोजक साहित्यकारलाई ‘धन्यवाद’ दियो ।
उसलाई अघि उपहारमा पाएको कविता सङ्ग्र्ह यतिबेला साँच्चिकै घाँडो भयो । दिएको कुरा लिन्न भन्नु पनि भएन । हातमा लिइरहेर स्न्याक्स खानु कि गिलास समाउनु । उसले कविता सङ्ग्रहलाई ढोकाछेउको टेबुलमा राख्यो र हातलाई फुक्का बनाई हलुका भयो ।
खानपिनबाट तृप्त भइसकेपछि मस्तीप्रसाद लर्खराउँदै कविता सङ्ग्रह राखेको टेबुलमा पुग्यो । अचम्म भयो । त्यहाँ पुस्तक थिएन । पुस्तक हराएकोमा दुःखी हुनुको सट्टा खुसी भयो ऊ ।
आफू पनि कवि हुनुको धर्म निर्वाह गर्दै मस्तीप्रसाद आफ्नै बेसुरमा बर्बराउन थाल्यो–“कविता लेखेर के हुन्छ यहाँ ?” कसले पढ्छ कविता ? भन्नेहरूलाई जवाफ हो यो कविता सङ्ग्रह हराउनु । किताब चोरलाई धन्यवाद ।
लर्खरिँदै बाहिर निस्किँदै गर्दा मस्तीप्रसादका आँखा अर्का एक जना कविमा ठोकिए । उसले त्यो कविलाई चिने पनि कविले भने मस्तीप्रसादलाई चिनेका थिएनन् । अघि हराएको कविता सङ्ग्रह तिनै कविको हातमा थियो र उनी नै त्यस कृतिका स्रष्टा थिए ।
शालिक प्रेम
कविको सम्मानस्वरूप आफ्नै गृहजिल्लामा भव्य शालिकठड्याइएको छ । कविलाई जीवित अवस्थामा आदर–सम्मान गर्न नपाएका र नचाहेकाहरूले पनि शालिकलाई अर्चना गर्न पाएका छन् । उसमा कवि, गीतकार, नाट्यकर्मी लगायतका थुप्रै प्रतिभा हुँदाहुँदै पनि जीवित अवस्थामा भरिसक्य अगाडि नपर्न पाए हुन्थ्यो भन्ने बनाएथ्यो कविले धेरैलाई । ऊदेखि तर्किनेहरू वर्षमा एक पटक भए पनि ह्दयदेखि नै शालिक अगाडि नतमस्तक भएर झुक्दै आएका छन् र आज पनि उसैगरी झुकिरहेका छन् ।
हरेक वर्षजस्तै यसपटक पनि कविको जन्मजयन्ती मनाइयो । उसकै कविताहरू वाचन गरिए, उसमाथि यश–कीर्ति गाइएका कविता–गीतहरू पनि बाँचिए । उसको प्रतिभाको बखान भयो र दोषभन्दा गुण नै ज्यादा केलाइयो ।
मंगली भाउजु कविता लेख्न जान्दिनन् । त्यसैले आफूले जे जानेको छ, उही चढाउँदे आएकी छिन् । कविको शालिकमा । भाषण गर्नेहरूले कविको मदिरापानको बानी र मदिराले नै असमयमै प्राण लिएको भनेर भाषण गरे पनि मङ्गली भाउजु भने यो मान्न तयार छैनन् । उनलाई कविको शालिकमा यसरी रक्सी नखन्याउन उपस्थित सबैले भन्दै आएका छन् । र उनी हरेक वर्ष उनीहरूलाई जवाफ पनि दिँदै आएकी छिन्–जीवित छँदा ऊ हरेक दिन मेरो भट्टीमा आउँथ्यो र आफ्नो इच्छा अनुसार पिएर मलाई कविता सुनाउँथ्यो । उसले जीवनभर मलाई यसरी नै पिउन देऊ है मङ्गली भाउजु भनेर वाचा गराएथ्यो । तपाईँहरू नै भन्दै हुनुहुन्छ, ऊ त मरेको छैन र कहिल्यै मर्दैन भनेर । अनि म कसरी काट्न सक्छु त उसले गराएको वाचा ! तपाईँहरू वर्षमा एकपटक आउनुहुन्छ र पूजापाठ गर्नुहुन्छ । म त दिनैपिच्छे आएर एकएक गिलास आफ्नै हातले बनाएको सक्कली तीनपाने यसरी नै चढाउँदै आएकी छु । सकुन्जेल उसालई दिएको वचन खेर जान दिने छैन ।
मङ्गली भाउजूको कसैलै पनि विरोध र प्रतिरोध गर्न सकेनन् । उनी आफ्नो श्रृद्धा अर्पण गरेर हिँडी पनि हालिन् ।
बेलुकी कविजीकै सम्झनामा केही अनुयायी कविहरू मङ्गली भाउजुको मदिरालयमा जम्मा भएर सक्कली अनुयायी भएका पुष्टयाईँ गरिरहेका थिए । मङ्गली भाउजु महान् हुन् भन्ने निष्कर्षसाथ उनीहरूको जमघट टुङ्गिदैथियो ।
बाहिर निस्किँदै गर्दा एक कविले बोल्यो–“मङ्गली भाउजु, हामीलाई पनि तिमी त्यही शालिकको कविलाई जतिकै माया गर्छयौ त ?”
मङ्गली भाउजु पनि सवालको जवाफमा तुरन्तै हाजिर भईन्–तिमीहरू पनि त्यसरी नै शालिकमा जीवित रहौला त ?

No comments:
Post a Comment